काठमाडौं– रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट खगेश्वर थापाले जानकारी दिएका हुन् । मृतक सुनारका छिमेकी खगेश्वरले दिएको जानकारीअनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए । नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त खबरबारे थप जानकारी दिइने थापाले बताए ।
छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताए । उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए । योसँगै हालसम्म ११ जना रुसी सेनामा कार्यरत नेपालीको निधन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा औपचारिक रुपमा दुई सय नेपाली रहेको जनाएका छन् । रुसी सेनामा नेपालीको अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जाने तयारीमा छन् ।
उनको भ्रमणको मिति भने तय भइसकेको छैन । परराष्ट्र स्रोतका अनुसार मन्त्रालयले उनको भ्रमणको तयारी तीब्र बनाएको छ । रूस भ्रमणको क्रममा मन्त्री साउदले रूसी सेनामा कार्यरत नेपालीको अवस्था, मृत्यु भएकाहरूको शव ल्याउने तथा क्षतिपूर्ति दिलाउने विषय, घाइतेहरूको उपचार तथा राहतका विषयमा रूसी सरकारसँग कुरा गर्नेछन् ।अहिलेसम्म ११५ जना नेपालीले उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत उद्धारका लागि आवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयले मन्त्री साउदको भ्रमणको व्यवस्था मिलाउन रूसीस्थित नेपाली राजदूतावसलाई निर्देशन दिएको बताइएको छ ।कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री साउदले उद्धारका लागि हालसम्म ११५ जनाले आवेदन दिएको बताएका हुन् । रूसी सेनामा २०० भन्दा बढीको संख्यामा नेपालीहरू कार्यरत रहेको अनुमान गरिएको बताए ।
‘जोखिमपूर्ण ठाउँमा त्यो पनि सेनामा पठाउने नेपाल सरकारको कुनै नीति छैन । रसिया सेनामा भर्ना भएकाहरूलाई फिर्ता ल्याउने । घाइतेहरूलाई उपचार तथा राहत उपलब्ध गराउने, दिवगंत भएकाहरूको हकमा पाउने सहुलियत नजिकका हकदारहरूलाई दिलाउने विषयमा कुराकानी गरिरहेको छु । रूससँग छलफल चलिरहेको छ’ मन्त्री साउदले मंगलबार भनेका थिए ।