यसमा पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन । यसको बारेमा कुनै निर्णय पनि भएको छैन ।
रमेश लेखक
प्रमुख सचेतक
देशभर ५०औं संरचना भएका व्यावसायिक समूहको प्रमुख व्यक्तिलाई विनाकुनै सूचना, अपराधीलाई जसरी समात्दा ठूलो नकारात्मक सन्देश नेपालभित्रका व्यापारी र लगानीकर्ताहरुमाझ गएको छ ।
विनोद चौधरी
सांसद, नेपाली कांग्रेस
काठमाडौं– उद्यमी अरूण चौधरी पक्राउको विषयलाई लिएर कांग्रेस सांसद एवं डलर अर्बपति विनोद चौधरीले विरोध जनाएका छन् । कांग्रेस संसदीय दलको बैठकमा अर्बपति चौधरीले आफ्नो परिवारमाथि निशाना साँधेको भन्दै विरोध जनाएका हुन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई बोल्ने समय थिएन । यद्यपि बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा उद्यमी अरुण पक्राउ परेको विषयमा उनका दाइसमेत रहेका सांसद चौधरीले बैठकमा विरोध जनाएका हुन् ।
‘एउटा देशको प्रतिष्ठित उद्योगी साथै देशभर ५०औं संरचना भएका व्यावसायिक समूहको प्रमुख व्यक्तिलाई विनाकुनै सूचना, विनाकुनै जानकारी, स्पष्टीकरणको मौका नदिइकन एउटा अपराधीलाई समात्नेजस्तो गरिकन जुन काम भएको छ, त्यसको सारै नै ठूलो नकारात्मक सन्देश नेपालभित्रका व्यापारी र लगानीकर्ताहरुमाझ गएको छ,’ उनले बैठकमा दाबी गरेका छन् । सरकारको यस्तो व्यवहारले वैशाखमा हुन लागेको लगानी सम्मेलनसमेत भाँडिने चेतावनी सांसद चौधरीले दिएका छन् ।
प्रहरीबाट आफ्नो परिवारको मनोबल गिराउने काम भइरहेको दाबीसमेत उनले गरे । ‘देशको आर्थिक विकास र रुपान्तरणमा योगदान गर्नका लागि कटिबद्ध भएर लागिरहेको छु । अहिले सिआइबीमार्फत जुन व्यवहार हाम्रो परिवारमाथि भइरहेको छ त्यसले मेरो मनोबल एकरत्ती पनि कमजोर हुनेवाला छैन,’ उनले भने ।
बैठकमा सांसद चौधरीले आफ्नो भाइ पक्राउको विरोध गरे पनि अरू सांसद भने यो विषयमा मौन बसे । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस विषयमा कुनै निर्णय नभएको र सांसद चौधरीले पार्टीमा रिपोर्ट राख्छु भनेर अनुरोध गरेकोले समय दिएको बताए । ‘यसमा पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन । उहाँ (विनोद)ले अरूण चौधरी पक्राउबारे संसदीय दलको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभएको कुरालाई नेता सांसदहरुले गम्भीरतापूर्वक सुन्नुभएको छ, यसको बारेमा कुनै निर्णयचाहिँ भएको छैन,’ लेखकले भने ।
कांग्रेसका पदाधिकारीले अरूण पक्राउबारे अहिले बोल्नुको कुनै औचित्य नभएको धारणा राखेका थिए । ‘अहिले सिआइबीले अनुसन्धान जारी राखेको छ । यो विषयमा बोल्नु उचित हुन्न,’ एक पदाधिकारीले भने । कांग्रेसका अधिकांश सांसदहरुले यस विषयमा धारणा राख्न इन्कार गरेका थिए । बैठकमा आफ्नै विषय राखेका सांसद सुनिल शर्माले बैठकपछि भने व्यवसायीमाथिको धरपकड रोक्नुपर्ने माग गरे ।
संसदीय समिति र प्रतिनिधिसभामा प्रभावकारी भूमिका निभाउन निर्देशन
नेपाली कांग्रेसले सदन र संसदीय समितिमा प्रभावकारी उपस्थिति देखाउन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको संसदीय दलको बैठकले संसद् चलेका बेला राजधानी नछोड्नसमेत सांसदहरुलाई निर्देशन दिएको छ ।
‘संसद्मा प्रभावकारी भूमिका निभाउन सांसदहरुलाई निर्देशन दिइएको छ,’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक लेखकले भने, ‘संसद् र संसदीय समितिमा सक्रिय रहन भनिएको छ । राष्ट्र र जनताको हितका विषयमा संसद्मा आवाज उठाउने प्रतिबद्धतासमेत जनाइएको छ ।’ संघीय संसद् अधिवेशन माघ २२ गते सुरु हुँदै छ ।
बैठकले विचाराधीन विधेयक चाँडो पारित गर्न दबाब दिने निर्णय गरेको छ । ‘संघीय शासन प्रणाली कार्यान्वयनसम्बन्धी विधेयक संसद्मा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह गर्ने र सदनमा रहेका विधेयक पारित गर्न अरू दललाई पनि अपिल गर्ने निर्णय भएको छ,’ लेखकले भने ।
बेलाबेला कोरम नपुग्दा संसदीय समितिका बैठक नै बस्न नसकेका उदाहरण छन् । जसका कारण विचाराधीन धेरै विधेयकलाई समितिले अन्तिम रुपमा दिन सकेका छैनन् । कांग्रेसले संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
‘कहिलेकाहीँ कोरम नपुगेर संसदीय समितिको बैठक बस्न नसकेको देखिएको छ । सम्बन्धित समितिको बैठकमा मन्त्रीहरु अनिवार्य उपस्थित हुने, सांसदहरुका कुरा सुन्ने र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनका निम्ति मन्त्रीहरुलाई गम्भीर हुन आग्रह गर्ने निर्णय गरेका छौं,’ लेखकले भने, ‘कांग्रेसका सांसद सभा र समितिमा उपस्थित हुनुपर्छ । प्रभावकारी ढंगले प्रस्तुत हुनुका साथै संसद्को अधिवेशन चल्दासम्म पार्टीका माननीयहरुले अति आवश्यक काम परेबाहेकको अवस्थामा राजधानी छोड्न पाइँदैन । छोड्नै परे संसदीय दलका प्रमुख सचेतक या सचेतकको लिखित स्वीकृति लिनुपर्छ ।’
तोकिए संयोजक
बैठकले विभिन्न १० समितिका संयोजक तोकेको छ । ४० प्रतिशत महिला र अन्य क्लस्टर मिलाएर संयोजक तोकिएको प्रमुख सचेतक लेखकले बताए ।
बैठकले रामनाथ अधिकारीलाई अर्थ, नारायण खड्कालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, रमा कोइराला शर्मा पौडेललाई उद्योग, वाणिज्य तथा श्रम, रोजगार, उपभोक्ता हित र नागिना यादवलाई कानुन, न्याय तथा मानवअधिकार समितिको संयोजक तोकेको छ ।
यस्तै, कुसुमदेवी थापा कृषि, सहकारी तथा प्राकृतिक स्रोत, आशा विक महिला तथा सामाजिक मामिला, दिलेन्द्रप्रसाद बडू राज्य व्यवस्था तथा सुशासन, दिनेशकुमार यादव पूर्वाधार विकास, लीलादेवी बोखिम शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र श्यामकुमार घिमिरे सार्वजनिक लेखा समितिको संयोजक तोकिएका छन् ।
संसदीय कार्यसमितिको निर्वाचन
बैठकले संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । संसदीय दलमा अहिलेसम्म उपनेता पनि तोकिएको छैन । ‘निर्वाचन समिति केन्द्रीय समितिले तोक्छ । निर्वाचन तोकिसकेपछि कार्यसमितिको निर्वाचन हुन्छ,’ प्रमुख सचेतक लेखकले भने ।
कांग्रेसले बजेट अपुग भएका कारण पूरा हुन नसकेका विकास आयोजानामा बजेट थप गर्न सरकारसँग आग्रह गरेको छ । ‘चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसकेका योजनामा बजेटको थप व्यवस्था गरी सम्पन्न गर्न यो बैठक आग्रह गर्दछ,’ लेखकले भने ।
यसैगरी कांग्रेसले राष्ट्रिय सभा सदस्यमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीको हारलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ‘कोशी प्रदेशको परिणाम अनपेक्षित भएको ठहर छ । कोशीमा एकजना उम्मेदवार पराजित हुनुभयो । यो बैठकले यसलाई गम्भीरतापूर्वक लिएको छ,’ प्रमुख सचेतक लेखकले भने । कोशीमा माघ ११ गते भएको निर्वाचनमा गठबन्धनकी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भए