नेपाल भ्रष्टाचार सूचकांक (सिपिआई)मा भ्रष्टाचार व्याप्त मुलुकको सूचीको अन्तिमतिर परेको छ । विश्वका १८० मुलुकलाई समेटेर ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको सूचकांकमा नेपाल ३५ नम्बर पाएर १०८औं स्थानमा रहेको छ । समग्रमा यो १११औं स्थान हो । यसरी १०८औं स्थानमा पाएको मुलुक सातवटा छन् । जसमा नेपाल चौथो नम्बरमा छ । अघिल्लो वर्ष नेपाल ११०औं स्थानमा थियो । तैपनि टिआईले यसपटक नेपालले झिनो सुधार गरेको भन्दै हरियो संकेत दिएको छ ।
तर कमजोर न्याय प्रणालीका कारण नेपालको भ्रष्टाचारको अवस्था नाजुक नै छ । पछिल्लोपटक अख्तियार भ्रष्टाचारको विषयमा गुपचुप सुनिन्छ । अख्तियारको काम उजुरी लिनेमात्र भएको देखिन्छ । जसले गर्दा नेपालमा ‘सेटिङ’बाट हुने भ्रष्टाचारको अनुसन्धान हुनै मुस्किल भइरहेको छ । विभिन्न घोटालामा अख्तियार मौन बस्दा भ्रष्टाचारको घटना घटेको देखिएकाले पनि टिआईको रिपोर्टले झिनो सुधार देखिएको हुन सक्छ । तर कर्मचारीतन्त्र र राजनीति भ्रष्टाचारबाट अछुतो छैन ।
छिमेकी मुलुक भारतमासमेत अघिल्लोपटकभन्दा भ्रष्टाचार बढेको छ । भारत अहिले ३९ नम्बर पाएर ९३औं नम्बरमा उक्लेको छ । अघिल्लो वर्ष भारत ८५औं स्थानमा रहेको थियो । ‘दिल्लीमा बादल लाग्दा काठमाडौंमा झरी पर्छ’ भन्ने उखान पुरानै हो । त्यसैले भारतमा भ्रष्टाचार बढ्दा नेपालमा झिनो सुधार भएको भन्ने रिपोर्ट मिथ्य मान्न सकिन्छ । भारतले विभिन्न कडाइ गर्दासमेत भ्रष्टाचार बढेको देखाउँदा नेपालमा भने लथालिंग हुँदा पनि सुधार देखिनु अचम्मलाग्दो विषय नै हो । यसैले यो अख्तियारको मौनता र प्रशासन र राजनीतिक नेताहरुको मिलेमतोका कारण सुधार देखिएको हुन सक्छ । नभए घुस नखुवाइ हुने कुनै काम नै नदेखिने नेपालीहरु नै बताउँछन् ।
कडा कानुनी नीति रहेको चीनलेसमेत यो सूचकांकमा ४२ नम्बर पाएको छ । यो सूचकांकमा भुटान दक्षिण एसियामा सबैभन्दा धेरै नम्बर पाउने देशमा छ । अमेरिका ६९ नम्बरसहित २५औं नम्बरमा हुँदा भुटान ६८ अंक पाएर २६औं नम्बरमा छ । भुटानमा भ्रष्टाचार बढेको देखिन्न । डेनमार्क ९० नम्बर पाएर कम भ्रष्टाचार हुने मुलुकको पहिलो नम्बरमा छ । दक्षिण एसियाका अरू देशमा माल्दिभ्सले ३९ नम्बर, श्रीलंकाले ३४, पाकिस्तानले २९, बंगलादेशले २४ र अफगानिस्तानले २० नम्बर पाएको छ । अफगानिस्तान सुचकांकको १६२औं स्थानमा रहेको छ ।