काठमाडौं– चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुलुकबाट झण्डै १२ सय नेपालीले ‘टेलिमेडिसिन’ सेवा लिएका छन् । वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याएको हो । बोर्डका अनुसार गत साउनदेखि पुस १५ गतेसम्म एक हजार १८२ जनाले उक्त सेवा लिएका छन् ।
बोर्ड सचिवालयले रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा पुगेका नेपाली श्रमिकहरुले आफ्नो स्वास्थ्य समस्या समाधानका लागि टेलिमेडिसिन सेवा लिएको उल्लेख गरेको छ । बोर्डले गत वर्ष चैत १५ गतेदेखि विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको थियो ।
पछिल्लो छ महिनाको अवधिमा विभिन्न १७ मुलुकमा रहेका नेपालीले टेलिमेडिसिन सेवा लिएको बोर्ड उल्लेख गरेको छ । जसमा मलेसियाबाट सबैभन्दा बढी ३१८ श्रमिकले आफ्नो स्वास्थ्य समस्यासम्बन्धी परामर्श लिएको पाइएको छ । त्यस्तै साउदी अरेबियाबाट २५१ र संयुक्त अरब इमिरेट्स (युएई)बाट १२९ जना श्रमिक रहेका छन् । त्यसैगरी कतारबाट १२५, कुवेतबाट १०९ र दक्षिण कोरियाबाट १०८ जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।
त्यसैगरी साइप्रसबाट ३०, रोमानियाबाट २६, ओमानबाट २६, जापानबाट २३, जर्मनीबाट नौ जनाले टेलिमेडिसिन सेवा लिएको बोर्डले जनाएको छ । सेवा लिनेमा बहराइन, माल्दिम्स, जाम्बिया, इराक र माल्टा गएका नेपालीहरु पनि छन् । अफ्रिकाबाटसमेत एक जनाले सेवा लिएको बोर्डले उल्लेख गरेको छ ।
स्वास्थ्यसम्बन्धी समस्या देखिएका अधिकांशले सबैभन्दा बढी मेडिसिन र सर्जरीमा आवश्यक औषधोपचारका लागि परामर्श लिने गरेको टेलिमेडिसिन सेन्टरका मेडिकल अफिसर डा. सञ्जय धरेलले बताए । उनका अनुसार पेट तथा ढाडसम्बन्धी समस्या राख्नेहरु पनि थुप्रै रहेका छन् । समयमा खाना नखाने र ‘फुड पोइजन’का कारण पेटसम्बन्धी समस्या देखिएको भन्दै लामो समयसम्म उभिएर काम गर्नेहरुमा ढाडको समस्या रहेको उनले बताए । यीबाहेक नाक, कान, घाँटी, डेण्टल, छाला रोगलगायत विभिन्न खाले समस्याबारे पनि सेवाग्राहीले परामर्श लिइरहेको डा. धरेलले जानकारी दिए ।
त्यस्तै कतिपय श्रमिकमा मानसिक समस्यासमेत देखिएको भन्दै उनीहरुलाई मनोचिकित्सक परामर्श पनि उपलब्ध गराउने काम भइरहेको बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए । ‘सामान्यमात्र नभई यसबीचमा गम्भीर स्वास्थ्य समस्या देखिएका झण्डै १०० जनालाई विशेषज्ञ परामर्श सेवा दिएका छौं,’ उनले भने । स्वास्थ्य परामर्श तथा विशेषज्ञ सेवा लिने कामदारको संख्या आगामी दिन अझै बढ्ने देखिएकाले टेलिमेडिसिन सेवा निरन्तर सञ्चालन हुने ढकालले बताए । उनका अनुसार टेलिमेडिसिन सेवाका लागि दैनिक सरदर २५ देखि ३० जनाले सम्पर्क गर्ने गरेका छन् ।
निर्देशक ढकालले विदेशमा रहेका नेपाली श्रमिकले भाइबर, ह्वाट्सएप वा इमोमार्फत फोन गरी आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने बताए । ‘स्वास्थ्य सेवा लिन उनीहरुले सार्वजनिक बिदाको दिनबाहेक नेपाली समयानुसार विहान १० देखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सक्ने छन्,’ उनले भने, ‘सेवा प्रवाहका लागि खटिएका मेडिकल अधिकृतले फोनमार्फत नै कामदारको स्वास्थ्य समस्या र जिज्ञासा हल गर्ने प्रयास गर्ने छन् ।’
मेडिकल अधिकृतले समाधान गर्न नसक्ने स्वास्थ्य समस्या भएमा रोगका लक्षणअनुसार बिरामीलाई विशेषज्ञ डक्टरबाटै समस्या समाधानका लागि परामर्श दिइने बताइएको छ । जटिल स्वास्थ्य समस्या भएका बिरामीले प्रत्येक हप्ता आइतबार र शुक्रबार विशेषज्ञ सेवा लिन सक्ने बोर्डले जनाएको छ । यस्तै टेलिमेडिसिन सेवाका कारण विदेशमा गैरकानुनी रुपमा रहेका नेपाली श्रमिकहरु बढी लाभान्वित भएको बताइएको छ । रोजगारीका क्रममा विभिन्न कारणले गैरकानुनी रुपमा गन्तव्य मुलुकमा नै बस्न बाध्य भएका श्रमिकले आफ्नो स्वास्थ्य समस्या हल गर्न तथा उपचारका लागि परामर्श लिन टेलिमेडिसिन भरपर्दो माध्यम भएको बोर्डले जनाएको छ ।