काठमाडौं (प्रस)– वैदेशिक रोजगारीका लागि जापान र दक्षिण काोरिया जाने नेपाली नागरिकले ५०० डलर सटही सुविधा पाउने भएका छन् । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि जापान तथा कोरिया जाने नागरिकलाई उक्त सटही सुविधा प्राप्त हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै रोजगारीका लागि अमेरिका, क्यानडा, युरोप जाने नेपाली नगारिकलाई ५०० डलर सटही सुविधा रहेको बताइएको छ । यद्यपि उल्लिखित गन्तव्यबाहेकका मुलुकमा रोजगारीका लागि जाने नागरिकलाई भने २०० डलरमात्र सटही सुविधा हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि श्रमका लागि सबै मुलुकमा जाने श्रमिकहरुलाई समान २०० डलर सटही सुविधाको व्यवस्था रहेको थियो ।
दुईसय डलरमात्र सटही सुविधा दिँदा युरोप, अमेरिका, जापान, कोरिया जाने श्रमिकहरु समस्यामा परेको भन्दै डलर सटही सुविधा बढाउनुपर्ने माग हुँदै आएको थियो । तसर्थ पछिल्लो समय राष्ट्र बैंकले व्यवस्था गरेको सटही सुविधाले उल्लिखित मुलुकमा जाने श्रमिकहरुलाई आर्थिक व्यवस्थापनमा सहज हुने बताइएको छ ।