काठमाडौं- सरकारले वैदेशिक रोजगारीको लागि रसिया जान रोक लगाउँदै श्रम स्वीकृति दिन बन्द गरिसकेको छ । तरपनि रोजगारीको लागि रसिया पठाइदिने भन्दै बिचौलियाहरुले नेपाली युवालाई ठग्ने क्रम रोकिएको छैन ।
यसैबीच रोजगारीको लागि रसिया पठाउने बहानामा रकम संकलन गरी फरार भएको आरोपमा एक जना पक्राउ परेका छन् । रसिया पठाइदिने भन्दै बेरोजगार युवासँग रकम संकलन गरी फरार रहेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका– ६ घर भई हाल कीर्तिपुर नगरपालिका– १० बस्ने बर्ष २८ को सरोज थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाई एक प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाई सात लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पीडितसँग पटक पटक गरी उक्त पैसा लिएर सम्पर्कविहीन अवस्थामा रहेका उनलाई खोजतलासको क्रममा कीर्तिपुर पाँगा दोबाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।