डाँडागाउँको गाई खाने भोट्या तामाङको मात्र कथा होइन, समग्र तामाङलगायत ‘मासिन्या’ कहलाउने नेपाल अधिराज्यभर बसोबास गर्ने जनजातिहरु सुनुवार, राई, लिम्बूहरुको पनि प्रतिनिधि कथा हो।
तामाङ नाटकका प्रसंगः
मुलुकमा गणतन्त्र आएपछि शिल्पी थिएटरमा ‘म्हेन्दो माया’ र ‘सोनाम ग्याल्मो’ नाटक लिएर पत्रकार एवं कवि फूलमान बल देखापरेका थिए। दुवै नाटक तामाङ लोक संग्रहित ‘गोले झाँक्री र गोसाइँकुण्ड’ र ‘जार जंगबहादुर’ संकलित लोक कथाहरुबाट प्रभावित भएको पाएको थिएँ। पहिलो नाटक ‘म्हेन्दो माया’को समीक्षा ‘छार गोङमा’ पत्रिकामा प्रकाशित भयो। कार्यव्यस्तताका कारण ‘सोनाम ग्याल्मो’को समीक्षा गर्न पाइनँ। त्यसपछि थिएटरमा तामाङ विषयवस्तुमा आधारित नाटक मञ्चन देखिएन। जुन रिक्ततालाई पूर्ति गर्दै पत्रकार एवं कवित्रय लक्ष्मी रुम्बा, राजु स्याङ्तान र रावत (रामबहादुर तामाङ) ले ‘मासिन्या’ नाटक ल्याएका छन्, जुन मण्डला थिएटरमा मञ्चन भइरहेको छ। माघ ११ गतेदेखि सुरु भएको ‘मासिन्या’ २८ गतेसम्म चल्ने छ। प्रिमियर शोदेखि नै ‘हाउसफुल’का साथ चलिरहेकोे ‘मासिन्या’ गत शनिबार (माघ १३ गते) दिउँसो २ बजेको शो हेर्ने मौका जुर्यो।
कथासारः
रंगमञ्चको पर्दा खुल्नसाथ मानसिक पीडाबाट विक्षिप्त चेली पाल्मो (दिलमाया र छेवाङकी छोरी साङ्मोकी भदैनी) लाई बोन्बोहरुले घेरिरहेका हुन्छन्। मूल बोन्बो (सोनाम लामा) ढ्यांग्रो बजाउँदै मन्त्र फलाकेर उसलाई केरकार गरिरहेको हुन्छ। पाल्मो (साङ्मोको आत्मा) बोन्बोसामु आफू यसरी मानसिक रोगी पाल्मोको शरीरमा प्रवेश गरेर आफू प्रेत भएको भएको कुरा बक्छिन्।
नाटक फ्ल्याक्सब्याकमा पुग्छ।
राजधानी काठमाडौंको उत्तर–पश्चिम दिशामा रहेको पहाड डाँडा गाउँकी म (साङ्मो) चेली हुँ। शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै रहेका कारण म घाँसदाउरा लिन वनमा दिनहुँजसो गइरहन्थेँ। सोही क्रममा आवतजावत हुँदा मेरो भेट च्याङ्बा (रुपेश लामा) सँग हुन पुग्यो। पटक–पटकको भेटघाट र भलाकुसारीले हामीबीचमा निकटता बढ्यो। एक अर्कामा गहिरो प्रेम हुन पुग्यो।
टुहुरो च्याङ्बा मामाघरमा मामा (विष्णु मोक्तान) सँग बस्थे। बाल्यकालमा नै आफ्नो बाआमा बितेका कारण ऊ बुवाआमाको स्मृतिमा डाँडागाउँमा एउटा छ्योर्तेन/माने बनाउने चाहना राख्थ्यो। त्यसैले ऊ भिरपाखाबाट राम्राराम्रा ढुंगा ल्याएर छ्योर्तेन बनाउन लागिपरेका थिए।
त्यहीबेला आफूले निर्माण गरिरहेको छ्योर्तेन नै मासिनेगरी सडक निर्माण हुन लागेको जानकारी उसले पायो। आफ्नो जीवनको एकमात्र लक्ष्य, आमाबाबुको स्मृतिमा बनाएको छ्योर्तेन निर्माण गर्ने सपना चकनाचुर हुन लागेकाले सडक निर्माण कार्य रोक्न भूतपूर्व वडाध्यक्ष (विजय नेपाल)सामु गुहार माग्न पुगे। तर, वडाध्यक्षले आफू भूतपूर्व भएको र आफ्नो गाउँमा आएको सडक निर्माणलाई रोक्न नसक्ने च्याङ्बालाई बताउँछ। जसको पिरलो च्याङ्बाको मन मस्तिष्कमा पर्न गयो।
यसैबीच एकातिर मामा (विष्णु)लाई आफ्नो टुहुरो भाञ्जाको प्रेम साङ्मोसँग भएको जानकारी भयो। त्यही कारण एकातिर भाञ्जाको प्रेमलाई विवाहमा परिणत गर्न माघे संंक्रान्तिको दिन सगुन पोङ लिएर कुरा छिन्न जाने तयारी गरिरहेका थिए मामा। अर्कोतिर संक्रान्तिको दिन आफूलाई माग्न च्याङ्बा मामालाई लिएर ताम्बा, गान्बा, गान्सोम, लामासहित आउने कुराले साङ्मो फुरुक्क भएर चाड मनाइरहेकी थिइन्। तर साँझ परिसक्दा पनि च्याङ्बा नआएपछि दाजुभाइ खलक र गाउँलेहरु अ–आफ्ना घर फर्किन्छन्।
यहीबीचमा च्याङ्बाका साथीहरुमार्फत उनलाई प्रहरीले पक्रेर लगेको थाहा हुन्छ। प्रेम र हर्षमा रमिरहेकी साङ्मो र उनको परिवारमा एकाएक पीडा छाउँछ। च्याङ्बा र साङ्मोका परिवार, साथीभाइ र गाउँलेहरु चौकी पुग्छन्। केही नलागेपछि उनीहरु आफ्नै गाउँका पूर्ववडाध्यक्ष विजयसमक्ष च्याङ्बालाई छुटाइदिन अनुरोध गर्न पुग्छन्। पूर्ववडाध्यक्षले च्याङ्बालाई छुटाउन सजिलो नभएको जवाफ दिन्छ। उनीहरुले कारण सोधे– वडाध्यक्ष आफूले दिएको गाईलाई च्याङ्बाको परिवारले रिठ्ठे भिरबाट लडाएर हत्या गरी गाई (राष्ट्रिय जनावर)को मासु गाउँभरका तामाङहरुले बाँडेर माघे संक्रान्ति मनाएका कारण च्याङ्बालाई पक्राउ गरिएको बताउँछन्। जबकि यस घटनाको उजुरीकर्ता उनै पूर्ववडाध्यक्ष भएको बुझिन्छ।
यसपछि सबै हतास भएर गाउँ फर्किने क्रममा माओवादी जनयुद्धमा लागेका एक कार्यकर्ता (रविन दोङ) आइपुग्छ। उसले उनीहरुको विवशतामाथि फाइदा उठाउन जनयुद्धतर्फ लाग्न प्रेरित गर्छन्। सुराकीबाट जानकारी पाएर त्यहीबेला प्रहरीको टोली त्यहीँ आइपुग्छ। विद्रोही माओवादीलाई सहयोग गरेको आरोपमा उनीहरुमाथि सांघातिक हमला हुन्छ। साङ्मोमाथि त सामूहिक बलात्कार नै गरे। त्यही पीडाले म विक्षिप्त हुन पुगेर आत्माहत्या गरेर प्रेत भएकी हुँदा भदैनीको आत्मामा प्रवेश गरेको हुँ भन्छे।
यसरी गाउँलेहरु एकातिर राज्यसत्ताका नीति, नियम र कानुन, अर्कोतिर माओवादी, सेना र प्रहरीजस्ता सुरक्षा निकायकोे दोहोरो चापमा पर्छन्। जसका कारण गाउँमा बस्न नसकेर तामाङहरु आफ्नो पुर्ख्यौली भूमि छाडेर अन्यत्र बसाइँ सर्न बाध्य हुन्छन्। च्याङ्बा भने गाई मारेर खाएको अपराधको जेल सजाय काटेर गाउँ फर्किन्छ। ऊ आफ्नो आमाबाबुको स्मृतिमा बनाउन नसकेको छ्योर्तेनको भग्नावशेषमा भएका ढुंगाहरुले खुकुरीमा साँध लगाएर बसेको पीडादायी दृश्य देखाइन्छ।
यतिकैमा रंगमञ्चमा नाटक आरम्भ गर्दाको दृश्य पुनः देखिन्छ। जहाँ मूल बोन्बो सोनामले ढ्यांग्रो ठटाउँदै मन्त्रोच्चारण गरेर पाल्मोलाई बकाइरहेको हुन्छ। अन्य बोन्बोले उनलाई घेरा लगाएर बसेका हुन्छन्। ऊ चिच्याहट गर्दै च्याङ्बा... च्याङ्बा... भनिरहेकी हुन्छे। यतिकैमा पाल्मोको शरीरबाट साङ्मोको आत्मा निस्किन्छ।
पर्दा बन्द हुन्छ। ‘मासिन्या’ नाटक सकिन्छ।
विषय प्रवेशः
माथि उल्लिखित कथासार कवीत्रय रुम्बा, स्याङ्तान र रावतद्वारा लिखित तथा बुद्धि तामाङ र सोनाम लामाद्वारा निर्देशित ‘मासिन्या’ नाटकको हो। नाटकका लेखकहरुले च्याङ्बा र साङमोको प्रेमिल कथालाई उनेर परम्परादेखि चलिआएको तामाङ सांस्कृतिक सम्पदा माने, छ्योर्तेनहरु राज्यले गर्ने विकास निर्माणका नाउँमा भत्काइँदै जानु, युगौयुगदेखि खाँदै आएको गाईको मासु राष्ट्रिय जनावर बनाएपछि खान नपाइनु, पुर्ख्यौली थातथलो सरकारले निकुञ्ज निर्माण गर्ने क्रममा अधिग्रहण हुनु, गरिबीको चक्रका कारण अशिक्षितमात्र नभई भएका जग्गा जमिन पनि बिक्री गर्न विवश हुनुपर्ने बाध्यात्मक परिस्थितिका कारण पहिचानमात्र नभई पुर्ख्यौली थलो नै छोडेर बसाइँसराइ गरेर हिँड्नुपर्ने बाध्यात्मक अवस्था देखाउन खोजेका छन्। यस नाटकमार्फत दर्शकलाई आदिवासीहरुलाई जल, जंगल र जमिनमाथिको पहुँचबाट टाढा बनाएर उनीहरुको पहिचान कसरी मेटिँदै छ भनेर देखाउन खोजेको जस्तो देखिन्छ।
सबल पक्षः
‘मासिन्या’ नाटकको सबल पक्ष यसले राजधानीको उत्तर पश्चिम भेगमा रहेको डाँडागाउँका तामाङ जनजीवन र तामाङ विवाह संस्कारलाई मिहीन ढंगले देखाएको छ। साथसाथै, तामाङ जातिको प्राचीन बोन अर्थात् बोन्बो परम्परा र आठौं शताब्दीदेखि ग्रहण गरेको लामा बौद्ध धर्मको दर्शनको अभ्यासलाई तामाङहरुले कसरी जीवनमा समन्वयात्मक अभ्यास गरिराखेका रहेका छन्। अझ भन्नै पर्दा यस नाटकले तामाङ लोक संस्कृतिको सेलो गीति परम्परा र तामाङ संस्कारहरु जीवन्तमात्र नभई मौलिक रुपमा संरक्षित छन् भनेर प्रस्तुत गरेको छ भन्दा फरक पर्दैन।
दुर्बल पक्षः
वि.सं. १९१० मा राजा सुरेन्द्रवीरविक्रम शाहको पालामा जंगबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गरेर फर्के। त्यसपछि उनले मनुस्मृतिका आधारमा जातीय मुलुकी ऐन ल्याएर एकलौटी रुपमा शासन गर्ने प्रयास गरे। जसका कारण नेवार, गुरुङ र मगरबाहेकका सबैजसो जनजाति ‘मासिन्या’ जातिमा वर्गीकरणमा परेका थिए। जसमध्ये राजधानी वरिपरिका डाँडाकाडामा आवाद रहेका तामाङ जाति पनि सो ऐनअनुसार राजा महेन्द्र शाहले पञ्चायत व्यवस्था प्रारम्भ गरेर वि.सं. २०१९ मा नयाँ मुलुकी ऐन जारी नगरेसम्म ‘मासिन्या’ जातिमा पर्दथे। जसकारण उनीहरु सोही ऐनअनुसार कुनै कसुर गरेमा दास बनाउन सकिने, बिक्री वितरण गर्न सकिने, मृत्युदण्डसम्म दिन सकिने थियो। जसको मूल कारण राज्यसत्तामा रहेका तागाधारी ब्राह्मण, क्षेत्री, खसलगायत जनै लगाउने, हिन्दू धर्म नमान्ने र गाईलाई पूजा गर्ने शासकको समर्थनमा सधैं नउभिने भएकाले मतुवाली, जाँड रक्सी खाने, गाईलाई पूजा नगर्ने, काटेर खाने, जनै फाल्ने, गैरहिन्दू र सधैं राज्यसत्ताको विरुद्ध उभिने चरित्रका कारणले मासिन्या भनेर वर्गीकरण गरी असमान दण्ड सजायको व्यवस्था गरिएको हो। यसरी हेर्दा नाटकले एक शताब्दीअघिको कालखण्डमा भएका धार्मिक शोषण, किपट हरण गरेको, हतियारविहीन सेना पिपा बनाएको, अर्धदासको व्यवहार गरेको र दलित (सुद्र) बनाएको, गाईको मासु खाएको जस्ता कारण दण्डित गरिएका प्रतिनिधि घटनाहरुमध्ये केही घटना स्पष्ट रुपमा देखाउन सकेको भए नाटकको नाम अर्थात् शीर्षकअनुसार सार्थक हुने थियो। तर, नाटकमा देशमा वि.सं. २०४६ मा प्रजातन्त्रको पुनर्वहाली भएदेखि वि.सं. २०६३ मा जनयुद्ध (वि.सं.२०५२–२०६३) को अन्त्य नभएसम्मको अवधिमा भएका गाईको मासु खाएको र सडक निर्माणले गर्दा छ्योर्तेन भत्काइएको जस्ता सामान्य घटनाहरु सघन रुपमा देखाइनु यस नाटकको सबैभन्दा दुर्बल पक्ष हो भन्दा फरक पर्दैन।
अभिनय, संवाद र पटकथाः
‘मासिन्या’ नाटकको स्क्रिप्टअनुसार बुद्धि तामाङ र सोनाम लामाको निर्देशन र प्रस्तुति अब्बल छ। नाटकमा नायकको रुपमा अभिनय गरेका नायक रुपेश लामा, नायिका रोहनी लामा, खलनायक विजय नेपाल, शीतल थोकर तामाङ, सानुमाया तामाङ र रविन दोङको अभिनय राम्रो छ। अन्य कलाकारको अभिनय भने औसत देखिन्छ।
नाटकको प्रारम्भमा नाटककारत्रयहरुले नायक, नायिका र अन्य रसिला पात्रहरुमार्फत बोल्ने हास्य र करुण रसका प्रेमिल अनि भावनात्मक संवादहरु स्वाभाविक नै छन्। तर, जब नाटकले वियोगान्त, नाटकीय र गम्भीर मोड लिन्छ, तब एकपछि अर्को मार्मिक घटनाहरु देखाउँदा नाटककारत्रय मात्र दर्शकहरुको भावना जित्नका लागि दृश्य, गीत, संगीत र प्रकाशमा निर्भर परेको भान हुन्छ। त्यसपछि नाटकका पात्रहरुले बोल्ने संवाद र अभिनय जसरी क्रान्तिकारी र विद्रोहीको जस्तो हुनु पर्दथ्यो, सो हुन सकेको छैन। सोही कारण तामाङ कलाकारहरुले आफ्ना अभिनय र प्रतिभा देखाउन पाएका छैनन्।
नायकलाई प्रहरीले गाई भिरमा लडाएर मारेको र मासु खाएको अभियोगमा पक्राउ गरिसकेपछि लेखकहरुले जसरी पटकथा विस्तार गरे, त्यसरी नै प्रहरी दमन, अदालती प्रसंगहरु अघि बढाएर जेलबाट निस्केपछि थातथलोमा भएका विसंगतिविरुद्ध विद्रोहको विगुल फुकाउन सकेको भए हुने थियो। तर लेखकहरुले नाटकलाई राज्यसत्ता, सेना र ब्राह्मण शासक वर्गबाट भएका केही घटनालाई रोनाधोना, मार्मिक र वियोगान्त दृश्यहरुमा समाहित गरेर मासिन्या जस्तो ऐतिहासिक शब्द प्रयोग गरिएको नाटकको शीर्षकको अवमूल्यन गरेर नाटकको अन्त्य भावनात्मक रुपमा गर्नतर्फ लागेको देखिन्छ। सोही कारण नाटकमा हुनुपर्ने मूल तव्त ‘क्लाइमेक्स’ अर्थात् उत्कर्षक कमजोर देखिएको छ। जसले गर्दा नाटकका पात्रहरुको चरित्र निर्माण, तिनले बोल्ने गहन संवाद, पात्रहरुका अभिनय सशक्त हुन नसकेको आभास हुन्छ।
जातीय पहिचान र जातीय मुक्तिको मार्ग नाटकले देखाउन नसक्दा बौद्धिक दर्शकहरुले खल्लो महसुस गरेका थिए। यसबाट नाटककार एवं कवित्रय गैरजनजातीय दर्शकहरु एकातिर खोजी र अर्कोतिर राज्यसत्ता, शासक र प्रशासकहरुबाट हुनसक्ने नियन्त्रण, यातना र सजायबाट डराएको स्पष्ट देखिन्छ। तर, सामान्य दर्शकहरुका लागि भने तामाङ जीवनका रसिला सामाजिक र आर्थिक पाटाहरुमा आउने आरोहअवरोह नाटकमा हेरेर कहिले हाँस्दै, कहिले रुँदै त कहिले प्रेमिल भएर भरपुर मनोरञ्जन लिइरहेका थिए। यसरी हेर्दा नाटक आमदर्शकका लागि सफल भए पनि तामाङ जातिको मुक्तिका लागि भनेर लागिपरेका दर्शकहरुका लागि भने मार्गप्रशस्त गर्न असफल भएको प्रतीत हुन्छ।
अन्त्यमा,
शताब्दीऔंदेखि गढेको खिल भनेर ‘मासिन्या’ नाटकको जसरी प्रचारप्रसार गरियो, व्यावसायिक रुपमा नाटक सफल भए पनि शीर्षकअनुसार ऐतिहासिक तामाङ विषयवस्तु उठान गर्न भने असफल देखिन्छ। मात्र यसले जनयुद्ध विसर्जन भएपछि भएको एउटा गौ हत्या अर्थात् गाई मारेर खाएको एउटा घटनाको खिल उठाउन सफल भएको छ भन्दा फरक पर्दैन।
यसो हुँदाहुदै पनि प्राचीनकालमा राजधानी काठमाडौंमा याम्बु नामक केन्द्रीय सत्ता स्थापित गरेका तामाङहरु आफ्नो राज्यसत्ता गुमेपछि राजधानी र यसका वरिपरिका डाँडाहरुमा आवाद भएर गणराज्यहरुमा सीमित भएको इतिहास छ। सो गण राज्यहरु पनि गोर्खा राज्यको विस्तार सँगसँगै मासिएपछि विजित शासकहरुबाट पराजित शासक तामाङ जाति कसरी अपहेलित, अविश्वासी मात्र नभई शोषित, दमित भएर मनोवैज्ञानिक रुपमा हालसम्म बाँच्न विवश रहेका छन् भनेर नाटकले स्पष्ट रुपमा देखाएको छ। जसका कारण तामाङहरु विद्रोहको विगुल फुक्न सकिरहेका छैनन् भन्ने यथार्थ सम्झेर नै होला मासिन्या नाटकका नाटककारहरुले नाटकलाई वियोगान्तमा अन्त्य गरेर दर्शकलाई हाम्रो अवस्था आजसम्म यस्तै नै छ, त्यसैले आफ्नो मुक्तिको बाटो आफैं कसरी खोज्ने हो विचार गर्नुस् है भनेर छोडेजस्तो देखिन्छ।
जे भए पनि नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न जनजातिले झैँ तामाङले पनि तामाङ र नेपाली भाषा मिश्रण गरेर भए पनि तामाङ नाटकहरु थिएटर/रंगमञ्चमा प्रस्तुत गर्ने परम्पराको थालनी केही दशकअघिदेखि भएको छ। यसबाट नेपालीका साथै तामाङ नाट्यको इतिहास लेखन र प्रस्तुतिमा जुन नयाँ मोड ल्याइदिएको छ, त्यसले पक्कै पनि राज्यलाई आफ्नो समस्या देखाउने छ।
साथै, हाल थिएटरमा अध्ययन गरेर जन्मिएका तामाङ नवोदित कलाकारहरु व्यावसायिक रुपमा भलै उनीहरुले नेपाली, हिन्दी र अंग्रेजी नाटक र सिनेमामा बिताए पनि आगामी दिनमा तिनै नवोदित तामाङ नाटककार र कलाकारहरुको संयोजन र सहकार्यबाट तामाङ जातिको इतिहास र संस्कृतिका महत्त्वपूर्ण अनि गर्विलो विषयका नाटकहरु थिएटरमा तामाङ र गैरतामाङ दर्शकहरुले हेर्न पाउने छन्। ‘मासिन्या’ को सफल मञ्चनबाट पनि शिक्षा लिन सकिन्छ भन्दा फरक नपर्ला।