काठमाडौं– दुई सातापछि माथिल्लो सदन राष्ट्रियसभाको चुनाव हुँदै छ । १९ सिटका लागि हुने चुनावमा ५२ जना चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु आठ राजनीतिक दलबाट उम्मेदवार बनेका हुन् ।
चुनावमा सत्ता गठबन्धन दलहरु र प्रमुख विपक्षी नेकपा एमालेका उम्मेदवारहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर, हरेक प्रदेशमा मतभारका आधारमा भन्ने हो भने गठबन्धन दलहरु बलिया छन् । एमाले बलियो मानिएको कोशी प्रदेशबाहेक अरु क्षेत्रमा भारी मतभार गठबन्धन दलहरुसँग छ । अधिक मतभार हुनाले गठबन्धनले एमालेलाई ‘क्लिन स्वीप’ गर्न सक्ने आँकलन पनि हुन थालेको छ ।
तीन तहकै चुनावमा एमालेविरुद्ध घेराबन्दी नभएको हो र ? तर, हामी लोकप्रिय मतका आधारमा पहिलो भयौं । अहिले राष्ट्रियसभा चुनावमा पनि घेराबन्दी हुँदैछ । हामी तोडेर चुनाव जित्छौं
सुरेन्द्र पाण्डे
उपाध्यक्ष
नेकपा एमाले
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भने त्यसप्रति विश्वास गर्दैनन् । ‘तीन तहकै चुनावमा एमालेविरुद्ध घेराबन्दी नभएको हो र ? तर, हामी लोकप्रिय मतका आधारमा पहिलो भयौं । अहिले राष्ट्रियसभा चुनावमा पनि घेराबन्दी हुँदैछ । हामी तोडेर चुनाव जित्छौं’, पाण्डेले प्रभावसँग भने ।
चुनाव ११ माघमा हुँदै छ । दलहरुले चुनावी कमान्डरहरु तोकिसकेका छन् । चुनावी गतिविधिमा दलहरु क्रियाशील छन् । गठबन्धन दल र तिनका उम्मेदवारहरु चुनाव जित्नेमा ढुक्कजस्तै छन् । किनभने स्थानीय, प्रदेश र प्रतिनिधिसभामा जसरी राष्ट्रियसभा चुनावमा अन्तर्घात हुँदैन । त्यही भएर प्रमुख विपक्षी एमालेको भन्दा मतभार अधिक रहेपछि गठबन्धनका उम्मेदवारहरु चिन्तित छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल पनि गठबन्धनका उम्मेदवारलाई चुनाव जित्न असहज स्थिति नभएको बताउँछन् । उनका अनुसार गठबन्धनले एमालेलाई शून्य सिटमा सीमित पार्छ ।‘विगतमा पनि एमालेविरुद्ध राष्ट्रियसभा चुनावमा गठबन्धनले शानदार जित हासिल गरेको थियो । यसपटक पनि त्यो सम्भव छ’, उनले भने, ‘किनभने हाम्रो उम्मेदवारहरुलाई जित्न सजिलो छ ।’
विगतमा पनि एमालेविरुद्ध राष्ट्रियसभा चुनावमा गठबन्धनले शानदार जित हासिल गरेको थियो । यसपटक पनि त्यो सम्भव छ
लीलामणि पोखरेल
सचिव
माओवादी केन्द्र
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । एमालेबाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको कार्यकाल सकिने भएको हो । कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजंग रायमाझीको पनि पदावधि त्यहीबेला सकिने छ ।
माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, जनता समाजवादीबाट प्रमिला कुमारी, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाई र सिंहबहादुर विश्वकर्मा तथा स्वतन्त्र सदस्य खिमलाल देवकोटासँगै राष्ट्रपतिबाट मनोनीत डा. विमला पौड्यालको पनि कार्यकाल सकिने भएको छ । उनीहरुकै स्थानमा चुनाव हुन लागेको हो ।
कहाँ कुन शक्तिशाली ?
कोशी
राष्ट्रियसभा चुनावमा कोशी प्रदेशबाट दुई जना सांसद निर्वाचित हुनेछन् । चुनावमा प्रदेशका ९३ जना सांसद र २७४ जना स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् ।कोशीमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा रहेको सत्ता गठबन्धन प्रतिस्पर्धी एमालेभन्दा धेरै शक्तिशाली छ । त्यहाँ सत्ता गठबन्धनको मतभार ५ हजार ४७४ छ । एमालेको ४ हजार २१० छ । राप्रपाको मतभार ३९४ छ । यी दुुई दलबीच यदि चुनावमा सहकार्य हुने हो भने पनि ४ हजार ६०५ मतभार हुन्छ ।
यो भनेको गठबन्धनको मतभार भन्दा ८६९ मतभार कम हो । यो अंकगणितले गर्दा कोशीमा सत्ता गठबन्धनका दुई उम्मेदवार नै निर्वाचित हुने देखिएको छ । त्यहाँ कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पादेवी कार्की उम्मेदवार छन् । एमालेले त्यहाँ रुक्मिणी कोइराला र परशुराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।
मधेस
कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देव र जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला कुमारीको स्थानमा मधेस प्रदेशमा चुनाव हुँदै छ । सत्ता गठबन्धन र एमालेबीच नै यहाँ पनि प्रतिस्पर्धा हुने छाँट देखिएको छ । त्यहाँ गठबन्धन दलहरू कांग्रेस, जसपा, माओवादी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गरी ७ हजार ६६ मतभार छ ।
तर, एमालेको २ हजार ३०२ मतभार छ । ९३३ मतभार भएको लोकतान्त्रिक समाजवादी पार्टी र ५३ मतभार भएको राप्रपासँगै एमालेको चुनावी सहकार्य भएको अवस्थामा मतभार ३ हजार २८८ मतभार हुन्छ । जुन गठबन्धनको भन्दा दोब्बर कम मतभार हो । यसकारण मधेस प्रदेशमा पनि गठबन्धन दलहरू राष्ट्रियसभा चुनावकै निकै शक्तिशाली देखिएका छन् ।
यहाँ पनि एमाले शून्य हुन सक्ने देखिएको छ । सत्ता गठबन्धनबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी उम्मेदवार छन् । उनीहरुसँग एमालेका उषादेवी थरुनी र विजेता झाले प्रतिस्पर्धा गर्नेछन् ।
बागमती
देशको सात प्रदेशमध्ये सर्वाधिक ४ जना राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा चुनाव हुन लागेको छ । त्यहाँ स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा, एमाले सांसदहरू रामचन्द्र राई, दिलकुमारी रावल (पार्वती) र नेकपा एकीकृत समाजवादीका सांसद सिंहबहादुर विश्वकर्माको स्थानमा चुनाव हुन लागेको हो ।
गठबन्धन दलहरू कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको बाग्मतीमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका गरी ६ हजार ७५१ मतभार छ । जबकि, प्रतिस्पर्धी दल एमालेको मतभार २ हजार ५७१ मात्रै छ । ७०८ मतभार भएको राप्रपासँग एमालेको चुनावी सहकार्य भए पनि तीन हजार २ सय ७९ हुनेछ । यो भनेको गठबन्धनको भन्दा दोब्बर कम मतभार हो । यसकारण यहाँ पनि गठबन्धन दलहरूले एमालेलाई शून्य पार्ने सम्भावना देखिएको छ ।
बागमतीमा सत्ता गठबन्धनबाट कांग्रेसका विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत तथा माओवादीका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीका घनश्याम रिजाल उम्मेदवार छन् । एमालेले रोचकुमारी चौंलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुव विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
गण्डकी
अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि मुख्यतः सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । त्यहाँको प्रदेश संसदमा ६० सांसद छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १७० जना गरी २३० जना चुनावमा मतदाता हुनेछन् ।
त्यहाँ सत्ता गठबन्धन दलहरू कांग्रेसबाट किरणबाबुु श्रेष्ठ र पदमबहादुर परियार तथा माओवादीबाट मनरुपा शर्मा उम्मेदवार छन् । नेकपा एमालेबाट चक्रबहादुर पराजुली, सम्झना देवकोटा र हेमन्द्र शेरचन उम्मेदवार छन् । मतभारलाई आधार मान्दा गण्डकीमा सत्ता गठबन्धन उम्मेदवारहरूले चुनाव जित्ने सम्भावना बलियो देखिएको छ ।
त्यहाँ गठबन्ध दलहरू कांग्रेस, माओवादी, नेकपा एस, नेसपा र जनमोर्चाको मतभार ३ हजार ८२७ छ । प्रतिस्पर्धी एमालेको २४५८ मात्रै छ । यदि, १०६ मतभार रहेको राप्रपा एमालेसँगको सहकार्यमा आए पनि चुनाव जित्न सहज देखिएको छैन । त्यहाँ गठबन्धन र एमालेको मतभार अन्तर एक हजार ३६९ छ । यसले गर्दा गण्डकीमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरूले एमाले उम्मेदवारहरूमाथि जित हासिल गर्न सक्ने सम्भावना देखिएको छ ।
लुम्बिनी
लुुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट माओवादीका झक्कुप्रसाद सुवेदी अन्य र कांग्रेसकी विष्णुकुमारी सापकोटा महिला कोटाबाट उम्मेदवार छन् । माओवादी उम्मेदवार सुवेदीसँग प्रतिस्पर्धा गर्न एमालेले झबिन्द्रबहादुर घर्ती क्षेत्री र कांग्रेस उम्मेदवार सापकोटासँग प्रतिस्पर्धा गर्न तुलसा केसीलाई उम्मेदवार बनाएको छ ।
चुनावमा लुम्बिनी प्रदेश संसदका ८७ जना सांसद र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २१८ गरी ३०५ जना मतदाता छन् । कुल मतभार ८ हजार ७५३ छ । यसमध्ये गठबन्धन दलहरूको मतभार ५ हजार ८३ छ । एमालेको मतभार २ हजार ८१० छ । यो भनेको गठबन्धनको भन्दा एमालेको मतभार २ हजार २७३ कम हो । २६९ मतभार रहेको राप्रपा यदि एमालेसँग चुनावी सहकार्यमा जोडिए पनि २ हजार बढी मतभार गठबन्धनकै हुनेछ । यस्तो अवस्थामा लुुम्बिनी प्रदेशबाट गठबन्धनकै उम्मेदवारहरू सुवेदी र सापकोटार राष्ट्रियसभा आउने सम्भावना प्रबल देखिएको छ ।
कर्णाली
यहाँबाट ११ माघमा हुने चुनावमार्फत तीन जना चुनिने छन् । सत्तारुढ गठबन्धन र एमाले नै यहाँ पनि मुख्य चुनावी प्रतिस्पर्धी हुन् । गठबन्धनबाट कांग्रेसका कृष्णबहादुर रोकाया, माओवादीका विष्णु विक, एकीकृत समाजवादीकी सावित्री मल्ल उम्मेदवार छन् । एमालेबाट विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट र हिक्मत विक उम्मेदवार छन् ।
निर्वाचन आयोगका अनुसार त्यहाँ प्रदेश सांसद ४० जना छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १५६ जना गरी १९६ जना राष्ट्रियसभा चुनावका मतदाता छन् । उनीहरूको कुल मतभा ५ हजार ८४ छ । यसमध्ये सत्ता गठबन्धनको कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको कुल मतभार ३ हजार ७४० छ । प्रतिस्पर्धी एमालेको मतभार भने एक हजार १ सय ९५ छ । यसले गर्दा एमालेको गठबन्धनको भन्दा दोब्बर कम मतभार छ । जसकारण कर्णालीबाट पनि सत्ता गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्ने सम्भावना बलियो देखिएको छ ।
सुदूरपश्चिम
गठबन्धन दल कांग्रेसले बलबहादुर बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ । माओवादीले रेणु चन्दलाई उम्मेदवार बनाएको छ । उनीहरुसँग एमालेका ईश्वरीप्रसाद खरेल, सावित्री घिमिरे र रामचन्द्र जोशीले प्रतिस्पर्धा गर्नेछन् । यहाँ २२८ जना मतदाता छन् । त्यसमध्ये ५२ जना प्रदेशसभा सदस्य र १ सय ७६ स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष मतदाता छन् ।
उनीहरुको कूल मतभार ६ हजार १०० हो । यसमध्ये सत्ता गठबन्धनको मतभार ४ हजार ४५७ छ । एमालको मतभार एक हजार ४८० छ । यसले गर्दा सुदूरपश्चिममा पनि गठबन्धनकै उम्मेदवारहरुले चुनाव जित्ने सम्भावना देखिएको छ ।