काठमाडौं– देशभरिका क्याम्पस बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।
विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही ५ फागुनमा बसेको बैठकले बुधबारका लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो । त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए ।
उनले भने, ‘प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ÷छ महिना गरी दुईपटक पदावधि बढाएका थियौँ । तर आज हुने भनिएको निर्वाचन विद्यार्थी संगठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ ।’
२०७३ मा २२ आंगिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यसो त त्रिविका ६२ आंगिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन् ।
प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियु निर्वाचन दश वर्षदेखि हुन नसकेको हो । त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताए । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियुविहीन बनाउन नहुने बताए । उनले चाँडै विद्यार्थी संगठनको सहमतिमा मिति तोकिनुपर्ने बताए । स्ववियुले बुधबारदेखि आर्थिक कारोवार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने उनको भनाइ थियो ।
त्रिविका रेक्टर भुसालले विद्यार्थी संगठनबीच सहमति गरेर पुनः नयाँ मिति घोषणा गरिने बताए । उनले भने, ‘हामीले विद्यार्थी संगठनका कारणले निर्वाचन गर्न सकेनौँ ।’ उनले अब चाँडै विद्यार्थी संगठनको सहमतिमा चैत अन्तिम साता हुने गरी निर्वाचन घोषणा गर्ने बताए । उनका अनुसार आगामी चैत अन्तिम साता निर्वाचन गर्नेगरी विद्यार्थी संगठनसँग सहमति गरिने छ । रासस
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६ ०७:३१