काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पठाउन लिइने रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको मिति सरेको छ । यही माघ ६ गतेदेखि परीक्षा गर्ने गरी परीक्षा तालिका सार्वजनिक गर्ने यसअघि बताइएको थियो । प्राविधिक कठिनाइ र पूर्वतयारी नपुगेका कारण परीक्षा मिति सारिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
इपिएस प्रणालीमार्फत कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि जान एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको छ । यति ठूलो संख्यामा आवेदन आएका कारण प्राविधिक रुपमा तयारी नपुगेको विभागको भनाइ छ । ‘यसअघि एचआरडी सर्भिस कोरियाका अधिकारीहरुसँग छलफल हुँदा जनावरी २० (माघ ६ गते) देखि भाषा परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय भएको थियो,’ विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘तर ठूलो संख्यामा आवेदन परेकाले एचआरडी कोरियाको प्राविधिक प्रणालीमा परिमार्जन गर्नुपर्ने देखिएका कारण तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकिने जानकारी आएको छ ।’
अब पहिलो चरणमा हुने परीक्षाका लागि फेब्रुअरी ४ अर्थात् माघ २१ गते परीक्षा तालिका सार्वजनिक गर्ने महानिर्देशक घिमिरेले जानकारी दिए । हाल एचआरडी कोरियाको कम्प्युटर प्रणालीमा पाँच डिजिटको आवेदनमात्रै मान्य हुने व्यवस्था रहेको बताइएको छ । त्यसलाई परिमार्जन गरी छ डिजिटको बनाउन र परीक्षार्थीहरुको विवरण रुजु गर्न समय लाग्ने देखिएकाले परीक्षा यसअघि तोकिएको भन्दा केही ढिलाइ हुने घिमिरेले बताए । साथै, कोरियाले उत्पादनमूलक क्षेत्रका लागि नेपालबाट लैजाने कामदारको कोटासमेत बढाएको छ । यसअघि १५ हजार ८४८ जना श्रमिकको कोटा निर्धारण गरेकोमा पछिल्लो चरणमा भएका द्विपक्षीय संवादमा न्यूनतम २० हजार जना लैजान कोरियाली पक्ष तयार भएको महानिर्देशक घिमिरेले बताए ।
यसअघि हजारको अंकमा आवेदन पर्ने गरे पनि यसपटक लाख नाघेपछि परीक्षालाई व्यवस्थित र पारदर्शी बनाउन एचआरडी कोरियाले पनि प्राविधिक पक्षलाई बढी नै जोड दिएको छ । उसले भाषा परीक्षालाई तीन चरणमा सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेको छ । एचआरडी कोरियाको तयारीअनुसार नै कार्यतालिका सार्वजनिक हुने र सोहीअनुसार परीक्षा सञ्चालन गरिने वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।
पहिलो चरणमा हुने परीक्षामा ४७ हजार परीक्षार्थी सहभागी हुने छन् । दोस्रो चरणमा ८० हजारलाई सहभागी गराइने शाखाकी निर्देशक मैया कँडेलले बताइन् । बाँकी रहेका ३७ हजार ७४१ जना परीक्षार्थीलाई अन्तिम अर्थात् तेस्रो चरणको परीक्षामा सामेल गराइने उनले जानकारी दिइन् । परीक्षार्थीको संख्या लाख नाघेपछि समयमै भाषा परीक्षा सम्पन्न गर्न दैनिक पाँच सिफ्टमा परीक्षा लिने गरी तयारी भइरहेको पनि उनले बताइन् ।