- महान्यायाधिवक्ताको कार्यालयमा रहेको बेला पाण्डेयले सन् २०१३–१४ मा अमेरिकन युनिभर्सिटीको वासिङ्टन कलेज अफ ल मा पढ्न ‘द हबर्ट एच हम्फ्री फेलोसिप’ पाएका थिए
- पहिलोपटक २०४६ असार गते नागरिकता लिँदा उनको जन्ममिति २०२६ असोज १५ गते थियो । तर पछि २०६६ पुस २६ गते लिएको नयाँ नागरिकतामा भने जन्ममिति २०३२ पुस २६ गते कायम गरिएको छ
- पहिले हराएको नागरिकता २०७५ चैत ३० गते फेला परेको भन्दै पाण्डेयले निवेदन दिएपछि नयाँ नागरिकता रद्द गरेको देखिन्छ
काठमाडौं– संघीय संसद्को महासचिव बन्ने प्रक्रियामा रहेका पद्यप्रसाद पाण्डेयले अमेरिकामा छात्रवृत्तिमा पढ्न जानुअघि नयाँ जन्ममिति राखेर नागरिकता लिएको खुलेको छ । अमेरिका जानुअघि पाण्डेयले २०६६ भदौ ८ गते आफ्नो उमेर छ वर्ष घटाएर नागरिकता लिएका हुन् ।
पाण्डेय २०७० मा अमेरिकन युनिभर्सिटीमा कानुन पढ्न पुगेका थिए । त्यसपछि उनले जन्ममिति भूलवश फरक पर्न गएको भन्दै नयाँ नागरिकता रद्द गर्न निवेदन दिएको देखिन्छ । उनको निवेदनको आधारमा २०७६ असोज २३ गते पहिलेकै जन्ममितिका आधारमा नागरिकता कायम भएको गृह मन्त्रालयले जनाएको छ ।
पाण्डेयलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सभामुख देवराज घिमिरेले महासचिवका लागि मंसिर २५ गते सिफारिस गरिसकेका छन् । यद्यपि उनको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि भन्दै ‘होल्ड’मा राखेका छन् ।
मंसिर २५ गते तिमिल्सिना र सभामुखले सिफारिस गरे पनि राष्ट्रपतिले होल्डमा राखेका हुन् । राष्ट्रपतिले उनको नियुक्ति होल्डमा राखेपछि सभामुख घिमिरे रुष्ट भएका थिए । घिमिरेले नियुक्ति रोकेरै राखे आफू राष्ट्रपतिविरुद्ध अदालत जानसक्ने चेतावनीसमेत दिएका थिए । घरायसी कारण देखाउँदै यसअघिका महासचिव डा. भरतराज गौतमले मंसिर २४ गते राति राजीनामा दिएपछि विकल्पमा पाण्डेयलाई अध्यक्ष र सभामुखले महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । तर राष्ट्रपतिले उक्त सिफारिस होल्डमा राखेपछि सभामुखले पुस २७ गते पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
राष्ट्रपति कार्यालयले भने महासचिव पद सचिवबाट राजीनामा नदिई पाण्डेयलाई महासचिवमा नियुक्त गर्न नमिल्ने तर्क गरेको थियो । ‘सचिव पदमा बहाल रहेकै बेला महासचिव पदमा नियुक्त गरिएको छ । यो निजामती सेवाजस्तो होइन, विशेष कानुन हो । विशेष कानुनलाई अरू कानुनले ‘ओभरराइट’ गर्दैन । विशेष कानुन लागू हुन्छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले त्यतिबेला भनेका थिए । अर्कोतर्फ भरतराजको राजीनामा स्वीकृत नहुँदै सिफारिस गरिएको भन्दै राष्ट्रपतिले निर्णयलाई अध्ययनका लागि भन्दै होल्ड गरेका थिए ।
महान्यायाधिवक्ताको कार्यालयमा रहेको बेला पाण्डेयले सन् २०१३–१४ मा अमेरिकन युनिभर्सिटीको वासिङ्टन कलेज अफ ल मा पढ्न ‘द हबर्ट एच हम्फ्री फेलोसिप’ पाएका थिए । यो भनेको नेपाली मितिअनुसार २०७० को समय हो । महान्याधिवक्ताको कार्यालयमा नायब महान्यायधिवक्ता रहेका पाण्डेय २०८० वैशाखमा संघीय संसद्मा सचिव भएर आएका हुन् । उनलाई अहिलेकै सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसद्मा ल्याएका हुन् ।
फेलोसिप आवेदनका लागि पाण्डेयले तीन वर्षअघि आफ्नो उमेर घटाएर नयाँ नागरिकता बनाएको आशंका गरिएको छ । पहिलोपटक २०४६ असार गते नागरिकता लिँदा उनको जन्ममिति २०२६ असोज १५ गते थियो । तर पछि २०६६ पुस २६ गते लिएको नयाँ नागरिकतामा भने जन्ममिति २०३२ पुस २६ गते कायम गरिएको छ । पहिलेको नागरिकता नम्बर ३५ देखिन्छ भने वर्ष घटाएर लिएको नागरिकताको नम्बर ३९१०११÷१५५ रहेको छ । वर्ष घटाएर लिएको नागरिकता नम्बर नै प्रयोग गरेर पाण्डेयले पासपोर्ट लिएको गृहले जनाएको छ ।
पहिले हराएको नागरिकता २०७५ चैत ३० गते फेला परेको भन्दै पाण्डेयले निवेदन दिएपछि नयाँ नागरिकता रद्द गरेको देखिन्छ ।
जन्ममिति नै भुलेको दाबी गर्दै अर्को नागरिकता
पुरानो नागरिकता हराएपछि नयाँ नागरिकता बनाउँन जाँदा आफूले जन्ममिति नै भुलेको पाण्डेयले दाबी गरेको पाइएको छ । ‘२०६६ भदौ ८ प्राप्त गरेको नागरिकता प्रमाणपत्रमा भूलवश जन्ममिति फरक पर्न गएकोले पछिल्लो प्रमाणपत्र कायम गर्न आवेदन दिएको,’ गृह मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिलाई पठाएको कागजातमा भनिएको छ । नागरिकता दुरुपयोग गरेको भन्दै पाण्डेयविरुद्ध संसदीय समितिमा माघ ५ गते उजुरी परेको छ । पाण्डेयले अब यसबारेको प्रश्नोत्तर संसदको राज्य व्यववस्था समितिमा ‘फेस’ गर्नेछन् ।
सामान्यतय नागरिकता बनाइसकेको नागरिकले जन्ममिति भुल्दैनन् । यद्यपि पाण्डेयले भने नयाँ नागरिकता लिन जन्ममिति नै भुलेको बताएका हुन् । यतिमात्र हैन २०६२ माघ २८ गते पाल्पा जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण अभिलेख जलेर नष्ट भएको प्रसंगसमेत जोडेका छन् । माओवादीले तानसेन सदरमुकाममा आक्रमण गर्दा पाल्पाको जिल्ला प्रशासन कार्यालय जलेको थियो ।
पाण्डेयले २०६६ भदौ ८ गते काकाको सनाखतको आधारमा जन्म मिति सिफारिस त्यही दिन पाण्डेयले नागरिकता लिएको र अमेरिकाबाट फर्केपछि २०७५ फागुन ३० मा २०४६ मै जारी भएको तर हराएको नागरिकता फेला परेको भन्दै २०६६ मा जारी भएको नागरिकता प्रमाणपत्र रद्द गर्न निवेदन दिएको गृहले जनाएको छ ।
उनका निवेदनको आधारमा २०७६ असोज २३ मा उनको पहिलेकै नागरिकता कायम भएको सरकारी कागजातले देखाउँछ ।
महासचिवमा किन जोडबल ?
नेकपाकालमा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले संसद् भंग गरेका बेला सर्वोच्चमा बहस हुँदा पाण्डेयले ओलीकै पक्षमा लामो बहस गरेका थिए । सरकारी पक्षबाट बहस गर्दै त्यतिबेला नायब महान्यायाधिवक्ता पाण्डेयले प्रतिनिधिसभा पुनःस्थापना भए झनै समस्या हुने बताएका थिए ।
यसैले पनि पाण्डेयलाई सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महासचिवमा जोडबल गरेको बताइएको छ । घिमिरे र तिमिल्सिना दुवै एमाले सांसद हुँदै उक्त पदमा निर्वाचित भएका हुन् । तिमिल्सिना आगामी फागुन २० गते छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । उनको ठाउँमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । उनी माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन् । सिटौला आएपछि नियुक्तिमा अप्ठेरो पर्ने देखेर एमालेले भरतराजलाई छ महिना कार्यकाल बाँकी हुँदा नै राजीनामा गर्न लगाएको बताइन्छ ।