काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाउने बहानामा रकम संकलन गरी ठगी गर्ने तीनजना पक्राउ परेका छन् । पोर्चुगल, टर्की र अमेरिका पठाइदिने भन्दै वेरोजगार युवाहरुसँग रकम संकलन गरी फरार रहेको आरोपमा उर्मिला चेम्जोङ, महेश तामाङ र बेञ्जु महतलाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटाको चौबिसे गाउँपालिका–६ घर भई हाल कीर्तिपुर ट्याङ्लाफाँट बस्ने चेम्जोङले संगत थापासमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई ड्राइभिङमा मासिक एक लाख रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाएर १० लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पीडितसँग पैसा लिएर सम्पर्कविहीन अवस्थामा रहेकी उनलाई ट्याङ्लाफाँटबाटै पक्राउ गरिएको बताइएको छ ।
यसैगरी टर्की पठाइदिने बहानामा रमेश थापासमेत तीनजनासँग पाँच लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा नवालपरासीका तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले पीडितहरुलाई मासिक एक लाख रुपैयाँ तलब हुनेगरी टर्कीको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेको आरोप छ ।
यस्तै बूढानिलकण्ठ नगरपालिका–६ बस्ने महतले अमरबहादुर पुनलाई अमेरिका पठाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । निज महतले पीडितलाई मासिक चार लाख रुपैयाँ तलब हुने प्रलोभनमा पारी अमेरिकाको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।