काठमाडौं - स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले राससलाई जानकारी दिए । उनले भने “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।”
व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ ।
पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए ।