- बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला आरोपमा अरुण चौधरीलाई सिआइबीले नियन्त्रणमा लिएको हो
- यही प्रक्ररणमा सिआइबीले कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र चाँदबाग स्कुलका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्रेको छ
- बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ
काठमाडौं– डलर अर्बपति विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चौधरीलाई लैनचौरबाट पक्राउ गरेको जनाएको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला आरोपमा चौधरीलाई सिआइबीले नियन्त्रणमा लिएको हो ।
सिआइबीले तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई पनि पक्राउ गरेको छ । थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । ‘व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको हो, बाँकी जानकारी पछि सार्वजनिक हुने छ,’ अधिकारीले भने ।
जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए । यसैबीच चौधरी र थापाको स्वास्थ्यमा समस्या देखिएपछि बसुन्धरामा रहेको चिरायु अस्पतालमा भर्ना गरिएको छ । थापा मुटुको रोगी र चौधरी उच्च रक्तचापको रोगी रहेको प्रहरीले जनाएको छ ।
यही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् । ठकुरलाई आज अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी छ ।पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ ।
राष्ट्रपतिका सल्लाहकार सिआइबीमा
थापा पक्राउ परेपछि राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा सिआइबी पुगेका थिए । सुनिल पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । अजितनारायणसिंह सुनिलका आफन्त हुन् । आफन्त पक्राउ परेको खबर सार्वजनिक हुनसाथ सुनिल लाजिम्पाटस्थित सिआइबी कार्यालय पुगेर सिआइबी प्रमुख किरण बज्राचार्यसँग आधा घण्टा छलफल गरेका थिए । सुनिलको भेटले चौधरीलाई हिरासतको म्याद नथप्ने आशंका गरिएको थियो ।
‘निजी क्षेत्रलाई त्रसित पार्न खोजियो’
व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीले आपत्ति जनाएको छ । चौधरी पक्राउ पर्नसाथ नेपाल उद्योग परिसंघ (सीएनआई) ले आकस्मिक पत्रकार सम्मेलन गर्दै यस्तो आपत्ति जनाएको हो । ‘उहाँ(चौधरी) देश छोडेर कतै जान लाग्नुभएको थिएन । तर आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको छ । यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ,’ पत्रकार सम्मेलनपछि जारी सीएनआईको विज्ञिप्तिमा उल्लेख छ ।
मुलुकको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान उल्लेख्य भएको दाबी गर्दै उद्योगीले उपेक्षा नगर्न चेतावनीसमेत दिएको छ । ‘देशको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७७% माथि छ । नेपाल सरकारले पनि निजी क्षेत्रको योगदानलाई महसुस गरी हाल नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेत सामेल गराउन थालेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसलाई हामीले सकारात्मक रुपमा नै लिएका छौं । आजको यस घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपदेयीतालाई उपेक्षा गरेको हो कि भन्ने सोच्न हामीलाई बाध्य तुल्याएको छ ।’
सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन यस्तै रहे असफल हुने व्यवसायीको दाबी रह्यो । चौधरी पक्राउको घटनाले लगानी सम्मेलन विथोलिने वातावरण तयार भएको विज्ञप्तिमा उल्लेख छ । ‘सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररुपमा उद्योगी व्यवसायीहरुमाथि धरपकडको डन्डा बर्साइरहने हो भने यो द्वेध व्यवहारले विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने प्रष्ट छ । यसले लगानीको वातावरण विथोल्नेबाहेक अरु केही गर्दैन,’ सीएनआईले भनेको छ ।