काठमाडौं– कैलाली, गोदावरी नगरपालिका– ५ गेटा आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ सय ६० ग्रामसहित सोही ठाउँ बस्ने ४५ वर्षीय राम नाथ रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले से १ प ९६६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रानालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका–२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्रामसहित सोही नगरपालिका(३ बस्ने २५ वर्षीय सुरेन्द्र साउँदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका–२ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने तागेन्द्र मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले मगरको घर तलासी गर्दा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।