काठमाडौं - काठमाडौंको चोभार डाँडामा पहिलो पटक क्यानोपी जिपलाइन सञ्चालन भएको छ । जे.भि.एड्भेन्चर प्रा.लि.ले नेपालमै पहिलो पटक क्यानोपी जिपलाइन सञ्चालन गरेको हाे ।
यो क्यानोपी जिपलाइन नेपालकै पहिलो क्यानोपी जिपलाइन बनेकाे छ ।काठमाडाैंबाट नजिकै रहेकाे चाेभार डाँडामा साहासिक र मनाेरञ्जनात्मक मानिएकाे क्यानाेपी जिपलाइन आन्तिरक पर्यटकहरुकाे आकर्षणकाे केन्द्र बनेकाे छ ।
उक्त जिपलाइनको कुल लम्बाई करिब ४ सय मिटर रहेको छ । साे जिपलाइनलाई तीन चरण गरेर खेल्न पाइने छ । तीनै चरणको जीपलाइन खेल्न १० मिनेट लाग्ने छ । पहिलो चरणलाई ‘एड्भेन्चर’, दोस्रो चरणलाई ‘डेयर डेभिल्स’ र तेस्रो चरणलाई ‘द फन’ भनी नामकरण गरिएको छ ।
जिपलाइनको क्रममा मञ्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरि डाँडा, काठमाडौं तथा ललितपुरका सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ ।
कति लाग्छ शुल्क ?
क्यानोपी जिपलाइनको तीन चरण खेल्नका लागि फोटो भिडियोसहित प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । जसमा टेण्डम (जोडी)ले मात्र २ हजार रुपैयाँमै क्यानोपीको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । साथै विद्यार्थीहरूको लागि १० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको छ । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयहरूले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउने व्यवस्था रहेको छ ।
चोभार डाँडामा एड्भेन्चर हब नै बनाउने गरी तयारी थालिएको कम्पनीका प्रमुख प्रदीप चौलागाईले बताएका छन् । उनका अनुसार चोभारको डाँडा काटिएको खोँचमा ग्लास ब्रिज निर्माण गरिने भएको छ । जसमा तीन वटा एड्भेन्चरहरु बनाइने छ । ‘काटिएको खोँचलाई लक्षित गरेर ग्लास ब्रिज बनाइने तयारी थालिएको छ’, उनले भने ‘उक्त ब्रिजमा स्विङ्, स्काई साइक्लिङ र स्काई वाक बनाइने छ ।’
तीन अर्बको लगानी योजना सहित निर्माण थालिएको यस क्यानोपी जीपलाइन आगामी एक वर्षमा निर्माण भइसक्ने सञ्चालक चौलागाई बताउँछन् । यसका साथै, विभिन्न एड्भेन्चरहरुको निर्माणसँगै होटेल तथा बिग सिनेमा हाउसको समेत निर्माण गरिने उनले बताए ।