काठमाडौं– कैलाली, घोडाघोडी नगरपालिका– २ स्थित सडकमा सु प प्र ०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका–५ बेलवा बस्ने २५ वर्षीय कालु बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–१५ मुक्तिनाथ टोलस्थित सडकमा प्रदेश ३ ०३ ००१ प ६०३४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय होम बहादुर गुरूङको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका–१ गोडियारी टोलस्थित सडकमा भुटाहा चोकबाट फुलचोकतर्फ जाँदै गरेको प्र १(०५२ प ३८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिरेन्द्र बहदारको मृत्यु भएको छ । उक्त मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पारस अस्पताल बिराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।