काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना आफ्नो सचिवालय सदस्य कटौती गरेर सुरु गरेका छन् । मंगलबार प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएसँगै पुनर्संरचना सुरु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।प्रधानमन्त्री कार्यालयलाई चुस्त बनाउन आफैंबाट सुरु गर्ने वाचा दाहालले यसअघि गरेका थिए । सोही वाचास्वरुप उनले आफ्नो सचिवालय सदस्य कटाएका हुन् ।
उनीहरूलाई माघ १ गतेदेखि लागू हुनेगरी हटाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले बताएका छन् ।प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद (सूर्यकिरण) ढुंगाना र स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईंलाई बिदा गरेको छ । प्रधानमन्त्रीका प्रेस संयोजकसमेत रहेका सूर्यकिरण केही समयअघि प्रधानमन्त्री कार्यालयबाट अमेरिका पुगिसकेका छन् । त्यस्तै स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिवकै भूमिकामा रहेकी सावित्रीकुमारी अधिकारीलाई पनि हटाइएको छ । स्वकीय उपसचिव कलबहादुर नाथ, स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह पनि हटाइएका छन् ।
यसैगरी प्रशासन सहायक रामलाल पराजुली, कम्प्युटर सहायक वासुदेव शर्मा, कम्प्युटर सहायक खडक योगी, कार्यालय सहायक अविनाश वाइबा, हलुका सवारी चालकद्वय रमेशप्रसाद घिमिरे र पवित्रबहादुर शाहीलाई बिदा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै उनले आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए । त्यसअनुसार सचिवालयका १३ जना कर्मचारी कटौतीमा परेका हुन् । प्रधानमन्त्रीको सचिवालयमा ५२ जनाको दरबन्दी रहेको छ । जसमध्ये प्रधानमन्त्रीले ३५ जनालाई सचिवालयमा नियुक्ति दिएका थिए ।
६८ कर्मचारी पनि हटाइँदै
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ कर्मचारी हटाउनेसमेत बताएका थिए । ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दै छु, सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुने छ,’ पुस १० गते दाहालले भनेका थिए ।
त्यसको दुई दिनपछि मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । ‘प्रधानमन्त्री कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएका साथीहरू अब अन्यत्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छु भन्नुभएको थियो, आज यहाँबाट सुरुआत भयो । हामी विस्तार गरेर जान्छौं,’ सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुस १२ गते मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भनेकी थिइन् । तर घोषणाको तीन हप्तासम्म पनि ती ६८ कर्मचारी हटाउन सकेका छैनन् ।
प्रधानमन्त्री कार्यालय प्रशासन शाखाका सचिव गणेश पाण्डेले भने एक–दुई दिनमै कर्मचारी हटाउने गरी प्रधानमन्त्री कार्यालयले तयारी गरिरहेको दाबी गरे । ‘हामीले प्रधानमन्त्रीले घोषणा गर्नुभएअनुसार नै कर्मचारी हटाउने तयारी गरिरहेका छौं, एक–दुई दिनमै निर्णय आउँछ,’ सचिव पाण्डेले भने । यसका लागि प्रशासन शाखाले तयारी गरिरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्यालयमा हाल पाँचजना सचिवको दरबन्दी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री कार्यालयबाट दुई सचिवसहित ६८ कर्मचारी बिदा हुँदै छन् । त्यसैगरी ११ जना सहसचिव र उपसचिव २६ जनालाई बिदा गरिँदै छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल, सचिवहरू एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, लीलादेवी गड्तौला, मणिराम गेलाल, डा. गणेशप्रसाद पाण्डेय र खगेन्द्र नेपालसहित २३४ कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दी ११ जना भए पनि लोकनाथ पौडेल, नारायणप्रसाद भट्ट, नारायणप्रसाद सापकोटा, खोमराज कोइराला, डा. किरण रूपाखेती, ढुण्डीप्रसाद निरौला, दलबहादुर अधिकारी, राजेन्द्र थापा, शिवादेवी दाहाल, बुद्धबहादुर गुरुङ, नमराज घिमिरे, विपिन आचार्य, रेखा दास, हीरामणि शर्मा, संगीता ओझा र अर्जुन भण्डारी छन् गरी १६ जना सहसचिव छन् ।
यी हुन् कटौतीमा परेका १३ जना: नारायणप्रसाद ढुंगाना, स्वकीय सहसचिव रमेशप्रसाद गुरागाईं, स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिव सावित्रीकुमारी अधिकारी, स्वकीय उपसचिव कलबहादुर नाथ, स्वकीय उपसचिव लाले कुमाल, स्वकीय शाखा अधिकृत युवराज शाह, प्रशासन सहायक रामलाल पराजुली, प्रशासन सहायक वासुदेव शर्मा, कम्प्युटर सहायक खडक योगी, कम्प्युटर सहायक अविनाश वाइबा, कार्यालय सहायक रमेशप्रसाद घिमिरे, हलुका सवारी चालक पवित्रबहादुर शाही, हलुका सवारी चालक