पहिलोपटक तीन दिनको अवधिमा हरियो पासपोर्टमा इजरायलको भिसा लागेको थियो । विदेश भन्ने सुनेको तर कसरी जाने भन्ने अत्तो पत्तो थिएन । सरकारी विद्यालयमा कक्षा ४ पुगेर एबिसिडी सिकेको वैरागी माइला भाषाविना कसरी विदेश पुग्ने हो भन्ने डर पनि थियो । वैरागी माइला विदेश यति हतारमा जाँदै थियो कि भनिसाध्य नै छैन ।
न त ऊ यो देशको राजनीतिज्ञ थियो, न प्रशासक । कुनै व्यापारी पनि थिएन । तर यति छिटो इजरायलजस्तो देशको भिसा पाउँदा उसलाई कहिले इजरायल पुगिएला जस्तो लागेको थियो । द्वन्द्वरत देश भए पनि इजरायलले प्रविधिमा विश्वलाई नै जितेको कारण पनि उसले त्यो देश कस्तो छ ? कसरी विश्वमा आफूलाई स्थापित गरेको छ भन्ने चासो राखेको थियो ।
वैरागीको ताल हेर्दा ऊ विदेश त के आफ्नै प्रदेश पनि जान सक्ने हो कि होइन भन्थे उसका मित्रहरु । धेरैले विदेश घुमाउँछु भन्दै अनगिन्ती आश्वासन नदिएका पनि होइन उसलाई । भाग्यले साथ दिएपछि भन्ने उखानजस्तै उसलाई पहिलो भिसा त्यसमाथि पनि तीन दिनभित्रै इजरायलको लागेको थियो । उकुसमुकुस भइराखेको थियो ।
मंसिरको चिसोमा उसलाई चिटचिट पसिना आइरहेको थियो । भोलि त पहिलोपटक ठूलो हवाइजहाज चढेर विदेश जाने भएकाले वैरागी उकुसमुकुस भइरहेका छन् । डर पनि लागिरहेको छ । कतिले अंग्रेजी बोल्दैन है हिव्रु जान्नुपर्छ भन्दै अत्याइदिएका थिए । त्यही भएर पनि होला पहिलोपटक गाउँ छाड्न लागेको, सहर हुँदै देश छाडेर जाँदै पो छ त !
बिहान सबेरै गलामा सयपत्री माला, रातो अक्षताको टीका लगाएर घरबाट बिदा भएका वैरागीको मुटुको धड्कन नबढेको होइन । कतै हराउने पो हो कि ! ठीकैको झोलाको भारी बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासम्म प्रभुल्लित मन तर डरले कता–कता अल्मलाएको जस्तो अनुहार बोकेर हिँड्दै थिए । विमानस्थल पुग्दाको समयसम्म उसले सोचिरहेको थियो हवाइजहाजमा विदेशी नै विदेशी हुने छन् । म जस्तो दुई–चारजना वैगारीमात्र पो त्यत्ति ठूलो हवाइजहाज चढ्दै छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा वैरागी अलमलियो । बसपार्क पुगिरहेको छु कि कुनै मेलामा । यति भीड थियो कि उबेला बिजुली बत्तीको पैसा तिर्न जाँदा बसेको लाइनको याद गरिरहेका थिए ।
करिब एक घण्टाको लाइन छिचोल्दै वैरागी बल्ल गन्तव्य जाने ढोका पुग्यो । त्यहाँबाट दुई लाइन थियो । एउटा लाइन कतार, दुबई, मलेसियालगायतका देशमा जाने कामदारको । अर्को लाइन थियो– युरोप अमेरिका, अस्ट्रेलियाका जानेहरु र वैरागीजस्ता फिरन्तेहरुका लागि । पहिलो लाइनमा बसेकाहरुको अनुहार निकै मलिन थियो, निकै पीडाले मन छियाछिया भएको जस्तै । एकले अर्कालाई पनि चिन्न नसकेको जस्तो । टुहुरा बालबालिका जसले माया स्नेह केही नपाएको जस्तो अनि उजाड बस्ती जस्तै । दोस्रो लाइनमा बसेकाहरु भने कुनै ठूलो लडाइँ जितेर आएको सिपाहीजस्ता निकै खुसी देखिन्थे । एकले अर्कालाई पहिलेदेखि नै चिनेको जस्तो पुरानो परिचितजस्तै देखिन्थे । त्यही लाइनमा वैरागी अलमलिएका थिए ।
लाइनमा बसेका वैरागी सुनिरहेका थिए । कोही भन्दै थिए, बल्ल शान्ति पाइयो, कोही भन्दै थिए अब त ज्यान जाला पनि यो देश फर्कन्न । बा आमालाई पनि जतिसक्दो चाँडो उतै लाने हो । के गर्न यो देशमा बसेर । नेताको भजनमण्डलीहरु, भ्रष्ट कर्मचारी र गुण्डाहरुलाई मात्र ठीक छ । लाखौं खर्चिएर पढ्यो रोगजारी नपाउने ।
खै किन हो विमानस्थल पुग्नुभन्दा अगाडिको वैरागीको मनोभाव र विमानस्थल पुगेपछिको अवस्थाले उसलाई कता–कता चिमोटिरहेको थियो । विमानमा चढेपछि बल्ल वैरागीले थाहा पायो विदेश जानेहरुको ठूलै मेला पो लाग्ने रहेछ । अनि जनता विदेश जानेहरुबीचको खाडल पनि ठूलै रहेछ । त्यहाँ आफू बेचिएर देश छाड्ने र देशले बेचेर पछि आउनेहरुको विभेदमा त्यही फर्कने नै पर्दो रहेछ ।
पहिलो लाइनमा बसेर विदेश जान लागेकाहरुलाई त्यहाँका कर्मचारीहरुले पनि दोस्रो दर्जाको व्यवहार गरेको देखेर वैरागी साँच्चै नै वैराग्य नै मानिरहेका थिए । जसले रगत पसिना बगाएर पठाएको रेमिट्यान्सले बाँचेको कर्मचारीले निकै नै पेलिरहेको थियो । तर जो यो देशमा कहिल्यै नफर्कने सोचसहित निस्केको अर्को लाइनका मानवहरुलाई भने निकै नै सम्मानजनक व्यवहार गरेको देखेपछि उसले मनमनै भन्न थाल्यो । साँच्चै मेरो देश त ‘मान्छे बेच्ने देश’ पो बन्दै रहेछ ।
वैरागीसँग कुरा गर्ने खासै कोही थिएन । तर मनमनै देश बनाउँछु भन्ने ठेकेदारहरुलाई सरापी राखेको थियो । बेचे यसैगरी मान्छे बेच ! वैरागी पहिलो हवाइजहाजबाट करिब छ घण्टाको दोहा यात्रामा थिए । ऊसँगै थिए, कतारमा काम गर्न हिँडेका हरिदास । पहिले पनि उनी तीनपटक कतारमा काम गर्न गइसकेका रहेछन् । वैरागीले हरिदाससँग भने– अनि फेरि किन जान लागेको त ?
‘के गर्नु हजुर जान त कहाँ मन थियो र ! देशले नै पटक–पटक गरी बेचेको हो नि । दुईपटक फर्केर आएँ, केही लाख कमाएको पनि थिएँ । यही केही गर्नुपर्छ भनेर कृषि कर्म गरेँ । तर उताबाट ल्याएको सबै घाटा । बैंकको चर्को ब्याज, पाइलैपिच्छेको कर । व्यवसाय सुरु गर्छु भनेदेखि सरकारी कार्यालयमा बुझाउनुपर्ने घूस,’ आँखाभरि आँसु पार्दै हरिदास भन्छन्, ‘जीवनभर साथ दिन्छु भन्ने स्वास्नीले पनि साथ छाडी । मेरो त नाम पनि हरिको दास, कर्म पनि नेता र विदेशीको दास भएँ हजुर !’ विचरा वैरागीले के नै पो गर्न सक्थ्यो । देश बनाउनेहरुले त ‘फ्रि भिसा, फ्रि टिकट’ भन्दै मत किनेकै छन् । निःशुल्क मान्छे बेच्छु भनेकै छन् ।
वैरागी छ घण्टाभन्दा अलि बढी समय हवाइजहाज चढेर दोहामा पुगेपछि विमानस्थलमा ओर्लंदै गर्दा गर्मीको धूपजस्तै थियो । बाहिर निस्कँदा बालुवाको रापको ताप वैरागीले खान भ्याइहाले । विमानस्थलभित्रै नेपाली नै नेपाली उनलाई विदेश छु भन्ने भान नै भएन । वैरागी करिब पाँच घण्टा अर्को हवाइजहाजका लागि प्रतीक्षा गर्नुपर्ने भएकाले विमानस्थल परिसरभित्रै बसे । धेरै नेपालीलाई भेटे । तर सबैको एउटै पीडा छ, एउटै भोगाइ छ । घरपरिवार छाडेर मदन पनि त्यसबेला भोट गएको मुनामदनमा पढेकै हो तर अहिले आफैं भोगिएको छ । त्यसबेलादेखि अहिलेसम्म पनि विदेशमा नगई नुन किन्न नसक्ने भएका छौं ।
वैरागीलाई हरिदासले जस्तै अर्का शिवदासले आफ्नो पीडा पोख्दै थिए । ‘खै हजुर, हामी त कस्तो देशका हामी प¥यौं । ‘मान्छे बेच्ने देश’का महान व्यक्तिहरु हौं हजुर हामी !’
शिवदासको दासी कुरा सुन्न खोजेका वैरागीको हवाइजहाज कुर्ने समयले नेटो काटिसकेको थियो । शिवदासको ‘मान्छे बेच्ने देश’ भन्ने शब्दले स्तब्ध वैरागी आँखाभरि आँशु पार्दै गन्तव्यका लागि हवाइजहाजतर्फ लागे । र, मनमनै भन्न थाले– के मेरो देश ‘मान्छे बेच्ने देश’ भएकै हो ? मनमनै वैरागी भन्छ– धन्य छौं देश बनाउने ठेकेदार हो, परिवर्तन गरिदिएछौं नेपाललाई विदेशीहरुको नजरमा बनाएछौं ‘मान्छे बेच्ने देश’ ।