- आयोजनाको बाँधबाट पानी एक्कासि खोलामा फर्किदा रामेछापको लिखु खोलास्थित मार्बु दोभान घाटमा जलाउँदै गरेको शव बगाएर बेपत्ता, मलामीले भागेर जोगाए ज्यान
- आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासि रोकिएर पानी खोलातर्फ गएको दाबी
काठमाडौं (प्रस)– सोलुखुम्बु र रामेछापको सिमानामा रहेको लिखु ‘२’ जलविद्युत् आयोजनाको लापारवाहीले लिखु खोलामा जलाउँदै गरेको शव बगाएको छ । शनिबार आयोजनाको बाँधबाट पानी एक्कासि खोलामा फर्किदा रामेछापको उमाकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आयोजनाले भने विद्युत् मेसिन एक्कासि बन्द भएर बाँधको पानी खोलातर्फ फर्किएको बताएको छ । रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासि रोकिएर पानी खोलातर्फ नै फर्किदा उमाकुञ्ड गाउँपालिका–१ बाल्दिङ स्थित खोलामा जलाउँदै गरेको शव बगाएको बताए ।
‘हामीलाई प्राप्त जानकारीअनुसार मेसिन ट्रिप खाएर, बाँधको पानी खोलातर्फ फर्किदा खोलामा जलाउँदै गरेको शव बगाएर बेपत्ता भएको रहेछ, यस विषयमा हामी अनुसन्धान गर्दै छौं,’ उनले भने । घटनास्थल टाढा भएकाले जिल्लाबाट खटिएका प्रहरी पुग्न बाँकी रहेको उनले बताए । सोलुको किञ्जा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको उनले जानकारी दिए ।
लिखुपिकेका राजेन्द्र बस्नेतले आधा जलिसकेको शव खोलाले बगाएर बेपत्ता बनाएको बताए । मलामीले भागेर ज्यान जोगाएको उनको भनाइ छ । आयोजनाको लापारवाहीका कारण यो घटना भएको उनले बताए । ‘यो आयोजनाको लापरवाही हो, मलामी गएका केही मानिस पनि सम्पर्कमा आएका छैनन्, यो विषयमा हामी जानकारी लिँदै छौं,’ बस्नेतले भने ।
घटनास्थल रामेछापमा पर्ने भए पनि सोलुखुम्बुको सिमाना भएकाले प्रहरी चौकी किञ्जाबाट प्रहरी टोली खटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आयोजनाका सम्पर्क अधिकृत दीपक नेपालका अनुसार विद्युत् मेसिन एक्कासि बन्द भएर बाँधतर्फको पानी खोलामा नै फर्किदा उक्त घटना भएको हो । कूल ५५ मेगावाट क्षमताको सो आयोजनाले अहिले पानी पर्याप्त नहुँदा आठ मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको उनले बताए ।
सोलुखुम्बुको लिखु पिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमाना हुँदै बग्ने लिखु खोलामा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनाको हेडवक्र्स सोलुखुम्बुमा पर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । एमभी दुगडद्वारा प्रवद्र्धित उक्त आयोजना ग्लोबल हाइड्रोपावर एसोसियट लिमिटेडले निर्माण गरेको हो ।
त्यसो त उक्त आयोजनाको सुरुआतबाटै स्थानीयले विरोध गर्दै आएका थिए । यसअघि गत जेठमा पनि उक्त आयोजनाको बाँधबाट पानी चुहिँदा ४२ घर प्रभावित भएका थिए । आयोजनाबाट प्रभावितलाई सुरक्षित स्थानमा सार्न चासो नदेखाएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दिएका थिए । (राससको सहयोगमा)