- मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनले क्लिन स्विप
- कोशीमा गठबन्धन दल माओवादीकी उम्मेदवार चम्पादेवी कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित
- हेभिवेट नेता कृष्णप्रसाद सिटौलाको राजनीतिमा पुनरागमन
काठमाडौं– सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार थप पाँच जना सांसद निर्वाचित भएसँगै १७ सांसदसहित माओवादी राष्ट्रियसभामा पहिलो दल भएको हो ।
१९ जना सांसदका लागि भएको चुनावबाट माओवादीका कृष्ण अधिकारी (बागमती), मनरुपा शर्मा (गण्डकी), झक्कुप्रसाद सुवेदी (लुम्बिनी), विष्णु विक (कर्णाली) र रेणु चन्द (सुदूरपश्चिम) निर्वाचित भए । हाल माओवादीका उपाध्यक्षसहित राष्ट्रियसभामा १५ जना सांसद छन् । त्यसमध्ये तीन जनाको २० फागुनमा पदावधि सकिँदै छ । यसकारण पदावधि सकिन बाँकी १२ जना र बिहीबार निर्वाचित पाँच जना गरी माओवादीको १७ सांसद भएको हो ।
राष्ट्रियसभाको दोस्रो दल भने सत्ता गठबन्धनमै रहेको दल नेपाली कांग्रेस बनेको छ । बिहीबार भएको चुनावमा १० जना सांसद निर्वाचित भएपछि कांग्रेस १६ सिटसहित दोस्रो दल बनेको हो । १० सांसद वर्तमान संसद्मा रहेकामा २० फागुनपछि कांग्रेसका ४ जना सांसदको पदावधि सकिने हुँदा १६ सांसदसहित उक्त दल दोस्रो भएको हो ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका कृष्णप्रसाद सिटौला (कोशी), आनन्दप्रसाद ढुंगाना (मधेस), जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी (बागमती), किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार (गण्डकी), विष्णुकुमारी सापकोटा (लुम्बिनी), कृष्णबहादुर रोकाय (कर्णाली) र नारायण भट्ट तथा बलदेव बोहरा (सुदूरपश्चिम) निर्वाचित भए ।
राष्ट्रियसभामा खुम्चिएर तेस्रो दल भएको एमालेले १९ मध्ये एक सिट जितेको छ । एमालेबाट कोशी प्रदेशमा रुक्मिणी कोइराला राष्ट्रिय सभामा आएकी हुन् । एमालेका ९ जनाको पदावधि सकिन लागेको छ । यस आधारमा एमाले १० जना सांसदमा सीमित हुने भएको छ ।
सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादी आठ सिटसहित चौथो बनेको छ । बिहीबारको राष्ट्रियसभामा चुनावमा बागमतीबाट घनश्याम रिजाल र सावित्री मल्ल निर्वाचित भए । २० फागुनमा यो दलका दुई जना सांसदको पदावधि सकिँदै छ । तर, थप दुई जना निर्वाचित भएसँगै यो दलको हैसियत समान रहने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का पूजा चौधरी मधेस प्रदेशबाट निर्वाचित भइन् । उक्त दलबाट पनि एक जनाको पदावधि सकिन लाग्दा चौधरी निर्वाचित भएसँगै दलीय हैसियतमा अदलबदल नहुने भएको छ । यो दलको हाल राष्ट्रियसभामा तीन जना सांसद छन् ।
क–कसको ठाउँमा चुनाव ?
राष्ट्रियसभा सदस्यहरुमध्ये सर्वाधिक प्रमुख विपक्षी दल नेकपा एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नौ जना २० फागुनपछि बिदा हुँदैछन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अध्यक्ष तिमिल्सिनासहित डा. विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, इन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई बिदा हुने क्रममा छन् ।
२० फागुनमै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव पनि बिदा हुने छन् ।
माओवादीका महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसका सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाकी प्रमिलाकुमारी यादव तथा नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदै छ ।
कोशीमा कांग्रेस–एमालेलाई दोष
लगातार दुईपटक प्रतिनिधिसभामा पराजित कांग्रेसका सिटौला सत्ता गठबन्धन दलहरुको साझा उम्मेदवार बन्दै राष्ट्रियसभा सदस्य निर्वाचित हुँदा गठबन्धनबाटै उम्मेदवार रहेकी माओवादीकी कार्की पराजित भइन् । एमालेकी रुक्मिणीसँग ९४ मतभारले उनी पराजित भएकी हुन् । कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्दा माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मत प्राप्त गरिन् ।
कार्कीको पराजयपछि माओवादी कांग्रेससँग असन्तुष्ट भएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कांग्रेसको विश्वसनीयता गुमेको र कांग्रेससँग सहकार्य गर्नु धोका पाउनु मात्रै रहेको सुनाए ।
गठबन्धनको धर्म त भुल्नु हुँदैन नि । यसपटक पनि कांग्रेसले भुल्यो । अब कसरी विश्वास गर्ने कांग्रेसलाई ? विश्वसनीयता गुमेन ?’, उनले प्रभावसँग भने, ‘कांग्रेस सहकार्यको लागि उपयुक्त दल होइन रहेछ ।’ यसअघि पनि मुख्यमन्त्री दिने वचन दिएको कांग्रेसले अन्तिम समयमा आएर एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो ।
कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईले पनि कांग्रेस पार्टीबाटै चुनावमा ‘फ्लोर क्रस’ हुँदा माओवादी उम्मेदवार कार्कीले चुनाव हारेको स्वीकारे । ‘पार्टीमा केही काला कांग्रेस छन् । उनीहरुको कामै गठबन्धन दलहरुप्रति इमानदार नहुनु भएको छ । जुन यसपटक पनि भयो’, राईले भने ।
कोशीमा कुल मतभार १० हजार १३५ थियो । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ थियो । यसरी मत खसेको भए माओवादी उम्मेदवार कार्कीले चुनाव जित्ने थिइन् । तर, गठबन्धन दल कांग्रेसबाट फ्लोर क्रस हुँदा कार्की पराजित हुनुपर्यो । त्यहाँ एमाले–राप्रपा गठबन्धनको मतभार ४ हजार ६०४ मात्रै थियो । तर, एमालेकी कोइरालाले महिला सिटमा चुनाव जितिन् । यसलाई माओवादीले कांग्रेसबाट धोका पाएको आरोप लगाएको छ । उता एमाले उम्मेदवार कोइरालाले चुनाव जित्दा आफ्ना उम्मेदवार उद्धव पौडेलले चुनाव हारेपछि राप्रपाले एमालेले धोका दिएको टिप्पणी गरेको छ । उक्त दलका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठ एमालेबाट धोका नपाएको भए आफ्ना दलका उम्मेदवार पौडेलले चुनाव जित्ने बताउँछन् ।
‘गठबन्धनमा जे नहुनु थियो, त्यही भयो । गठबन्धनमा रहेको मुख्य दल एमालेबाट सर्लक्क मत खसेन । केही गठबन्धनलाई गयो । होइन भने गठबन्धनकै दल एमाले उम्मेदवारले जित्ने अनि हाम्रोले हार्ने हुन्छ ?’, उनले भने ।
तर, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने एमालेले राप्रपालाई धोका नदिएको बताउँछन् । आफ्नो दलका उम्मेदवार कोइरालालाई कांग्रेसको धेरै मत आएको र सो मत राप्रपा उम्मेदवार पौडेललाई नगएको उनको भनाइ छ ।
‘हामी त झण्डै ८ सय मतले पछि थियौँ गठबन्धनभन्दा तर कांग्रेससहित गठबन्धन दलहरुबाट ५ सय जति प्राप्त भएपछि जित्यौँ । त्यो मत राप्रपाका उम्मेदवार पौडेलजीलाई सर्लक्कै गएन । हामी (एमाले)ले धोका दिएको होइन ।’
यसअघि पनि २०७८ मा भएको राष्ट्रियसभा चुनावमा पनि कोशीबाट गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीकी जयन्ती राई जित्दा समाजवादीकै हेमराज राई हारे । राईलाई एमालेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका थिए । त्यसबेला पनि कांग्रेसले धोका दिएको कांग्रेसबाहेकका गठबन्धन दलहरुको आरोप थियो । यता गठबन्धनबाटै उम्मेदवार रहेका कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालको मत बराबर भएको थियो । पछि गोला तान्दा बस्नेत निर्वाचित भए ।
शक्तिमा फर्किए सिटौला
तत्कालीन द्वन्द्वरत नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने एक जना सूत्रधार कांग्रेस नेता सिटौलाको राष्ट्रिय राजनीतिमा पुनरागमन भएको छ । २०७४ र २०७९ मा लगातार चुनाव हारेपछि भने सिटौला राजनीतिको किनारामा परेका थिए । तर, संसद्को माथिल्लो सदन राष्ट्रियसभामा बिहीबार निर्वाचित भएसँगै उनको राजनीतिमा पुनरागमन हुने भएको हो ।
सिटौला ५ हजार दुई सय ९२ मतभारसहित निर्वाचित हुँदा राप्रपाका उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार पाएका थिए । निर्वाचित भएसँगै सिटौलाले आफू जहिल्यै घेराबन्दीमा पर्ने नेता भएको बताए ।
‘म जब राष्ट्रिय निर्वाचनमा खडा हुन्छु । मलाई घेराउ गर्ने प्रवृत्ति हाबी भएजस्तो लाग्छ । यो राष्ट्रिय सभाको निर्वाचनमा पनि मलाई त्यस्तो फिल भयो’, उनले भने, ‘सायद त्यही कारणले चम्पादेवीमाथि प्रहार भयो ।’
उनलाई चुनाव हराउन यसपटक पनि एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो । यसअघि २०७४ एमाले–माओवादी रहेको वाम गठबन्धनले राप्रपाका राजेन्द्र लिङ्देनलाई र २०७९ मा एमालेले राप्रपाका लिङ्देनलाई नै समर्थन गर्दा सिटौलाले चुनाव हारेका थिए । सिटौलाले २०७०, २०५६ र २०५० मा मात्रै चुनाव जितेका थिए ।