काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाउने बहानामा रकम संकलन गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । अजरबैजान र पोल्याण्ड पठाइदिने भन्दै बेरोजगार युवाहरुसँग रकम संकलन गरी फरार रहेको आरोपमा रामशरण शिवाकोटी र ग्रिसविलाश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
बाराको कोल्हवी नगरपालिका–४ घर भएका ३३ वर्षीय शिवाकोटीले मिराकल कन्सल्टेन्सी सञ्चालन गरी युनिसा आले मगर, राजन प्रसाईंसमेतलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई एक प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाएर ३३ लाख दुई हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पीडितसँग पैसा लिएर सम्पर्कविहीन भएको अवस्थामा खोजतलास गर्दा उनलाई भारतको सीमानजिक गड्डाचौकीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरी अनुसन्धानबाट शिवाकोटीले थुप्रै युवालाई ठगी गरेको खुल्न आएको छ । निजले फ्रान्स, स्पेन, युक्रेनलगायत देशमा पठाउने भनी धेरै व्यक्तिसँग रकम लिएको खुल्न आएकोले ठगीमा परेकाहरुलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
यसैगरी काठमाडौं महानगारपालिका २९ घर भई हाल हाँडीगाउँ बस्ने ४३ वर्षीया जोशीेले सुस्मिता थापालाई मासिक दुई लाख रुपैयाँ तलब हुने गरी पोल्याण्डको एक प्रतिष्ठित होटलमा वेटरको काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ । जोशीले पीडितबाट पटक–पटक गरी छ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले उल्लेख गरेको छ । फरार अवस्थामा रहेका जोशीलाई जमलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।