- मन्दिरको प्राणप्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित
- यता नेपालमा पूर्वदेखि पश्चिममा खुसीयाली मनाइएको छ । जनकपुरमा सवा लाख दीप प्रज्ज्वलन गरियो भने पशुपतिनाथमा दीप प्रज्वलन गरिएको छ
- मन्दिरमा प्राणप्रतिष्ठाका दिन भारतभर सार्वजनिक बिदा थियो भने अयोध्यामा प्राणप्रतिष्ठाको उल्लासमा नेपालका केही स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन्
काठमाडौं– सोमबार भारतको अयोध्यामा निर्माण भएको राम लल्लाको मन्दिरमा प्राणप्रतिष्ठा गरिएको छ । उत्तर प्रदेशको अयोध्यामा रहेको राममन्दिरमा दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राणप्रतिष्ठा गर्दा नेपालको वीरगञ्जदेखि पशुपतिनाथसम्म नै उत्सव फैलिएको छ ।
जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप बाल्नुका साथै विशेष आरती आयोजना गरिएको छ । राजर्षि जनक र राजा दशरथकै समयदेखि मिथिला र अवधबीच रहिआएको सम्बन्धलाई अझ प्रगाढ बनाउन राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा यस्तो गरिएको स्थानीयले बताएका छन् ।
वीरगञ्जमा नवनिर्मित रामजानकी मन्दिरमा राम र सीताको मूर्तिको प्राणप्रतिष्ठा गर्ने क्रममा बिहानै कलश यात्रा निकालिएको थियो । अयोध्यामा राम प्राणप्रतिष्ठाकै समय पारेर वीरगञ्जमा नवनिर्मित रामजानकी मन्दिरमा राम, माता सीता र हनुमानको मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो ।
यता अवसरमा धनगढीमा राम उत्सव तथा शोभायात्रा निकालिएको थियो । कञ्चनपुरको बेलौरी बजारमा रहेको कालिका मन्दिरमा अखण्ड रामायण पाठ गरिएको थियो । यसै अवसरमा काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरमासमेत दीप प्रज्ज्वलन गरिएको थियो ।
धर्मनिरपेक्षता हटाउनुपर्छ ः कोइराला
भारतको अयोध्यामा राममन्दिर उद्घाटन हुँदै गर्दा नेपालको प्रमुख पार्टी नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्नेतर्फ संकेत गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवासमेत उपस्थित रहेको कार्यक्रममा कोइरालाले यस्तो संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने माग गरेका हुन् ।
‘हामीले धर्म निरपेक्ष भनेर लेख्यौं । धर्म न निरपेक्ष हुन्छ, न सापेक्ष । धर्म स्वतन्त्र हुन्छ । धर्मनिरपेक्ष भनेको ‘नेगेटिभ’ सोच हो,’ पर्वतको कुश्मामा सोमबार नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘धर्मनिरपेक्षता हटाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’
मन्दिरमा प्राणप्रतिष्ठाका दिन भारतभर सार्वजनिक बिदा थियो भने अयोध्यामा प्राणप्रतिष्ठाको उल्लासमा नेपालका केही स्थानीय तहले सार्वजनिक बिदा दिए । यसरी बिदा दिनेमा कपिलवस्तुको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिका रहेका छन् । त्यसैगरी सप्तरीको राजविराज नगरपालिकाले पनि सोमबार सार्वजनिक विदा दिएको छ । रामको मन्दिरमा प्रयोग गर्न भनेर नेपालको कालीगण्डकीबाट शालिग्राम समेत अयोध्या लगिएको थियो ।
राम लल्लाको मन्दिर यस्तो
राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए । समारोह आयोजना भएकामा भक्त तथा अतिथिहरूले ‘जय श्री राम’ को नारा लगाएका थिए ।
समारोहमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित थिए । भव्य मन्दिरमा समारोहका लागि आठ हजारभन्दा धेरै अतिथिलाई आमन्त्रण गरिएको थियो ।
ऐतिहासिक प्राणप्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिले भाग लिए । समारोहमा विभिन्न आदिवासी समुदायका प्रतिनिधिसहित सबै क्षेत्रका मानिस पनि सहभागी भएका छन् ।
राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको हो । यसको लम्बाइ (पूर्व–पश्चिम) ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको छ । समग्रमा मन्दिरमा कूल ३९२ स्तम्भ र ४४ ढोका छन् ।
मन्दिरको स्तम्भ र पर्खालहरूमा हिन्दू देवीदेवताका साथै देवीहरूका जटिल मूर्तिकला प्रदर्शित छन् । भुइँतलामा रहेको मुख्य गर्भगृहमा रामको बाल्यकालको स्वरूप (श्री राम लल्लाको मूर्ति) राखिएको छ ।
मन्दिरको मुख्य प्रवेशद्वार पूर्वी दिशामा रहेको छ । त्यहाँ सिंहद्वार हुँदै ३२ सिँढी चढेर पुग्न सकिन्छ । मन्दिरमा कूल पाँच मण्डप (हल) नृत्य मण्डप, रंग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप छन् । मन्दिर नजिकै ऐतिहासिक इनार (सीता कूप) छ । यो इनार प्राचीनकालको हो ।
मन्दिर परिसरको दक्षिणपश्चिमी भागमा रहेको कुबेर टिलामा भगवान् शिवको प्राचीन मन्दिरको जीर्णोद्धार गरिएको छ भने जटायुको एउटा मूर्ति पनि स्थापना गरिएको छ । मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कंक्रिट (आरसिसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ । मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन । जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ ।
मन्दिर परिसरमा एउटा ढल प्रशोधन संयन्त्र, पानी प्रशोधन संयन्त्र, अग्नि सुरक्षाका लागि पानीको आपूर्ति र एउटा स्वतन्त्र पावर स्टेसन राखिएको छ ।
सन् २०२० अगस्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए । सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राणप्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए । मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने भातरीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
किन विवादित बन्यो यो ठाउँ ?
अहिले राममन्दिर रहेको स्थानमा १६औं शताब्दीमा बनेको बाबरी मस्जिद थियो । मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो । मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए । सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राममन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो ।
हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन् । तर मुस्लिम समुदायले भने आफूहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन् । यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । त्यसपछि भड्किएको दंगामा दुई हजार मानिसको ज्यान गएको थियो ।
हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले । त्यसैले हिन्दू र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो ।
तर भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय बेञ्चले अयोध्याको विवादित जग्गामा हिन्दूहरुकै हक लाग्ने फैसला गरेको थियो । साथै ट्रस्टमार्फत मन्दिर बनाउन र मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि अदालतले आदेश दिएको थियो ।
केही हिन्दू सन्त नेता र विपक्षीहरुले भने राममन्दिरको प्राणप्रतिष्ठाको कार्यक्रम बहिस्कार गरेका छन् । प्राणप्रतिष्ठालाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् ।
पछिल्लो समय शशांकले धर्मनिरपेक्ष राष्ट्रको बारेमा आवाज उठाउँदै आएका छन् । उनलाई कांग्रेस नेता शंकर भण्डारीको साथ रहेको छ । कांग्रेस सभापति देउवालेसमेत लुम्बिनी कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस विषयमा सोच्न सकिने बताएका थिए ।