काठमाडौं–चितवन, भरतपुर महानगरपालिका– १६ शिबघाटस्थित सडकमा बा प्र ०३–००१ च ११९७ नम्बरको बलेरो गाडीले बा प्र ०३–००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, लमही नगरपालिका–३ मझगाउँस्थित सडकमा लु।२ ख ६३७ नम्बरको ट्रक र रा ७ प १४३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका– १ नर्ती बस्ने ३० वर्षीय सुदन जिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, रूपा गाउँपालिका–६ घिमिरेथरस्थित सडकमा ग १४ प १५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सोही गाउँपालिका–७ माझगाउँ बस्ने ३० वर्षीया कृष्णमाया न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
धदिङ, गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र ३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढी बस्ने १९ वर्षीय बिशाल केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।