दुई सचिव राख्नुको कारण पशु सेवा समूह र कृषि सेवा समूह भनिए पनि अहिलेका दुवै सचिव कृषि सेवा समूहकै छन् ।
काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यतिखेर ‘बेकामे’ दुई सचिवले जिम्मेवारी सम्हालिरहेका छन् । कृषि क्षेत्र नै ध्वस्त बनिरहेका बेला सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुई सचिवको दरबन्दी राखेको छ । अहिले मन्त्रालयअन्तर्गत कृषि विकासतर्फ डा. गोविन्दप्रसाद शर्मा र पशुपन्छी विकासतर्फ डा. रेवतीरमण पौडेल सचिव छन् ।
वि.सं. २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय विभाजन गरी कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय बनाएका थिए । माओवादी केन्द्रसहितको सरकार बनाउँदा मन्त्रीको बागबण्डा नपुगेपछि मन्त्रालय टुक्र्याइएको थियो । त्यसबेला दुई मन्त्रालय भएकै कारण सचिव पनि दुईजना नै राखिएको थियो ।
तर कृषि विकास मन्त्रालय विभाजन धेरै समय टिकेन । मन्त्रालय विभाजन हुनु कृषि सेवातर्फ वा पशु सेवातर्फ विकास हुनु भन्ने गफ दिइएको भए पनि अन्ततोगत्वा मन्त्रालय फुटाउने काम केवल मन्त्रीको भागबण्डा मिलाउनेबाहेक अरु केही थिएन । फेरि दुवै मन्त्रालयलाई समायोजन गरी एकै मन्त्रालय बनाइयो । त्यसबेलादेखि नै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुई सचिवले जिम्मेवारी सम्हालिरहेका छन् ।
अहिले यस मन्त्रालयमा दुईजना सचिव बेकामे बनेर कुर्सी सम्हालिरहेको देखिन्छ । दुई सचिव राख्नुको कारण पशु सेवा समूह र कृषि सेवा समूह भनिए पनि अहिलेका दुवै सचिव कृषि सेवा समूहकै छन् । एउटै सेवाका दुई सचिव भएका कारण पनि अहिले दुई सचिव किन चाहियो ? भन्ने प्रश्न यतिखेर मन्त्रालय भित्रै उठ्न थालेको छ । करिब आठ वर्षदेखि मन्त्रालय दुई सचिवलाई जिम्मेवारी दिँदा न त कृषि तथा पशु सेवाको विकास हुन सकेको छ न त समन्वय नै भएको देखिन्छ ।
विगतमा एउटै सचिव हुँदा जुन किसिमले कृषि मन्त्रालयले आफूलाई क्रियाशील गराइरहेको थियो अहिले भद्रगोल बनिरहेको कृषि मन्त्रालयका सहसचिवहरु बताउन थालेका छन् । हुन त कृषि र पशुपन्छी सेवा एक अर्कामा परिपूरक होलान्, त्यही भएर पनि कृषि तथा पशुपन्छी एवं वन विज्ञानलाई पनि एउटा क्लस्टर मान्दै आएको देखिन्छ । यसको मतलव कृषि, वन, वातावरण र पशु सेवाको क्लस्टर एउटै हो भन्ने पुष्टि गरिदिएको छ निजामती सेवामा कर्मचारीहरुका लागि ।
मन्त्रालयमा सेवा समूहअनुसार पशु सेवा र कृषि सेवाका लागि छुट्टाछुट्टै सचिव हुने व्यवस्था गरेको हो भने पनि पशु सेवा समूहबाट हालसम्म पनि मन्त्रालयले सचिव पाएको भने देखिँदैन । त्यसो हो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुई सचिव के कामका लागि त ? भन्ने प्रश्न उठ्नु स्वाभाविक नै भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘सरकारले सचिवमात्र थुपार्नेभन्दा पनि मन्त्रालयलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने हो भने कृषि तथा पशुन्छी विकास मन्त्रालयमा एकै सचिवमात्र राख्दा राम्रो हुन्थ्यो,’ ती अधिकारी भन्छन्, ‘आर्थिक भार हुनेगरी किन चाहिएको दुई–दुई जना सचिव ?’
सरकारी सेवा सुविधामात्र उपलब्ध गराउनका लागि मन्त्रालयमा दुईजना सचिव राखिरहनु वास्तविक रुपमा नै कुनै अर्थ देखिँदैन । यदि मन्त्रालयमा सेवा समूहलाई मध्यनजर गर्दै दुई सचिव राखिएको हो भने पशुतर्फ सोही सेवा समूहमा काम गरेको व्यक्तिलाई सचिव बनाउने र कृषि सेवातर्फ पनि सोहीअनुरुप गर्नु पर्दछ । वन, वातावरण, कृषि र पशु सेवा समूहलाई एउटै क्लस्टरमा राखेर जुन किसिमले सचिव बढुवा गरिएको छ त्यो उचित देखिएको छैन । क्लस्टरबाटै बढुवा गर्ने र सचिव राख्ने हो भने एउटै सचिव कृषिका लागि काफी हुने सरोकारवालाको भनाइ छ ।