‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ नारासहित आज २६औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ । वि.सं. १९९० को भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।
भूकम्प सुरक्षा दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल चन्द्रागिरि नगरपालिकामा जाँदै छन् । सरकारले हरेक वर्ष भूकम्प दिवस मनाउने गर्छ । आकर्षक नारा पनि बनाउने गर्छ । यसपटकको नारमा भनिएको छ– स्थानीय स्रोतको प्रयोग गरेर भूकम्प थेग्ने संरचना बनाऔं । तर सरकारले भूकम्पबाट सुरक्षा पाउनका लागि भूगोलअनुसारको शिक्षा दिने योजना बनाउँदैन ।
नेपाल भौगोलिक विविधता भएको मुलुक हो । भूकम्पको जोखिम हरेक स्थानमा छ । स्थानीयस्तरमा भूकम्प जाँदा पहिरो आउने, ताल फुट्ने, बाढी जानेजस्ता समस्या आउन सक्छन् । भूकम्पका बेला कुन ठाउँमा हुँदा के गर्ने ? यस्ता विषयबाट बच्नका लागि पर्चा र किताब छाप्नुभन्दा पनि प्रयोगात्मक रुपमा डेमो नै गरी प्रत्येकलाई सुरक्षा ज्ञान दिन सकिन्छ । जस्तो आगो लाग्दा के गर्ने ? विमानस्थलमा दुर्घटनमा के गर्ने ? भन्नेजस्ता डेमो हुँदा व्यक्तिले आफू बच्ने उपाय जान्न सक्छन् । समुद्री किनारका देशहरुले प्रत्येक नागरिकलाई समुद्रमा डुंगा दुर्घटनामा परी डुबे के गर्ने भनेर प्राथमिक सीप सिकाउने गर्छ । तर हाम्रोमा सरकारले पोस्टर, भाषणमै कार्यक्रम इतिश्री गर्ने गर्छ ।
ती पनि विशेषगरी उपत्यका केन्द्रितमात्रै । यसपटक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकाका तीन स्थान काठमाडौंको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा मुख्य समारोह आयोजना गर्दै छ । भूकम्प सम्झना १९९० माघ २ गते पुग्नु पर्दैन । जाजरकोट, बझाङ र २०७२ सालको भूकम्प सम्झे पुग्छ । २०७२ वैशाख १२ गतेको ७.८ म्याग्निच्युडको गोरखा भूकम्पमा परी आठ हजार ६७० जनाको निधन भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो । ९० सालको ८.४ महाभूकम्पमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए । ९० सालकै भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । तर, यो कार्यक्रम बढी औपचारिकतामै सीमित बन्दै आएको छ ।
यस्तो विभिन्न भूकम्पबाट न त सरकारले पाठ सिकेको छ न त जनताले नै । आफैंले बनाएको संरचनाका कारण ज्यान गुमाउनुभन्दा बेलैमा भूकम्पबाट बच्न पूर्वतयारी गरौं । सरकारले आफ्नोतर्फबाट पूर्वयोजनाका कार्यक्रम बनाऊ, जनताले पनि आफू जोगिन पूर्वतयारी थालौं । भूकम्प सुरक्षा दिवसलाई औपचारिकता कम र व्यावहारिक बढी बनाउन ध्यान देऊ ।