सुशासनमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेका थिए प्रधानमन्त्री पुष्पकमल दाहालले । तर उनकै सचिवालयका सदस्यले भ्रष्टाचार नियन्त्रयमा सरकार कमजोर भएको भन्दै राजीनामा दिइसकेका छन् । सत्तासहयात्री दल जनता समाजवादी पार्टीले पनि दाहाल सरकारले भ्रष्टाचारको कदम कमजोर रुपमा उठाएकोले सरकारमाथि प्रश्न उठेको आरोप बिहीबार लगाएको छ । यतिमात्र हैन, दाहाल आफ्नो काम देखाउनभन्दा पनि सत्ता जोगाउन र टिकाउनमै सीमित बनेको दाबी गरेको छ । हुन पनि प्रधानमन्त्री दाहालले घुर्की लगाउनेबाहेक आफ्नै सरकारका मन्त्रीहरुसँग केही भन्न सकेका छैनन् । प्रधानमन्त्री दाहाल कुनै मन्त्रीले आयोजना गरेको मन्त्रालयको फोस्रा गफ सुन्न प्रमुख अतिथि बन्न पाउँदै मक्ख छन् ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना घोषणा गरेको १७ दिन बितिसकेको छ । तर उनको घोषणा अहिलेसम्म गफमै सीमित बनेको छ । पुस १० गते जनताको नाममा सम्बोधन गर्दै दाहालले एक हप्ताभित्रै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना हुने घोषणा गरेका थिए । घोषणाको तेस्रो दिन १२ गते मन्त्रिपरिषद्बाटै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिने निर्णयसमेत भयो ।
एकैपटक ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको १५ दिन बित्दा पनि प्रधानमन्त्रीले कुनै हेरफेर गर्न सकेका छैनन् । प्रधानमन्त्री कार्यालयमा २३५ जनाको स्थायी दरबन्दी रहेकोमा मुख्यसचिवबाहेक पाँच सचिवको दरबन्दी रहेको छ । तर अहिले प्रधानमन्त्री कार्यालयको वेबसाइटमा हेर्दा मुख्यसचिवबाहेक नै सातजना सचिवको दरबन्दी रहेको देखिन्छ ।ती सचिव कटाएर अब मुख्यसचिवबाहेक तीनजना सचिव राख्ने मन्त्रिपरिषद्को निर्णय थियो । तर प्रधानमन्त्री कार्यालयको कर्मचारी कटौती गर्ने कुनै सुरसार नभएको मन्त्रिपरिषद् कार्यालयकै कर्मचारी बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणले मन्त्रिपरिषद्कै निर्णय मानिरहेका छैनन् । उद्योगीको लाइन जोड्न मन्त्रिपरिषद्कै निर्णय नमान्नु प्रधानमन्त्री कति कमजोर छन् भन्ने नमुना हो । जबकि प्रधानमन्त्रीको निर्देशन पाउनसाथ प्राधिकरण उद्योगीको विद्युत विच्छेद गर्न उत्रेको थियो । यस्तो बेला विद्युत विच्छेद गर्नु ठीक नभएको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोडिदिन पटकपटक निर्देशन दिए पनि यो काम हुन सकेको छैन ।
प्रधानमन्त्रीले अटेर कर्मचारीलाई न त कारबाही गर्न सकेका छन् न त कबोलेका काम गर्न सकेका छन् । नयाँ धक्का दिएर काम गर्छु भनेका प्रधानमन्त्रीको यही तालले कार्यशैली परिवर्तन गर्ला त ? टड्कारो प्रश्न यही बनेको छ ।