काठमाडौं (प्रस)– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाउने बहानामा रकम संकलन गरी ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । क्रोएसिया र ओमान पठाइदिने भन्दै बेरोजगार युवाहरुसँग रकम संकलन गरी फरार रहेको आरोपमा कोषराज नेपाली र उज्वलराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीको वुटवल उपमहानगरपालिका–४ घर भई हाल कागेश्वरी मनोहरा बस्ने २९ वर्षीय नेपालीले प्रेमबहादुर खत्रीसमेतलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई एक प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ३० हजार रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । अजय थापा र रविन थापा भनेर चिनिने नेपालीलाई पीडितसँग पैसा लिएर सम्पर्कविहीन भएको अवस्थामा खोजतलास गर्दा कागेश्वरी मनोहराबाटै पक्राउ गरिएको बताइएको छ । प्रहरी अनुसन्धानबाट नेपालीले अजय थापाको नामबाटसमेत नगारिकता लिएको खुलेको छ ।
यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगारपालिका घर भई हाल बौद्ध बस्ने २५ वर्षीया पाण्डेले पीडितलाई मासिक ६० हजार रुपैयाँ तलब हुनेगरी ओमानको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ । पाण्डेले विवेक सुनारसहित तीन जनाबाट पाँच लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रहरीले उल्लेख गरेको छ । फरार अवस्थामा रहेका पाण्डेलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।