- नागमती ड्यामको उचाइ ९४.५ मिटर, लम्बाइ ५५३ मिटर र चौडाइ २६० मिटरभन्दा बढी हुने । तालको भण्डारण क्षमता ८.८ मिलियन मिटर क्युब (एमसिएम) हुने ।
- यस ड्यामको मुख्य उद्देश्य बागमतीमा प्रवाह गरिने पानीको बहाव ४५० लिटर प्रतिसेकेन्ड (सुक्खा नौ महिना), मेलम्ची खानेपानी पानी प्रशोधन केन्द्रमा ४५० लिटर प्रतिसेकेन्ड (तीन महिना) र जलविद्युत् उत्पादन १.८६ मेगावाट रहेको छ ।
- धाप ड्यामबाट हाल विभिन्न नौ चाडपर्वमा १४ दिन बागमती नदीमा पानी छोड्न सुरू गरिएको छ । ड्याम बनेपछि हालसम्म मेलम्ची खानेपानी आयोजनामा पानी कम भएका बेला ३० करोड लिटर पानी सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा सोधभर्ना गर्ने गरी पठाइएको छ ।
काठमाडौं– बागमतीमा पानीको बहाव बढाएर नदी थप सफा बनाउने उद्देश्यसहित शिवपुरीमा अर्को बाँध (ड्याम) बन्ने भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित वडा १ मा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा नागमती ड्याम बन्न लागेको हो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा अधिकार सम्पन्न बागमती सुधार आयोजनामार्फत सात वर्षअघि विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको नागमती ड्यामको निर्माण चरण यसै वर्षबाट अघि बढ्ने बताइएको छ ।
धाप ड्याम निर्माण सफलतापछि त्यहाँबाट केही तल नागमती ड्याम बनाउन लागिएको बागमती सुधार आयोजना, आयोजना कार्यन्वयन सिँचाइ एकाइका इञ्जिनियर निश्चल छत्कुलीले बताए ।
ड्याम बनाउनका लागि सम्पूर्ण सर्भे पूरा भइसकेको र एक वर्षभित्र यस क्षेत्रमा सडक बनाउने उनले बताए । यो आयोजनामा सात हजार रुख र ८५ हजार बुट्यान कटान गर्ने तयारी भइरहेको इञ्जिनियर छत्कुलीले बताए ।
‘इआइए सहमति अन्तिम चरणमा छ । हामीले गत वैशाखमा प्रतिवेदन पेस गरेका थियौं । पुस १६ गते परिमार्जित प्रतिवेदन पेस गर्नका लागि पत्र आएको छ,’ उनले भने ।
कस्तो हुने छ ड्याम ?
वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले ड्याम बनाउन लागिएको हो । उपत्यकाको मध्यभागबाट पूर्वतर्फ करिब २१ किलोमिटर दूरीमा निर्माण सम्पन्न भइसकेको धाप ड्याम र अब बन्ने नागमती ड्यामबीचको दूरी १.८ किलोमिटर हुने छ । बागमती नदीको प्रमुख शाखा नागमती नदीको मूलखर्कमा कूल २५ अर्ब रुपैयाँ लागतमा बन्ने नागमती ड्याम आयोजनाअन्तर्गत पूर्वतयारीको काम सुरू भइसकेको छ । नागमती नदी सुन्दरीजलमा पुगेपछि बागमती नदीमा मिसिन्छ ।
आयोजनाअन्तर्गत पर्या–पर्यटनको विकास, पानीको व्यवस्थापन, संस्थागत संरचना विकास, बहुउद्देश्यीय ड्याम र १.८६ मेगावाट क्षमताको जलविद्युत् निर्माणसमेत गरिने बागमती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इञ्जिनियर छत्कुलीले जानकारी दिए । ड्यामको उचाइ ९४.५ मिटर, लम्बाइ ५५३ मिटर र चौडाइ २६० मिटरभन्दा बढी हुने छ । तालको भण्डारण क्षमता ८.८ मिलियन मिटर क्यूब (एमसिएम) हुने छ । अमिबाको आकारको यो ड्यामस्थल समुद्री सतहदेखि एक हजार ९१० मिटर उचाइमा रहेको छ ।
यसको मुख्य उद्देश्य बागमतीमा प्रवाह गरिने पानीको बहाव ४५० लिटर प्रतिसेकेन्ड (सुख्खा नौ महिना), मेलम्ची खानेपानी पानी प्रशोधन केन्द्रमा ४५० लिटर प्रतिसेकेन्ड (तीन महिना) र जलविद्युत् उत्पादन १.८६ मेगावाट रहेको छ ।
आयोजनाका अनुसार नागमती ड्यामका लागि ५५३ मिटर लामो ड्याम बनाइने छ । यो तालको उचाइ ९४ मिटर अग्लो हुने र लगभग तीन किलोमिटर क्षेत्रफलमा पानी फैलने छत्कुलीको भनाइ छ ।
नागमती ड्याम आयोजना नेपाल सरकार र नागमती वातावरण तथा जल आयोजना, (नेवा) एडिबी गरी नाम राखिएको यो आयोजनाका लागि पहिलो वातवरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । ‘इआइए अन्तिम चरणमा छ । वन मन्त्रालयमा पेस भएको छ । वातावरणीय प्रतिवेदनको समितिले छलफल गरिसकेको छ,’ समितिका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इञ्जिनियर उद्धव नेपालले भने ।
बर्खाको पानी जम्मा हुने नागमतीको रुख कटान र सडकको काम यही वर्षको जुलाईबाट सुरू हुने उनले बताए । भौतिक संरचना निर्माणको थालनी भने जुलाई २०२५ बाट हुने नेपाल बताउँछन् । ‘२०२५ जुलाईबाट भौतिक संरचना बन्छ । रुख काट्ने र बाटो बनाउने काम २०२४ को जुलाईबाट सुरू हुन्छ,’ नेपालले भने ।
भूकम्पीय जोखिम
काठमाडौं र यस वरपरको क्षेत्र भूकम्पीय दृष्टिले खतरापूर्ण क्षेत्र हो । काठमाडौंको टुप्पोमा यति ठुलो ड्याम बनेर भूकम्प गए के होला ? धेरैले यसबारे आशंका गरेका छन् । आयोजनाले भने यसबारेमा विस्तृत अध्ययन गरेरै नै ड्याम निर्माण अघि बढाएको जनाएको छ । ‘भूकम्पीय दृष्टिकोणले यो अन्तन्तै उपयोगी ड्याम हो । यो झ¥याम्म सिसा फुटेझैँ फुट्दैन,’ इञ्जिनियर छत्कुलीले भने, ‘क्रिटिकल कन्डिसनमा पनि यो विस्तारै चर्किंदै जाने, भत्किँदै जाँदा पनि अर्ली वार्निङ गर्न सकिने र रिजर्भेयर खाली पनि गर्न सक्छौं । ३० घन्टामा ५० प्रतिशत पानी खाली बनाउन सकिने छ ।’
भूकम्पीय जोखिम बुझ्न २० स्थानमा ड्रिल गरिएको र ७५४ मिटरको जियोलोजिकल म्यापिङसमेत गरिएको छ । यसबारे विभिन्न ल्याब परीक्षणसमेत भइसकेको इञ्जिनियर छत्कुलीले बताए । ‘ड्याम १.२ पिजिए र अन्य सहायक संरचना ०.८५ पिजिएमा डिजाइन भएको हो,’ उनले भने । १.२ पिजिए भनेको नौ रेक्टरसम्म भूकम्प थाम्न सक्ने संरचना भएको उनले बताए । त्यसैगरी ड्याम फुटेको अवस्थामा डुबान हुने क्षेत्र र पर्ने असरबारे पहिचान गरिएको आयोजनाको दाबी छ ।
सिनामंगलसम्म बाढी आउँदाको बहाब र असरबारे अध्ययन गरिएको उनले बताए । ‘आयोजनास्थलमा खतरा आइपरे त्यो क्षेत्र वरपर प्रवेश भएका व्यक्तिहरुको मोबाइल डिभाइस र वरपरका क्षेत्रमा खतराको सूचना प्रवाह हुने सिस्टम यहाँ बन्ने छ,’ छत्कुलीले भने ।
सौन्दर्यकरण धमाधम
बागमतीको पानी सङ्लो बनाउन आयोजनालाई एडिबीले नदी किनारामा सौन्दर्यकरण गर्न १२ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरिसकेको छ । गोकर्णेश्वरको उत्तरगया, गोकर्ण ब्यारेज, अत्तरखेल, मकलबारी, जोरपाटी क्षेत्रको बागमती किनारामा आयोजनाअन्तर्गत ढल व्यवस्थापन, बगैँचा निर्माण सम्पन्न भइसकेको छ । सम्पन्न भएका आयोजना एडिबीले स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको छ ।
उत्तरगया क्षेत्रमा एडिबीले ५०० मिटर लामो सिँढी, विद्यालय भवन, पाटी निर्माण गरेको गोकर्णेश्वरका मेयर दीपक रिसाल बताउँछन् । ‘एडिबी र अधिकार सम्पन्न बागमतीको सहयोगका कारण यो क्षेत्र निकै राम्रो भएको छ,’ रिसाल भन्छन्, ‘बनेका भौतिक संरचना हामीलाई हस्तान्तरण भइसकेको छ ।’
बागमती सङ्लो बनाउन र नदी प्रणाली प्रदूषणमुक्त बनाउने योजनासहित एडिबीको ऋण र अनुदानमा धापदेखि तिलगंगामुनि सिनामंगलसम्म मूल क्षेत्रमा बागमती सुधार आयोजना सञ्चालन जारी छ ।
गोकर्णेश्वर वडा ४ क्षेत्रमा आयोजनाले ढल व्यवस्थापनका लागि नदीको दुईतिर सडकमुनि करिब सात किलोमिटर ढल तयार गरिसकेको छ । उक्त ढल गुह्वेश्वरीस्थित ढल प्रशोधन केन्द्रमा पुगेर प्रशोधन भएपछिमात्र बागमतीमा खसालिने आयोजनाका उपनिर्देशक उद्वव नेपालले बताए ।
यतिमात्र हैन बागमतीलाई सफा बनाउने योजनाअन्तर्ग
त यो क्षेत्रमा ११ वटा ड्याम बनेका छन् भने दुईतर्फी सडक, पैदलमार्ग, साइकल ट्र्याक र हरियाली बगैँचा बनेका छन् । ती क्षेत्रमा बिहान र बेलुका भीड नै लाग्ने मेयर रिसालले बताए ।
‘गोकर्ण ब्यारेज मुनिको नदीको दुईतिर बिहान बेलुका मेला नै लाग्छ । निकै राम्रो भएको छ,’ मेयर रिसाल भन्छन्, ‘किनारा र साइकल ट्र्याक बनिसकेपछि यसलाई जोगाउन र सफा गर्न हामीले आयआर्जनमूलक कार्यक्रमसहितको योजना बनाइरहेका छौं ।’
आयोजनाका इञ्जिनियर मिहिरचन्द्र आचार्यका अनुसार गोकर्ण ब्यारेजबाट गौरीघाटसम्म ६.१ किलोमिटर लामो ढल बनेको छ भने सिनामंगलतिर ०.९ किलोमिटरको ।
’बागमती सौन्दर्यकरण गोकर्ण ब्यारेज जिरो प्वाइन्ट हो । यहाँबाट गुहेश्वरीसम्म ६.१ र उतापट्टी सिनामंगलतिर ०.९ किलोमिटर छ । ११ वटा ड्याम बनेका छन् । दुई मिटर चौडाइको फुटपाथ र दुई मिटर चौडाइको साइकल ट्र्याक छ । त्यसैगरी साइटमा सात मिटर ग्रिनरी पार्क बनाएका छौं,’ इञ्जियर मिश्रले भने ।
आयोजनाले बागमती र यसका सहायक नदीहरुको उद्गम थलोदेखि कटुवाल दहसम्म नदी सफाइ गर्ने लक्ष्य राखेको छ । एडिबीले मूल क्षेत्र र पशुपतिदेखि बल्खु क्षेत्रसम्मको ब्युटिफिकेसनका लागि ३७ अर्ब रुपैयाँ सहयोग गरिसकेको छ । सरकारले बागमती सफाइका लागि अहिलेसम्म २१ अर्ब रुपैयाँ खर्चिसकेको छ ।
धाप ड्यामको काम के ?
बागमतीलाई सफा बनाउन सबैभन्दा पहिले यसको मूल सफाइमा आयोजनाले ध्यान दिएको छ । मूल सफाइ र पानीको बहाब बढाउन आयोजनाले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन निकुञ्जको मध्य क्षेत्रमा धाप ड्याम निर्माण सम्पन्न गरेको छ ।
ड्यामको पानी सुक्खायाममा बागमतीमा बगाउने गरिएको आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए । ‘यस ड्यामबाट जलजन्य पर्यावरणको सुधारका साथै धार्मिक, सांस्कृतिक पर्यटनको विकास तथा भूमिगत जल पुनःभरणमासमेत योगदान पुगेको छ । हाल विभिन्न नौ चाडपर्वमा १४ दिन बागमती नदीमा ड्यामबाट पानी छोड्न सुरू गरिएको छ,’ कण्ठले भने ।
त्यसैगरी, ड्याम बनेपछि हालसम्म मेलम्ची खानेपानी आयोजनामा पानी कम भएका बेला ३० करोड लिटर पानी सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा सोधभर्ना गर्ने गरी पठाइसकिएको कण्ठले बताए ।
सन् २०१५ अक्टोबर ९ मा सम्झौता भई सन् २०२२ अक्टोबर १५ मा निर्माण सम्पन्न भएको यो ड्याम करिब ५२ करोड रुपैयाँमा लागतमा निर्माण भएको हो । ड्याम निर्माणअघि यो क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट वार्षिक एक करोड ८० लाख रुपैयाँ राजस्व संकलन हुने गरेकामा अहिले वार्षिक करिब पाँच करोड रुपैयाँ राजस्व संकलन भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
बागमती नदी प्रणालीमा बागमतीसहित १९ खोला छन् । नदी सफा बनाउने अहिलेको मुख्य समस्या हो ढल व्यवस्थापन । हालसम्म यो योजनामा ७३.२८ किलोमिटर तटबन्ध निर्माण, ३२.५६ किलोमिटर सडक कालोपत्रे र मुख्य ढल ८८.६३ किलोमिटर पूरा भइसकेको छ । त्यसैगरी बल्खुसमम मुख्य ढल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
२८ वटा सत्तल मठमन्दिर पुनर्निर्माण तथा जीर्णोद्वार सकिसकेको छ भने गुह्वेश्वरीमा १६.२ एमएलडी क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरी आयोजना कार्यान्वयन निर्देशनालय (पिडिडी)लाई हस्तान्तरण गरिएको छ ।
गोकर्ण क्षेत्रमा ढल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगे पनि आयोजनालाई टुकुचाको फोहोर पानी प्रशोधनका लागि भने अप्ठेरो भइरहेको छ । ठाउँ अभावका कारण यहाँको फोहोरपानीको प्रशोधन केन्द्र निर्माण गर्न सम्झौताको अन्तिम चरणमा रहेको आयोजनाले जनायो । नदी क्षेत्रमा स्थानीय सभ्यतासँग जोडिएका सत्तल, मठमन्दिर र एतिहासिक सम्पदा जोगाउन र जीर्णोद्वारमा पनि एडिबीले लगानी गरेको छ । सिनामंगलबाट तल बल्खुसम्म बनेका उपआयोजनाहरु हस्तान्तरण हुन बाँकी रहेको एडिबीले जनाएको छ ।
यही आयोजनाले यतिको समय र पैसा खर्चंदा पनि फेरि प्रश्न उठ्छ– अब कहिलेबाट पशुपति क्षेत्र हुँदै बहने बागमतीमा सफा पानीले स्नान गर्न पाइन्छ ?
‘पानीको बहाब नबढाइ बागमती सफा हुन्न । यसका लागि नागमती आयोजना पूरा हुने समय कुर्नुको विकल्प देखिँदैन,’ आयोजनाका उपनिर्देशक उद्धव नेपाल भन्छन् ।