काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाउने बहानामा रकम संकलन गरी ठगी गर्ने दुईजना पक्राउ परेका छन् । चेक रिपब्लिक र माल्टा पठाइदिने भन्दै बेरोजगार युवाहरुसँग रकम संकलन गरी फरार रहेको आरोपमा विकास राई र मायादेवी रानालाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–११ घर भई हाल बूढानीलकण्ठ हात्तिगौंडा बस्ने राईले दिवान गिरीसमेतलाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाई एक प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ८० हजार रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाएर एक लाख ८० हजार रुपैयाँ नै ठगी गरेको प्रहरीले जनाएको छ । पीडितसँग पैसा लिएर सम्पर्कविहीन अवस्थामा रहेका उनलाई खोजतलासको क्रममा कलंकीबाट पक्राउ गरिएको बताइएको छ ।
यसैगरी वैदेशिक रोजगारीमा माल्टा पठाइदिने विश्वास दिलाई दीपकराज कँडेलसमेत विभिन्न व्यक्तिसँग ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा नवालपरासीको ३० वर्षिया रानालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले पीडितहरुलाई मासिक एक लाख ५० हजार रुपैयाँ तलब हुनेगरी माल्टाको एक प्रतिष्ठित होटलमा काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ ।
उनलाई पीडितहरुबाट रकम लिएर फरार रहेको अवस्थामा स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।