काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन् ।
निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्म तर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्री तर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी गराए । खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् । साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।
आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो । तत् तत् विधामा दुई जना जुरी विदेशी चलचित्रकर्मी हुनेछन् । विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराएका छन् ।
निफका अध्यक्ष केपी पाठकले अघिल्लो सालका विजेताहरु महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको र उहाँहरुले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको जानकारी गराए ।
यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।