काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको कुल गार्हस्थ उत्पादन(जिडिपी)मा वैदेशिक रोजगारीको ठूलो योगदान रहेको बताएका छन् । नबिल बैंकले बिहीबार आयोजना गरेको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’सम्बन्धी कार्यक्रमको शुरु गर्दै मन्त्री भण्डारीले उक्त दाबी गरेका हुन् ।
स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिएका नेपालीहरुले पठाएको विप्रेषणबाट राष्ट्रको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै मन्त्री भण्डारीले कुल गार्हस्थ उत्पादनमा टेवा पुगेको बताए । ‘नेपालबाट ठूलो जनशक्ति बाहिरिँदा आन्तरिक श्रम बजारमा समस्या पर्न थालेको छ,’ उनले भने, ‘तर स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा युवाशक्ति विदेशिनु पर्ने बाध्यता छ ।’ नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण नगरेसम्म वैदेशिक रोजगारीकोे श्रमशक्ति बाहिरिने क्रम निरन्तर रहने मन्त्री भण्डारीले बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीको लागि बाहिरिने जनशक्तिलाई रोक्न विसं २०८१ देखि २०९१ लाई आन्तरिक रोजगार दशक घोषणा गर्ने तयारी गरिरहेको पनि बताए । राष्ट्रिय आप्रवासन नीति निर्माणको चरणमा रहेको भन्दै उनले आगामी वर्षबाट आन्तरिक रोजगार दशक मनाइने बताए । ‘राष्ट्रिय आप्रवासन नीति बनाउन गठन गरिएको कार्यदलले आन्तरिक र बाह्य आप्रवासनको स्थिति विश्लेषण गर्नेछ,’ मन्त्री भण्डारीले भने, ‘आन्तरिक रोजगारी सिर्जना गरेर हाम्रो श्रमशक्ति बाहिर जान नदिन त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ ।’ वैदेशिक रोजगारीमा नजाउ भन्न आन्तरिक रोजगारी सिर्जना नै पहिलो विकल्प रहेको जनाउँदै उनले सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक भएको बताए ।
यस्तै श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र गरिबीका कारण वैदेशिक रोजगारीमा जानु विश्वव्यापी प्रक्रिया भएको बताए । ‘वैदेशिक रोजगारी मात्र नभएर स्वदेशमा नै आप्रवासनको ठूलै चक्र छ, अवसरका लागि युवाहरू गाउँबाट सहर पस्ने क्रम बढेको छ,’ उनले भने । वैदेशिक रोजगारमा जाने अधिकांशले मिटरब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सचिव भण्डारीले विदेश जानेहरूलाई बैंकले ऋण दिनुपर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
नबिल बैंकले प्रवासबाट फर्किएका नेपालीका लागि लक्षित गरी दक्ष प्रवासी कर्जा कार्यक्रम ल्याएको जनाएको छ । विदेशबाट सीप दक्षता र पुँजी लिएर फर्किएका व्यक्ति तथा उनीहरुको परिवारलक्षित कर्जा योजना ल्याइएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । आयमूलक व्यवसाय तथा उद्यमशिलता प्रवद्र्धन बैंकले सार्वजनिक गरेको कार्यक्रमले सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । सस्तो ब्याजदर, न्यून सेवाशुल्क तथा परियोजनालाई नै धितो राखेर आधार दरमा १.५ प्रतिशतमा कर्जा उपलब्ध गराइने बताइएको छ । बैंकले विभिन्न चार श्रेणीमा वर्गीकृत गर्दै १५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्मको कर्जा सीमा तोकेको छ ।