पुस अन्तिम दिन थियो । आमाले थन्क्याएर राखेको प्लास्टिकका जर्किनहरु सबै भ¥याङमुनिबाट धमाधम निकाल्दै थिइन् । सायद टुल्के पाँच वर्षको थियो होला । केटाकेटीमा आमासँग बच्चाहरुले धेरै कुरा सिक्छन् । आमाले जसोजसो गरेको छ त्यही देखेर बच्चाहरुले पनि सिक्छन् । चाहे त्यो बोल्ने शैली वा शब्दहरु हुन् । या हाउभाउका कुरा पनि आफूभन्दा ठूलाबाट नै सिकेर त्यसलाई बानी नै बनाउँछन् । टुल्के पनि भ¥याङमुनि छिरेर सानो तेलको जर्किन निकाल्न थाल्यो ।
अहिले जस्तो कहाँ थियो र ! जुत्ता लगाउन दसैं नै कुर्नुपर्ने । बा’ले जसोतसो स्कुल जान पनि हुने, मामाघर जान पनि हुनेगरी एउटा जुत्ता किनिदिएकी थिइन् । बा’ले नयाँ जुत्ता किनेर ल्याइदिएको दिन त खुसीको सीमा नै हुँदैनथ्यो । हात्ती छाप चप्पलको त कुरै छाडौं । हिँड्दा प्याट्टऽप्याट्ट पड्काउन टुल्के खुब खुसी हुन्थ्यो ।
टुल्के आमासँगै मकर संक्रान्तिलाई निम्तो दिँदै आमाको पछिपछि लुरुलुरु ढुंगेधारातिर पुग्थ्यो चप्पल पड्काउँदै । आमा घर जा भन्दै टुल्केलाई अलि परसम्म लखेट्थिन् । टुल्के हाँस्दै दौडिन्थ्यो । अनि फेरि सानो जर्किन बोकेर आमा गएकै ढुंगेधारातिर जान्थ्यो ।
माघे संक्रान्ति, सबैका घरमा पाहुना । पानीको स्रोत नै ढुंगेधारा र इनार । सार्वजनिक स्थानको इनारमा भनेजति पानी पाउनै मुश्किल । अनि आमा बरको बोटमुनिको ढुंगेधारासम्म पुगेर गाग्री, जर्किनमा पानी ओसार्नु हुन्थ्यो । टुल्के पनि आमासँगै फरियाको फेर समाउँदै जर्किन बोक्न पाएपछि खुसी हुँदै ढुंगेधारा नै पुग्थ्यो ।
दिन यसरी नै ढल्कँदै थियो । काठमाडौंको ठाउँ सबैलाई सहर छिर्नुपर्ने बाध्यता पनि रहर पनि । काठमाडौंमा देश नै परिवर्तन गर्नसक्ने ठूला– ठूला जुलुस पनि हुन्थे । टुल्केले जिन्दावाद र मुर्दावादको नारा नसुनेको पनि होइन । रैथानेहरु खासै चासो दिने । त्यही रैथानेहरुको ढाडमा टेकेर धेरैले फड्को पनि मारे । राजनीति गर्ने नेताहरुले पञ्चायत ढाल्न भन्दै ठाउँ–ठाउँबाट जुलुस निकाल्ने ।
सत्ता ढाल्न भन्दै झुप्प–झुप्प समूह बनेर रातिराति बलेको बत्ती निभाउने घर–घर पुग्थे । टुल्के झ्याल छेउमै सुतिरहेको थियो । त्यही बत्ती निभाउनेहरुको समूहले ‘ब्ल्याक आउट–ब्ल्याक आउट’ भन्दै झ्यालमा ढुंगा हान्न थालेपछि आमा बत्ती निभाउन नभ्याउँदै उच्छिट्टिएर आएको एउटा ढुंगा टुल्के सुतेको झ्यालबाट छिरेन मात्र, टुल्केको टुटुल्कै उठाइदियो ।
२०४६ सालमा भएको राजनीतिक परिवर्तनसँग प्रजातन्त्र आयो । त्यही प्रजातन्त्रको फेरो समाएर काकाकुलजस्तै भएका जनतालाई आश्वासनका पोकाहरु बाँडिन थाल्यो । काठमाडौंका मान्छेको घाँटी भिजोस् कि नभिजोस् तर काठमाडौंका सडक मेलम्चीको पानीले पखाल्दिने भन्दै सुरु भएको मेलम्ची पानीको आशा र ‘ब्ल्याक आउट’ का नाममा टुल्केको उठेको टुटुल्को अहिलेसम्म पनि उस्तै छ ।
मेलम्चीको पानी भन्ने सुनेको टुल्के मेलम्चीमै गएर पानी पिएर आइसकेको छ । टुल्केकी आमा अहिले पनि त्यही ढुंगेधारामा जर्किनमा पानी थाप्ने परम्परा धानिरहेकी छिन् । काकाकुल काठमाडौंका टुल्केकी आमाजस्ता हजारौं आमाहरुलाई मेलम्चीको पानी वितरण आठौंपटकसम्म उद्घाटन गरिँदा पनि कुनै मतलव नै छैन ।
पाँच वर्षको टुल्के अहिले आफैं लक्का जवान भइसक्यो । आमाले विश्वास नगरेको मेलम्ची टुल्केले विश्वास कसरी गरोस् । काठमाडौं खाल्डोमा जमिनमुनिको पानीसमेत सकिन लागिसक्यो । तर काठमाडौंबासीलाई दिने आश्वासनका पोकाहरु सकिएका छैनन्, अझै उस्तै छन् ।
तीस वर्षदेखि उही कुरो चलिरहेको छ । जसरी टुल्के ढुंगेधारामा आमासँग जर्किन बोकेर जान्थ्यो । टुल्केको छोराछोरी टुल्केकी जीवनसंगीनीसँग हिँड्न थालिसकेका छन् । टुल्केकी आमाले जसरी टुल्केलाई डाँडापारिको मेलम्चीबाट पानी आउँछ रे भनेकी थिइन् । आज टुल्केकी जहानले आफ्ना साना केटाकेटीलाई उदाउँदै गरेको सूर्य देखाएर भन्नु परेको छ । ‘ऊ त्यो परको सूर्य उदाएको ठाउँको ठ्याक्कै मुनिबाट मेलम्चीको पानी आउँदै छ !’
ऊ बेला सर्वमान्य नेता मानिएका गणेशमानले आफ्नी पत्नीलाई चुनावमा हराएका काठमाडौंका जनतालाई ‘भेडा’ भने थे । त्यही भएर होला शासकहरुले अहिलेसम्म पनि उही नाम दिइरहेका छन् । त्यस्तै व्यवहार गरिरहेका छन् ।अहिले सामाजिक सञ्जाल र सञ्चारको प्रयोगले गर्दा होला । मेलम्चीको पानी आउने अग्रिम सूचना छ । टुल्केका छोराछोरीले टुल्केकी जहानलाई माघे संक्रान्तिको झिसमिसेमै सोधे । आमा त्यो आउँछ र ? पल्टिरहेको टुल्के बच्चाबच्चीको मुखमा हेर्छ । उसकी जहान के ? भन्दै प्रश्न गर्छिन् ।
बच्चाबच्ची फेरि सोध्छन्, आमाले भनेको होइन ? बिहान सूर्जे आउने ठाउँभन्दा मुनिबाट मेलम्चीको पानी आउँछ भनेर ? हामीले सुनेको घिउ चाकु खाने दिन त्यो पानी त सिंहदरबार पो आउँदै छ रे ! केटाकेटीको कुरा सुनेर टुल्के आफैंसँग मुुस्कुराउँछ । टुल्केकी जहान अक्क न वक्क पर्छिन् ।
केटाकेटी अझै ढिपी कसिरहेका छन्, ‘भन न आमा त्यो आउँछ कि आउँदैन ।’ विचरी तिनलाई के थाहा आउँछ कि आउँदैन । उनले पनि आफू केटाकेटी हुँदा सुनेको त्यो त्यहीबाट आउने हो भनेर तर, अहिलेसम्म आएको छैन । आउँछ भनौं आउनेवाला छैन । आउँदैन भनौं आउँछ भन्दै सनसनी फैलिसकेको छ । दोधारमा परिन् उनी । पुर्लुक्क टुल्केलाई हेर्छिन् टुल्के मुस्कुराउँछ ।
आफ्नी जहान दोधारमा परेपछि टुल्के भन्छ, ‘हेर म तिमीहरु जत्रो हुँदा मैल मेरी आमालाई यसैगरी सोधेको थिएँ आमा त्यो आउँछ कि आउँदैन भनेर ? आमाले मलाई आउँछ रे, भन्ने जवाफ दिएकी थिइन् । म यत्रो भएँ अहिलेसम्म आएको छैन । अब तिमीहरुले तिमेरुका आमालाई सोधिराखेका छौं त्यो मेलम्ची आउँछ कि आउँदैन भनेर ? ल्याउनेलाई नै थाहा छैन त्यो आउँछ कि आउँदैन मैले पनि मेरी आमालाई यसैगरी सोधेको थिएँः
आमा त्यो आउँछ र ?
हो बाबु त्यो आउँछ
तिमी बूढो हुञ्जेलसम्म आउँछ ।
मैले पनि बालाई सोधेकै थिएँ
साँच्चै बा त्यो आउँछ र ?
बाले भन्नुभएको थियो
आउँछ रे !
तर,
अहिलेसम्म आएको छैन ।
तिमी कुर्दै गर पक्कै आउँछ
आएन भने
तिम्रा सन्ततीले सोध्लान् ?
अनि,
मैलेजस्तै उत्तर दिनु
हो बाबु त्यो आउँछ
सलऽल बगेर आउँछ ।
तिमीहरु पनि हामीले जस्तै आशा गर भर चाहिँ नपर ।