काठमाडौं, (प्रस)– वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरुको रजिस्ट्रेसन नम्बर परिवर्तन भएको जनाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षा आवेदन दिएका परीक्षार्थीहरूको यसअघिको रजिस्ट्रेसन नम्बर परिवर्तन भइ नयाँ नम्बर कायम भएको शाखाले जनाएको हो ।
एक लाख भन्दा बढी परीक्षार्थीले भाषा परीक्षाको लागि आवेदन दिएका कारण रजिस्ट्रेसन नम्बर परिवर्तन गर्नु परेको शाखाले उल्लेख गरेको छ । उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका थिए ।
परिवर्तित नयाँ रजिस्ट्रेसन नम्बर फाराम भर्दाको वेबसाइटमा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ । भाषा परीक्षाको तालिका यही माघ २१ गते सार्वजनिक गरिने शाखाले उल्लेख गरेको छ । ठूलो संख्यामा परीक्षार्थी रहेका कारण दैनिक पाँच चरणमा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको शाखाले जनाएको छ ।