काठमाडौं– उत्पीडितहरूको नेतृत्वमा वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यका साथ नयाँ पार्टी घोषणा भएको छ । जनता समाजवादी पार्टी (जसपा) त्यागेका दलमर्दन कामीको अध्यक्षतामा ‘संयुक्त नागरिक पार्टी’ घोषणा भएको हो ।
नवगठित पार्टीले सर्वजातीय, समावेशी सामाजिक लोकतान्त्रिक व्यवस्था निर्माण, क्लस्टरका आधारमा शासकीय स्वरूप निर्धारण, जातीय जनसंख्याका आधारमा पूर्णसमानुपातिक निर्वाचन प्रणालीलगायत मुख्य लक्ष्य लिएको आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर कार्की, वरिष्ठ नेतामा कमलादेवी हेमचुरी, उपाध्यक्षहरूमा इन्द्रबहादुर राई, देवीलाल प्रसाईं, अष्टकुमारी लमिनी, कालीराम पुर्जा, होमबहादुर पुन, शैलेश विक, महासचिव विदुर अधिकारी, उपमहासचिव नरेश विश्वकर्मा, सचिवहरूमा साइमन तामाङ, रामबहादुर पाठक क्षेत्री, डिल्लीबहादुर तामाङ र राम महर्जन, कोषाध्यक्षमा विनय लामा, सहकोषाध्यक्षमा शशीकुमार विश्वकर्मा रहेका छन् ।
यस्तै सदस्यमा पूर्णिमा राई परियार, शेरबहादुर चुनारालगायत चुनिएका छन् ।अहिलेसम्मका उपलब्धिहरूको रक्षा गर्दै समावेशी, सामाजिक लोकतान्त्रिक व्यवस्था निर्माणका लागि उत्पीडितहरूको नेतृत्वमा यही फागुन ५, ६ र ७ गते प्रथम राष्ट्रिय भेला गरी पार्टीको पूर्ण केन्द्रीय समिति घोषणा गरिने जानकारी दिइएको छ । नवगठित भेला आयोजक समितिलाई पूर्वराजदूत डा. निर्मल विश्वकर्मा, सिडब्ल्युएनका अध्यक्ष डा. मित्र परियार, अभियन्ता प्रदिप घतान, पूर्ण विकलगायतले शुभकामना दिएका थिए ।
यसैबीच सोमबार बसेको पार्टीको प्रथम बैठकले गणेशप्रसाद विश्वकर्मा, शरिता नेपाली र सम्झना पुरी (लकान्द्री) लगायतलाई सदस्यमा मनोनीत गर्दै कार्यसमिति २५ सदस्यीय बनाउने निर्णय गरेको अध्यक्ष कामीले बताए । बैठकले उपमहासचिव नरेश विश्वकर्मालाई प्रचारप्रसार विभागको संयोजक बनाउने निर्णयसमेत गरेको छ ।