काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले अब माधव नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् । बुधबारमात्र दाङ पुगेर नेता विमलेन्द्र निधिले अबको प्रधानमन्त्री नेपाल हुने बताएका थिए ।
‘पहिलो चरणमा माओवादी, दोस्रो चरणमा एकीकृत समाजादी जसले कांग्रेसलाई साथ दियो, माधव नेपाललाई प्रधानमन्त्रीमा अवसर दिनुपर्छ, त्यसपछि हाम्रो सभापति प्रधानमन्त्री हो,’ निधिले भनेका थिए । पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष नेपाली कांग्रेस सभापति देउवाले नेतृत्व सम्हाल्दै २०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिए । ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो, सत्ता साझेदारबीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारपूर्वक लाग्नुपर्छ । त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो,’ नेता निधिले भने ।
बिहीबार पूर्व महामन्त्री डा शशांक कोइरालाले पनि नेपालको पालो आइसकेको बताए । पूर्वी नवलपरासीस्थित कावासोती पुगेका कोइरालाले नेपालको पालो आइसक्दा पनि पुष्पकमल दाहालले प्रधानमन्त्री पद नछाडेको दाबी गरे । ‘उहाँहरुको अन्डरस्ट्यान्डिङअनुसार अब माधवकुमार नेपाल प्रधानमन्त्री हुनुपर्ने हो । त्यसपछि शेरबहादुर देउवाजी हुनुपर्ने हो,’ कोइरालाले भने, ‘यो कुरा भन्न हुन्छ कि हुँदैन तर भन्छु, प्रचण्डजी अत्यन्त स्रिउड(धुर्त) मान्छे हुनुहुँदो रहेछ, म्यानिपुलेटेड । उहाँले प्रधानमन्त्री पद सजिलै छाड्नु होला जस्तो लाग्दैन ।’
दाहालको बोलीमा नेपाल रुष्ट
एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालेका पछिल्लो अभिव्यक्तिप्रति रुष्ट सुनिएका छन् । राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिप्रति नेपालले असन्तुष्टि जनाएका हुन् ।‘त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन् । उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए । म आफैँ गर्छु छानबिन भनेका थिए । तपाईँको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ । छानबिन आयोग बनाउन त बनाए, मलाई पनि जोडिदिए ।
राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ,’ बिहीबार जनकपुर पुगेर नेपालले भने, ‘सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन ग¥यो । कति सबै ल्याउन सक्यो । सकेन आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ । ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ कि उहाँलाई सोध्नुपर्ला ।’
कांग्रेसले बोलायो बैठक
सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बेलाएको छ । आज दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बोलाएको हो ।समुदायमा कांग्रेस अभियानमा व्यस्त रहेको कांग्रेसले बैठक बोलाउनुका कारण खुल्न सकेको छैन । संघीय संसद्को बैठक माघ २२ गते बस्दैछ ।