रोपेको थिएँ पिपलु र वर
झांगिन नपाउँदै ढलेर गए वर ।
एक्ली मेरी बहिनीलाई
अब कसले देला भर ।
आफ्नी बहिनी लालसरा राईलाई ज्वाइँ कमलराज खम्बु ‘आने’ले एक्लै छोडेर मृत्युवरण गरेपछि पीडाभाव व्यक्त गर्दै दिदी चौसरा राईले पोखेका कविता सार हुन् यी ।
बहिनी लालसरा पनि दिदी चौसरालाई सान्त्वना भावले कवितामा नै जवाफ फर्काउँछिन्–
तीनचुलामा बास होस्
सन्तुष्ट भएर रहुन् प्यारा
आत्माले शान्ति पाओस्
ठीकै छ– म बेसहरा
जीवनपर्यन्त पनि पलपल सम्झिँदै भक्कानिँदै
बाँच्न विवश बनेकी म प्यारा ठीकै छु,
एकमुठ्ठी सास छउञ्जेल न हो–
आशा भरोसा र विश्वासका यी सारा मेरा दिलका सहारा ।।
\
सञ्चारकर्मी स्व. कमलराज खम्बु राई ‘आने’को सम्झनामा लेखिएका लेखहरूको संग्रह ‘कमलराज खम्बु राई आने स्मृतिग्रन्थ’को कभरपेजमा टाइसुटसहित उनको तस्बिर देखिन्छ भने पुस्तकको पछाडि कभरमा माथि उल्लिखित दिदीबहिनीको भावविभोर कविताका हरफहरू पोखिएका भेटिन्छन् ।
वास्तवमा मृत्यु शाश्वत सत्य हो, कोही अघि कोही पछि फरक यतिमात्र । तर त्यो कुरा बुझेर पनि जसलाई जे परेको छ, त्यो चाहिँ आफूलाई मात्र परेको छ भन्ने सोच्ने गर्दछन् मान्छेहरू । अनि स्मृतिग्रन्थमा कमलराजकी जीवनसंगिनी, सबैभन्दा नजिककी साथी लालसराले उक्त भावका कविता पोखेकी छन् ।
त्यो भाव व्यक्त हुनु स्वाभाविक पनि हो । २०७१ वैशाख ९ गते मंगलबार विवाह बन्धनमा बाँधिएकी लालसराले सात वर्षको छोटो अवधिमै पतिलाई गुमाउनुपर्दाको पीडा उक्त कवितामा प्रस्ट झल्किन्छ । २०७८ माघ २० गते पति कमलराजको देहान्तले विक्षिप्तता भोग्नुपरेपछि उत्पन्न भावको रस कविताको रुपमा पोखिनुबाहेक विकल्प नै के रहन्छ र !
सायद सञ्चारकर्मी कमलराजले स्वर्गबाट कवितामार्फत नै धर्मपत्नी लालसरालाई सम्झाउँदै भनिरहेका होलान्–
लास म होइन
तिमी मेरो मृत्युमा मेरो स्थुल लास हेरी रोलाऊ
तर त्यो म हुँदै होइन ।
म रुपि तŒव प्राणविहीन शरीरलाई फूलपाती अविर दल्लाऊ
त्यो आवश्यकै छैन ।
चित्तामाथि आगोले डढी जाने, माटोमा गलिजाने
त्यो म हुँदै होइन ।
म त मैले गरी छाडेका राम्रा÷नराम्रा काम हुँ
अनि म त मैले सिर्जना गरेको अभिमान हँु ।
त्यसैले मेरो लासमाथि छाडहाली रूनुको अर्थ छैन
स्थुल यो शरीर व्यवस्थापनको विकल्प रहेन ।
हो, सत्य तथ्य वचन पनि त्यही हो । कमलराजका बारे स्मृतिग्रन्थमा लेखेका विचार पनि त्यस्तै त्यस्तै नै छन् । प्रभाव दैनिकका सम्पादक/प्रकाशकसमेत रहेका उनले पत्रिकाको लोगो पनि भगवान् बुद्धको प्रज्ञा र शान्तिको प्रतीक स्वयम्भूको दुई आँखा राखेका छन् ।
प्रज्ञा र शान्तिका दुई आँखाको लोगोले भगवान् बुद्धको अन्त्यावस्थामा आफ्ना चेलाहरूलाई भेला गरी अन्तिम दर्शन दिँदा त्यहाँ तीनथरी भिक्षुहरू देखिएको भाव स्मरण गर्न सकिन्छ । पहिलो थरी भिक्षुहरू थिए– अब भने ठीक हुने भो । अब हामीलाई यो गर्नु हुँदैन भनी हाम्रो स्वतन्त्रपूर्वक बाँच्ने अधिकारमाथि बन्धन गर्नेको मृत्युले फुक्का भयौं भन्ने थिए ।
अर्कोथरी भन्तेहरू थिए– भगवान् सास्ताको देहान्तले संसार नै शून्य–शून्य हुन गयो । अब हामीलाई कसले मार्ग देखाउँछ ? हामी बर्बाद भयौं, बेसहरा भयौं भनी छाती पिटिपिटी रोइरहेका थिए । तर छुट्टै सोचका विद्वान भन्ते भिक्षुहरूचाहिँ यो अनित्य नश्वर शरीर नासवान् छ । यसमा रोनाधोना गर्नुको कुनै औचित्य छैन । हामीले अब भगवान् बुद्धले आफ्नो जीवनकालमा छोडेर जानुभएको धर्मदर्शनालाई आत्मसात् गर्नुपर्दछ भन्ने भावलाई स्वीकारे र बुद्ध दर्शनलाई व्यापक बनाए । तेस्रो सोचका विद्वान भन्तेहरूकै कारण आज २७ सय वर्षपछि पनि विश्वमा बुद्धधर्म, बुद्ध वचन जीवित छ भक्तजनका मनमनमा ।
त्यसैगरी रचनात्मक सोचका प्रतिमूर्ति, सहयोगी भावका व्यक्तित्व सञ्चारकर्मी कमलराजले छोडेर गएका आदर्शलाई निरन्तरता दिनु नै उनीप्रति श्रद्धाञ्जली हुन्छ भन्ने उनको बारमो विचार पोख्ने सबैजसो लेखकको आशय रहेको छ । स्मृतिग्रन्थमा उनलाई सबैले सहृदयी, सरल, सहयोगी भनेर साझा टिप्पणी गरेका छन् ।
तर दुःखको दोभानमा भेटिएकी ‘दिदी लालसरा’ शीर्षकमा पूजा थुलुङ लेख्छिन्– विश्व हल्लाएको कोरोनाले आफ्नी बहिनी हेमुलाई खोसेर लगेको चोटलाई स्मृतिग्रन्थमा समेट्नु कम्प्युटर सेटिङका लागि भेट्न जाँदा । मैले देखें मर्नेहरू त मरिहाले बाँच्नेलाई कति पीडा हुन्छ भन्नेकुरा । जे नहुनुपर्ने हो भयो, छुटेर जानेको माया र सम्झना गहिरो हुँदो रहेछ । आफ्नै पनि मृत्युको स्मृतिलाई हुदयंगम गरी पीडालाई स्वीकार्नुको विकल्प छैन ।
यस्तै भावलाई समेट्दै स्मृतिग्रन्थमा पाँचवीर थुलुङ राईले ‘मुटु चोइटियो’ भनेर लेखेका छन् । पवित्रा राई, डायरी एम्प्रेसका सम्पादक नारायण शर्मा, सरला वैजु, देव वाहिङ, दीर्घा खत्री, नरहरि बस्नेत, दिपा सुनुवारलगायतले सञ्चारकर्मी कमलराज पित पत्रकारिताका प्रतिवादी थिए भनेर सम्झेका छन् ।
मान्छेले जीवनकालमा कमाउने भनेको असल र दुश्कर्मको फलमात्र हो, मृत्युपछि लिएर जाने भनेको पनि त्यही कर्मको फलमात्र हो । कमाएको धन दौलत, नाता कुटुम्ब, इष्टमित्र, आफन्त सबैसबै यही छोडेर जानुपर्छ । स्मृतिग्रन्थमा कमलराजबारे यस्तै भाव प्रकट भएका छन् ।
हङकङ निवासी दिपा एवाईको विचारमा कमलराज उमेर गएपछि पनि पढ्नुपर्छ भन्ने सोचका उत्प्रेरक अभिभावक थिए । टंक राई, राजेश चाम्लिङले सञ्चारकर्मी कमलराज भाषिक पत्रकारिताका प्रवद्र्धनकर्ता भएको तथ्य पस्किएका छन् । प्रभाव दैनिकका निर्देशक कृष्ण कार्कीले आफू कमलराजको सबैभन्दा मन मिल्ने मित्र भएको भन्दै उनको जीवनको सार नै प्रभाव दैनिक भएको लेखेका छन् ।
धर्मपत्नी लालसराले लेखको अन्त्यमा श्रीमान्ले छोडेर गएको जिम्मेवारी पत्रकारिता, घरको जिम्मेवारी सासूआमालाई छोरा वा छोरीले गर्नुपर्ने कर्तव्य सबैसबै पूरा गर्ने छु भनी एउटी नेपाली आदर्श नारीको प्रतिबद्धता जाहेर गरेकी छन् ।
जहाँ रहे पनि सन्तुष्ट रहनु भनी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै रहँदा ध्रुव केसीले गाएको गीत स्मरण गराउँछ–
मायालु हजार हुन्छ, तर माया दिनुपर्ने एउटै हुन्छ
त्यो लिन गाह्रो हुन्छ, दिन पनि गाह्रो हुन्छ
लासमाथि पनि माया बाँचिरहेकै हुन्छ...
ओखलढुंगा माने भञ्ज्याङस्थित राज्यलक्ष्मी मावि कमलराजले पढेको विद्यालय हो । त्यही विद्यालयमा पढ्ने विद्यार्थीलाई प्रोत्साहित गर्न धर्मपत्नी लालसराले पतिको स्मृतिमा छात्रवृत्ति पुरस्कार स्थापना गर्न एक लाख एक हजार १११ रुपैयाँको कोष खडा गरिदिएकी छन् । पति कमलराजको स्मरणमा उनी आफैंले लेखेको कविता पनि सार्वजनिक गरेकी छन्–
मेरो सुखदुःखका दिलका राजा
मेरो जीवनका संरक्षक थियौं
२०७८ माघ २० गते बिहीबार
आँट भरोसाको दियो झ्याप्पै निभायौं
अब अँध्यारोको यात्रा कहाँ टुंगिन्छ
विक्षिप्त छु, अब जीवन कहाँ भेटिन्छ ।
स्मृतिग्रन्थमा सञ्चारकर्मी कमलराजले आदिवासी जनजाति, दलितलगायत उत्पीडित तथा पिछडिएका समुदायका लागि पत्रकारितामार्फत पु¥याएको योगदानबारे धेरैले चर्चा गरेका छन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा उनले उठाउँदै आएको आवाज, उनले गरेका सामाजिक कार्य र सबैसँग मिलेर बचेको जीवन सफल बनाउनुपर्ने मार्गनिर्देश गरेर गएको कुरा लेखक अग्निधर धमला, अमृता अर्याल, अरन श्रेष्ठ, इच्छा गुरुङ, उमेश राना मगर, एमपी सुब्बा, ऐश्वर्य त्रिपाठी र कुमार यात्रुलगायतले दर्शाएका छन् । ग्रन्थमा चेतनाथ धमला, दिनेश कार्की, दिपा सुनुवार, दीर्गा खत्री, देवेन्द्र पाण्डे, मदनकुमार श्रेष्ठ, महेन्द्र शाही, शान्तराम विडारी, शान्ति अधिकारी, सुदिप रैला, सुमित्रा सिमा राईलगायत झण्डै ४०० जनाभन्दा बढीले आडभरोसापूर्ण स्मृतिका शब्दहरू लेखेर भाव व्यक्त गर्नुले स्वर्गीय कमलराजले मान्छेचाहिँ कमाएको रहेछ भन्ने प्रमाणित हुन्छ ।
स्मृतिग्रन्थको खण्ड दुईमा अकेला राईले आफूलाई कमलराज बनाएर शुभकामना शीर्षकको कवितामा भाव पोखेकी छन्–
माफ गर प्रिया,
तिमीले बाँचेको जिन्दगी मेरै लागि थिए होलान्
तर मैले जिन्दगी, तिम्रो लागि बाँच्न सकिनँ
भो अब मेरो कारण तिमी उजाड नबन्नू
मैले उमार्न नसकेका बेर्ना, तिमीले नै उमार्नू
फुल्नू फल्नू, शुभकामना प्रिया ।
डी अनुरागीलेचाहिँ आफूलाई लालसराको रुपमा उभ्याउँदै लेखेका छन्–
तिम्रो कोमल मनबाट निस्फिक्री सजिएको मेरो सिउँदो
सम्बन्धलाई फिका पारी जाने तिमीसँगको
कुनै कुइनेटाहरू छिचोल्न सकिनँ ।
तर ठीकै छ, तिम्रो स्वर्गीय घर, फूलै फूलले छाइरहोस्
हाम्रो सन्तान पनि यही कृति नै हुने छ ।
तिम्रो स्मृतिको शब्दले घर बनाएकी छु
जसले अमरत्व ग्रहण गर्ने छ ।
धर्मपत्नी लालसराद्वारा व्यक्त विचारलाई अन्य कवि कवयित्रीहरूबाट पनि आ–आफ्नो भावमा कविता लेखेर प्रस्तुत गरेका छन् । जस्तैः कवि डा. चमा थुलुङ, डा. पुरण राई, विन्दाकुमारी राई, शरण खत्री मृदुल, आफ्नै मातृभाषामा कविता पोख्ने सोनाम सज्जन किरातीले लेखेका कमलराजप्रतिको स्मृति लेखन साहित्य यस ग्रन्थमा कालजयी बनेर रहिरहने छ ।
अन्त्यमा ‘शान्तिको सास फेरेपछि’ शीर्षकमा कमलराजको स्मरण गर्ने लेखक मविन्द्र राईले अगाडि सारेको टिप्स, ‘जो देखिन्छ, त्यो छेकिन्छ । जो भेटिन्छ, त्यो छुट्टिन्छ ।।’ भन्दै लेखनी बिसाउँछ