काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त अरब इमिरेट्स (युएई)मा वैदेशिक रोजगारसम्बन्धी मेला ‘युएई जब फेयर’ गर्ने भएको छ । अबुधाबी डाइलगको अवसर पारेर फेब्रुअरी १५ (फागुन ३ गते) युएईमा जब फेयर गर्न लागिएको संघले जानकारी दिएको छ ।
संघको आह्वानमा सोमबार बसेको विभिन्न घटक व्यवसायी संघका प्रतिनिधिहरुको भेलाले युएईमा जब फेयर गर्ने निर्णय गरेको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘युएईमा अलिपछि जब फेयर गर्ने कि भन्ने थियो,’ उनले भने, ‘अबुधाबी डाइलगको अवसर पारेर सम्बन्धित सरकारी संयन्त्रको समन्वय र सुझावका आधारमा फेब्रुअरी १५ मै आयोजना गर्ने निर्णय गरियो ।’
वैदेशिक रोजगारीमा जाने कामदारहरुको हितलाई मध्यनजर गर्दै विचौलिया निषेध गरी रोजगारदातासँग सीधा सम्पर्क स्थापित गर्ने उदेश्यले जब फेयर गर्न लागिएको महासचिव भुर्तेलले प्रस्ट पारे । युएईपश्चात् युरोपमा पनि जब फेयर अयोजना गरिने उनले जानकारी दिए ।
संघमा निर्वाचित भएर आएदेखि नै युरोप, मलेसिया र खाडी मुलुकमा वैदेशिक रोजगारसम्बन्धी मेला गर्ने योजना बनाइएकोमा पहिलोपटक युएईमा मेला आयोजना गर्ने अवसर मिलेको उनको भनाइ छ । ‘हामीले पहिलो जब फेयर मलेसियामा गर्ने तयारी गरेका थियौं । केही चरण सम्बन्धित मुलुक र निकायसँग छलफल भए पनि कामदारको मागमा आएको कमीका कारण उपयुक्त देखिएन,’ महासचिव भुर्तेलले भने, ‘अर्कोतिर अबुधाबी डाइलगमा सरकारका मन्त्री, सचिव, वैदेशिक रोजगार महाशाखा प्रमुखलगायत सम्बन्धित सरकारी संयन्त्र नै युएईमा रहेका बेला जब फेयर गर्नु उचित हुने हाम्रो दूतावासको राय पनि भएकाले मिति तय गरिएको हो ।’
जब फेयरमा युएई सरकारका प्रतिनिधि, ठूला रोजगारदाता कम्पनी, चेम्बर अफ कमर्सलगायत विभिन्न व्यावसायिक संघसंगठनको सहभागिता रहने बताइएको छ । संघले जब फेयरमा सहभागी हुन चाहने इजाजतपत्र प्राप्त व्यावसायिक संस्थाहरुको नामावली संकलन गर्ने तयारी भइरहेकाले छिटोभन्दा छिटो आफ्नो विवरण बुझाउन व्यवसायीलाई आग्रह गरेको छ ।
युएई नेपालीहरुको आकर्षक रोजगार गन्तव्यमध्येको एक हो । चालु आर्थिक वर्षको सुरूआतबाटै युएई नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको छ महिनामा झण्डै ८५ हजार नेपाली रोजगारीका लागि श्रम स्वीकृति लिएर युएई पुगेका छन् ।