- एमालेबाट स्व. सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ बलिया आकांक्षी
- पत्रकार मिलन लिम्बू रास्वपाबाट उम्मेदवार चर्चा
- गठबन्धनबाट कांग्रेसका डम्बर खतिवडा उम्मेदवार बन्ने सम्भावना
- पहिचानवादीहरू युवा नेतालाई नै उम्मेदवार बनाउने तरखरमा
काठमाडौं– गत भदौमा संविधानसभा अध्यक्षसमेत भइसकेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनपछि इलाम–२ रिक्त छ । रिक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । तर, मिति भने टुंगो लागिसकेको छैन । आयोगका अनुसार उपनिर्वाचनको मिति सरकारलाई सिफारिस गर्ने तयारी भइरहेको छ ।
यहीबेला नेकपा एमालेले भने दिवंगत नेता नेम्बाङकै कान्छो छोरा सुहाङलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ । उनी अधिवक्ता हुन् । अध्यक्ष केपी शर्मा ओलीसमेत उनलाई टिकट दिन सकारात्मक छन् ।फेरि, एमालेमा कुनै नेताको निधन भए उनकै परिवारका सदस्यलाई उम्मेदवार बनाउने थिति नै बसेको छ । यसले गर्दा पनि सुवासको क्षेत्रमा छोरा सुहाङ उम्मेदवार बन्ने सम्भावना बलियो छ । बुबा (सुवास)को श्रद्धाञ्जलीसभालाई इलाममा सम्बोधन गर्ने क्रममा उनले बुबाको सपना पूरा गर्न चाहेको र साथ पाउने आशा राखेको पनि बताएका थिए । उनको यो अभिव्यक्तिले पनि उनी उपनिर्वाचनमा उम्मेदवार हुन चाहेको प्रस्ट पारेको छ ।
तर, एमालेकै इलाम–२ का कतिपय नेताहरू सुहाङलाई टिकट दिन हुँदैन भनेर कस्सिएर लागेका छन् । सुवासका कारण २५ वर्ष अवसर नपाएको र यदि सुहाङले टिकट पाएर चुनाव जिते थप तीन दशक अवसर नपाउने चिन्ता उनीहरूमा छ । सुहाङको राजनीतिक तथा सामाजिक योगदान पनि चुनाव क्षेत्रमा नभएकाले उनलाई टिकट दिन नहुने उनीहरूको मत छ ।
यसरी एमालेकै एकथरी नेता कार्यकर्ताहरू सुहाङको टिकट रोक्न चाहिरहँदा इलाम–२ मा पत्रकार मिलन लिम्बू चुनावी मैदानमा उत्रिने तयारीमा छन् । उनी त्यही क्षेत्रका स्थानीय हुन् । विभिन्न टेलिभिजन हुँदै हाल दृष्टि साप्ताहिकका सम्पादक लिम्बू रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने तयारीमा रहेको चर्चा छ । उनले भने यसबारे खुलस्त पारेका छैनन् । उनी हाल सत्तारूढ दल नेकपा माओवादी केन्द्रनिकट छन् ।
प्रभावसँग उनले भने, ‘चुनाव लड्ने हो । चुनावी तयारीमा लागी नै सकेँ । हेरौँ, के हुन्छ ? टिकटबारे निर्वाचन मिति घोषणापछि थाहा होला तर म चुनाव लडेर इलाम–२ बाट प्रतिनिधिसभामा आउने छु ।’सत्ता गठबन्धनबाट कांग्रेस नेता डम्बर खड्का उम्मेदवार हुने सम्भावना छ । यसअघि उनी सुवाससँग झिनो मतान्तरले पराजित भएका थिए । त्यही भएर यसपटक पनि खड्का उम्मेदवार बन्न सक्ने अवस्था देखिएको छ । कांग्रेसबाट नेता भेषराज आचार्यसहितका नेताहरू पनि आकांक्षी छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमाले फर्किएर उम्मेदवार हुने गाइँगुइँ चर्चा छ । हुन पनि उनी एमालेसँग पार्टीलाई एकता प्रक्रियामा लैजानुपर्छ भन्ने नेता हुन् । उनीनिकट युवा नेता सञ्जीव राईले खनाल एमालेमा नजाने र उम्मेदवार पनि नहुने बताए ।पहिचानवादीहरूले पनि त्यहाँ युवा नेतालाई उम्मेदवार बनाउन खोजिरहेका छन् । तर, हालसम्म टुंगो लागेको छैन । यद्यपि, विकसित चुनावी माहोलका आधारमा भन्ने हो भने यहाँ युवा नेताहरू सुहाङ, लिम्बू, खड्कालगायतबीच आपसमा टक्कर हुने छाँट देखिएको छ ।
२०५६ यता लगातार यहाँदेखि सुवास नेम्बाङ सांसद भइरहे । त्यसअघि उनी दुईपटक राष्ट्रिय सभा सदस्य थिए । पटक–पटक संविधानसभा अध्यक्ष भएका उनको गत भदौमा निधन भएपछि उक्त चुनाव क्षेत्र रिक्त छ । रिक्त क्षेत्रमा हुन लागेको चुनावमा युवा नेताहरू चुनावी मैदानमा उत्रिन तरखरमा रहेको देखिएको छ ।