कपिलवस्तु– आज माघे सक्रान्ति पर्व । नेपालका अधिकांश जाति तथा समुदायले माघे सक्रान्ति पर्वलाई विभिन्न नाममा साझा पर्वको रुपमा मनाउने गर्छन। लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा दुईदिन सार्वजनिक विदा दिएको छ।
हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती तथा तराईका थारु समुदायले माघी अर्थात खिचडी पर्वका रुपमा मनाउने गर्छन।
सबै समुदायले आ(आफ्नो परम्परा अनुसार विभिन्न परिकार खानुका साथै विभिन्न धार्मिक स्थलहरुमा गएर स्नान गर्ने प्रचलन रहेको छ। आज कपिलवस्तु को रामघाट लगायतका पवित्र नदि तथा जलाशयहरुमा गई स्नान गरे मोक्ष प्राप्ती हुन्छ भन्ने मान्यता छ।
आज विहानैदेखि पवित्र जलाशयहरुमा स्नान गर्नेहरुको घुईचो लागेको छ। आज नदि तथा जलाशयमा जान नसक्नेहरुले पनि घरमै नुहाएर चोखो भई खिचडी, तरुल, सख्खरखण्ड, सेलरोटी, बटुक लगायतका परिकार बनाएर खाने गर्छन। त्यस्तै, घ्यु, चाकु, तिलको लड्डु, फुरौला पनि माघे सक्रान्तिका मुख्य परिकार हुन।
माघ १ गते थारु समुदायले नयां वर्षको रुपमा मनाउने गर्छन । थारु समुदायहरुमा माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयां योजना बनाउने काम दिनको रुपमा लिने गरिन्छ।
चेलिबेटीहरुलाई घरमा बोलाउने, मिठा परिकार खाने खुवाउने र नाचगान गर्ने चलन छ। थारु समुदायले माछा, सुंगुर र मुसाको मासु, घोंगी, ढिक्री, लगायतका परिकार बनाएर खाने गर्छन।
माघे सङ्क्रान्ति पर्वलाई नेपालका मगर जातिले राष्टिय पर्वको रुपमा मनाउने गर्छन्। मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ। खिचडी, तरुल, सख्खरखण्ड, तिलको लड्डु र चाकु माघे सक्रान्तिमा खाने सबैका साझा परिकार हुन।
सोहि कारण आईतबार बजारमा तरुल, सख्खर, तिल चाकु लगायतका परिकार किनमेल गर्नेहरुको भिड लागेको थियो। तौलिहवाको विभिन्न पसल तथा हाटबजार , तरकारी र फलफुलका पसलमा समेत तरुल र सख्खर विक्री गर्न व्यापारीहरु व्यस्त थिए।