राजनीतिक दलका चुनावी वाचा पल्टाउने हो भने प्रत्येकको घोषणापत्रमा ‘स्वदेशमै रोजगारी’लाई प्राथमिकतामा राखिएको छ । तर चुनावको एक वर्ष नबित्दै दलहरुको यो वाचा भुलिसकेका छन् । चुनावमा दलको पछि लागेर स्वर सुकाउँदै नारा घन्काउने युवाहरु पनि घोषणापत्र फालेर रोजगारी खोज्दै विदेशतिर लम्किने क्रम बढ्दो छ ।
पुस महिनाको तथ्याङ्कमात्र हेर्ने हो भने पुष्टि हुन्छ रोजगारीको हाहाकार नेपालमा कसरी बढेको छ भनेर । पुसमा मात्रै झण्डै ६६ हजार नेपाली रोजगारीका लागि विदेसिएका हुन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस महिनामा ६५ हजार ८१३ जना नेपाली रोजगारी खोज्दै १०५ वटा मुलुकमा पुगेका हुन् । मंसिरमामात्रै ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
देशमा आर्थिक सुधारको तथ्याङ्क पेश गर्ने सरकारका लागि यो आँकडा गतिलो झापट हो । कृषि प्रधान देशको गफ हाँक्ने नेताहरुले न त किसानलाई सिँचाईको व्यवस्था गरिदएको छ न त समयमै मलको । यतिमात्र हैन बजार प्रवद्र्धनका लागि पनि सरकार अनुदार देखिन्छ । कृषि क्षेत्रमा ऋण दिन उत्तिकै झन्झटिलो प्रक्रिया छ । यसका कारण युवाहरु विदेशिने क्रम बढेको हो । विभागले जारी गरेको डाटा औपचारिक रुपमा देश छाड्नेका सूची हो । अनौपचारिक रुपमा भिजिट भिसामा देश छाड्नेका सूची पनि लामै छ । जुन डाटा राज्यसँग छैन ।
रोजगारीको खोजीमा जानेको सूचीमा धेरैजसो तराई क्षेत्रका छन् । यो मिटर ब्याजको असर पनि हो । साहुबाट लिएको ऋणको मिटर ब्याज तिर्न बाध्य किसानका छोराछोरीले जसरी पनि कमाउन देश छाड्नुपर्ने अवस्था आएको छ । सरकार मिटर ब्याज प्रकरणमा पीडितहरुलाई थामथुम बनाएर मिटर ब्याजी पोसाउने कार्यमा लागिसकेको प्रमाणका रुपमा यसलाई लिन सकिन्छ ।
धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । त्यसपछि झापा, मोरङ, सिरहा, महोत्तरी, रुपन्देही, सुनसरी, चितवन, स्याङ्जा, सुर्खेत, सर्लाही, तनहुँ, दाङ, नवलपरासी पूर्वबाट रोजगारीका लागि देश छाड्नेको सूचीमा छन् ।
उनीहरुको पहिलो रोजाई युएई देदिएको छ । जहाँ १६ हजार ३८५ जना पुसमा पुगेका छन् । यसैगरी साउदीमा १४ हजार ७०३ र कतारमा १३ हजार १४ जना पुगेका छन् । खाडी मुलुकमा काम गर्न पठाएर नेताहरुले देश बर्बाद् पारे भनेर चुनाव जित्दै सत्तामा पुगेका नयाँ दलले पनि यो विषयमा कुनै सम्बोधन गरेका छैनन् । दलका नेताहरु आफ्नै आसेपासे र आफन्तलाई नियुक्ती गर्न व्यस्त छन् ।