काठमाडौं– दक्षिण कोरियामा रोजगारीका लागि पठाउन लिइने भाषा परीक्षा तीन चरणमा सञ्चालन गरिने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीको संख्या धेरै भएकाले तीन चरणमा सञ्चालन गर्ने तयारी गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
भाषा परीक्षा सञ्चालनका लागि एचआरडी कोरियाले आवश्यक तयारीसहित तीन चरणमा गर्ने जानकारी दिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । ‘विभागसँग भएको बैठकमा एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा हुने जानकारी दिएको छ,’ उनले भने, ‘कोरियाली पक्षले तीन चरणमा भाषा परीक्षा गर्ने कार्यतालिका बनाएको छ, पहिलो चरणको परीक्षा यही जनवरी २० अर्थात् माघ ६ गतेदेखि सञ्चालन हुन्छ ।’ पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षाको मिति तय हुने महानिर्देशक घिमिरेले जानकारी दिए ।
विभागले पहिलो चरणको परीक्षामा ४७ हजार परीक्षार्थीलाई सहभागी गराइने जनाएको छ । यस्तै दोस्रो चरणमा ८० हजार परीक्षार्थी सहभागी हुने छन् । त्यस्तै तेस्रो चरणमा बाँकी रहेका ३७ हजार ७४१ परीक्षार्थीले भाषा परीक्षा दिने छन् ।कोरियाले उत्पादनमूलक क्षेत्रमा काम गर्न नेपालबाट १५ हजार ८४८ जना कामदार माग गरेको छ । जसका लागि एक लाख ६४ हजार ७४१ जना भाषा परीक्षामा सहभागी हुँदै छन् । पहिलोपटक आवेदन दिने एक लाख ४३ हजार ८१२ र शिप बिल्डिङ परीक्षामा असफल भएका २० हजार ९२९ जनाले पुनः आवेदन दिएका छन् ।
इपिएसमार्फत मात्रै कोरिया जान पाइने
यसैबीच श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कोरिया रोजगारीका लागि कुनै पनि म्यानपावरमार्फत इ–सेभेन भिसामा कामदार पाठाउने अनुमति नदिइएको स्पष्ट पारेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै हालसम्म इपिएस प्रणालीमार्फत मात्रै कोरियामा कामदार पठाइरहेको जानकारी दिएको छ । इ–सेभेन भिसामा कामदार पठाउन इजाजतपत्र प्राप्त संस्थालाई अनुमति नदिइएको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि इ–सेभेन भिसामा कामदार पठाउँदा पार्ने बहुआयामिक प्रभाव र पठाउने प्रक्रियाका सम्बन्धमा मन्त्रालयले अध्ययन गरिरहेको जनाएको छ । तसर्थ कुनै पनि व्यक्ति वा म्यानपावरले कोरियाको रोजगारीमा जान इ–सेभेन भिसामा कामदार पठाउने भन्दै भ्रम सिर्जना गरी रकम संकलन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।कोरिया रोजगारीका लागि तोकिएका विभिन्न भिसामध्ये दक्ष कामदारलाई इ–सेभेन जारी गरिन्छ भने हाल इपिएसअन्तर्गत जाने अदक्ष कामदारलाई इ–नाइन भिसा दिने गरिन्छ ।