काठमाडौं– पाँच प्रदेशको सम्मेलन सकेको नेपाली कांग्रेसको कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने अनिश्चित छ ।
सुदूरपश्चिममा कञ्चनपुर र बझाङले जिल्ला सम्मेलन गर्न सकेका छैनन् । सुदूरपश्चिमका कांग्रेस महामन्त्री मेघराज खड्काले प्रदेश सम्मेलनको मिति तय नभएको बताए । ‘जिल्ला सम्मेलन सकेर प्रदेश सम्मेलन गर्न खोजेका हौं । दुई जिल्लाको हुन सकेको छैन’, खड्काले अनलाइनखबरसँग भने, ‘प्रदेश सम्मेलन गर्ने बारेमा धेरै छलफल हुन सकेको छैन ।’
खड्काले फागुनअघि सम्मेलन गर्ने अवस्था नरहेको बताए । कांग्रेसले फागनुमा महासमिति बैठक डाकेको छ ।
कर्णाली प्रदेश सम्मेलन पनि फागुनअघि हुने सम्भावना नरहेको प्रदेश सभापति ललितजंग शाहीले बताए । जाडो महिनामा जिल्ला सम्मेलनहरु समेत हुन नसकेको जनाउँदै शाहीले अनलाइनखबरसँग भने, ‘यो समयमा हिमाली जिल्लाको सम्मेलन हुन सक्दैन । महासमिति पछि प्रदेशको सम्मेलन गर्ने सोंचमा छौं ।’
कांग्रेसको विधान अनुसार वडा तहले वर्षमा दुईपटक र त्यस माथिका संरचनाले वर्षमा एकपटक सम्मेलन गर्नुपर्छ । विधानमा व्यवस्था भएपनि यसअघि सम्मेलन गर्ने प्रचलन कांग्रेसमा थिएन । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मातहतका संरचनाको सम्मेलन गर्न दुई पटक परिपत्र गरेका थिए । विधानको व्यवस्था र सम्मेलनको प्रारुपसमेत तयार गरेर परिपत्र गरेका थिए ।
विधानको व्यवस्था र महामन्त्रीहरुको पत्रपछि कांग्रेसमा सम्मेलन भइरहेको छ । संघीयतापछि पहिलोपटक कांग्रेसले पाँच प्रदेशको सम्मेलन गरेको छ । प्रदेश सम्मेलन गर्नेमा पहिलो प्रदेश लुम्बिनी बनेको थियो ।
लुम्बिनी प्रदेशले मंसिर १६ र १७ गते, गण्डकी प्रदेशले पुस ३ र ४ गते, मधेश प्रदेशले ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीले पुस ९ गते प्रदेश सम्मेलन गरेको थियो ।