- नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, मृगेन्द्रकुमार सिंह र सिंहबहादुर विकको रेकर्ड सूचीमा कृष्णप्रसाद सिटौला, झक्कु सुवेदी, पूजा चौधरी पनि थपिएका छन्
- प्रतिनिधि सभाको निर्वाचन २०७९ मा समानुपातिक सूचीमा रहेका श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा सुवेदी, विष्णु विश्वकर्मा, रेनु चन्द र आनन्दप्रसाद ढुंगाना पनि राष्ट्रिय सभामा इन्ट्री मार्न सफल भएका छन्
काठमाडौं– राष्ट्रिय सभा जनताले हराएका पराजितहरुको क्लब बन्ने पक्का भएको छ । यसअघि पनि पराजितहरुको रजगज रहेको राष्ट्रिय सभामा कांग्रेसका कृष्णप्रसाद सिटौलादेखि माओवादीका झक्कु सुवेदीको इन्ट्रीले यो दायरा झनै फराकिलो बनेको हो ।
फागुन २० बाट सिटौला, सुवेदी, जनता समाजवादी पार्टीकी पूजा चौधरी राष्ट्रिय सभामा जोइन हुनेछन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, मृगेन्द्रकुमार सिंह र सिंहबहादुर विक पनि तल्लो तहका निर्वाचनहरुमा जनताले हराएर राष्ट्रिय सभामा आएका नेताहरु हुन् । यी मध्ये विक भने बिदा हुँदैछन् ।
को कहाँबाट पराजित भएका थिए ?
प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक झापाका जनताले नरुचाएका नेता हुन् कांग्रेसका सिटौला । कांग्रेसकै कार्यकर्ताले नपत्याएका सिटौला पार्टीको १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए ।
यता २०७४ मा काठमाडौं–६ बाट पराजित झक्कु सुवेदी पनि बिहीबार निर्वाचित भएका छन् । पहिलो संविधानसभा निर्वाचनमा २०६४ मा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई काठमाडौं–२ बाट हराएपछि एकाएक चर्चामा आएका सुवेदी पराजितको क्लबमा नयाँ सदस्य बनेका छन् ।
जसपाकी पूजा चौधरी एक वर्षअघिको निर्वाचनमा रौतहट–३ क मा स्वतन्त्र उम्मेदवारसँग पराजित भएकी थिइन् । पूजा पूर्वमन्त्री गोविन्द चौधरीकी छोरी हुन् ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित वामदेव गौतमलाई तीन वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ मा डा. बाबुराम भट्टराईसँग पराजित नारायणकाजी श्रेष्ठलाई २०७६ मा गण्डकीबाट राष्ट्रिय सभामा प्रवेश गराइएको थियो ।
यसपटक बिदा हुन लागेका एकीकृत समाजवादीका सिंहबहादुर विक वडा सदस्यमै पराजित व्यक्ति हुन् । एमालेकी न्यौपाने २०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिका र घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजित भएका थिए ।
माओवादी केन्द्रका शर्मा २०७४ को निर्वाचनमा कांग्रेसका डिल्ली चौधरीसँग प्रदेश सभा सदस्यमा पराजित भएका थिए । जसपाका सिंह पनि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सप्तरी–४ बाट पराजित अनुहार हुन् ।
समानुपातिकबाट नाम झिकेर राष्ट्रिय सभामा
बिहीबारको निर्वाचनमा होमिएका ६ जना हालै सम्पन्न प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार थिए । जसमध्ये ५ जना त माओवादी केन्द्रबाटै । कोशीबाट चम्पादेवी कार्की, बाग्मतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेनु चन्द समानुपातिकको बन्दसूचीमा परेका उम्मेदवार थिए । कोशीकी कार्कीबाहेक अरु ४ जनै निर्वाचित भएका छन् । यसको अर्थ राष्ट्रिय सभा पनि कार्यकर्ता व्यवस्थापनको थलोबाहेक अरु केही नभएको सन्देश माओवादी केन्द्रले दिएको छ ।
कांग्रेसले मधेशबाट उम्मेदवार बनाएका आनन्दप्रसाद ढुंगाना पनि एक वर्षअघिको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सूचीमा थिए । समानुपातिकबाट नछानिएकाहरु मत नपुगेरै आउट भएकाले उनीहरु पनि पराजित उम्मेदवाहरु भएको विश्लेषकहरुको दाबी छ । उनीहरुले राष्ट्रिय सभाको निर्वाचन अघि समानुपातिक सूचीबाट नाम फिर्ता लिएका थिए ।
विज्ञहरुको सभा मानिने राष्ट्रिय सभामा यसरी पराजित नेता व्यवस्थापन गरेकोमा आलोचना बढ्दो छ ।
समाजशास्त्री राम गुरुङ राष्ट्रिय सभा बुर्जुवाहरुको क्लब बन्न लागेको बताउँछन् । ‘राष्ट्रिय सभा बुर्जुवाहरुलाई थन्क्याउने थलो बन्दैछ । गुरुङ भन्छन्, ‘यो सोझै राजनीतिक सिन्डिकेट हो । अबको राष्ट्रिय सभा टेस्टेड फेलियरहरुको क्लब भन्दा फरक पर्दैन ।’
राजनीतिक दलले अहिले पनि राजाकालीन राष्ट्रिय सभामा झैं आफ्ना आसेपासे र पूजारीलाई लानुले राष्ट्रिय सभाको औचित्यमाथि नै प्रश्न उठेको उनी बताउँछन् ।
विश्लेषक अच्युत वाग्ले जनताले हराएकाहरुलाई रोजेर दलहरुले राष्ट्रिय सभाको मर्ममाथि नै प्रहार गरिरहेको बताउँछन् । ‘राष्ट्रिय सभा भनेको विज्ञहरुका लागि व्यवस्था गरिएको हो । तर दलहरुले सुरुबाटै यसअघि विभिन्न तहमा हारेकाहरुलाई ल्याएर राष्ट्रिय सभालाई कार्यकर्तालाई जागिर दिने थलो बनाएका छन् । जनताले नै नपत्याएका हरुवाहरुबाट के अपेक्षा गर्ने ?’ वाग्लेले प्रश्न गरे ।