भोलिदेखि युद्धमा जाँदै छु, मर्ने बाँच्ने टुंगो हुँदैन । बालबच्चा राम्रोसँग हेर्नू भन्नुभएको थियो ।
बुद्धिमाया बाम्रो तामाङ
ललितपुर
काठमाडौं– ‘म अर्को क्याम्पमा जाँदै छु । त्यहाँदेखि लडाइँमा पठाउँछ । फर्कें भने फोन गर्छु । चिन्ता नलिनू है,’ माघ ४ गतेको दिन ह्वाट्सएपमा कल गरेर श्रीमान् बुद्धसिंहले भनेको सुनाउँछिन् कानपुर, काभ्रेकी मीममाया तामाङ ।
बुद्धसिंहले चिन्ता नलिनू भने पनि मीममाया त्यही दिनदेखि चिन्तित छिन् । किनभने त्यसपछि १५औं दिनसम्म कल आएको छैन । कल गर्दा लाग्दैन पनि । यसले गर्दा मीममाया पिरमा छिन् । ‘जीवितै हुनुहुन्छ कि कस्तो हुनुहुन्छ ? थाहा छैन,’ आँसु पुछ्दै प्रभावसँग भनिन् ।
गाह्रो छ बहिनी, आउन सक्छु कि सक्दिनँ भन्नुभएको छ । सरकारले उद्धार गरे हुने ।
शीला राई
खोटाङ
गत २९ असोजमा बुद्धसिंह एजेन्टमार्फत रुस गएका हुन् । मीममायाका अनुसार रुस जान आठ लाख रुपैयाँ बुझाइएको थियो । त्यसरी रुस पुगेपछि रुसी सेनामा भर्ती भएको तस्बिर मीममायाको ह्वाट्सएपमा पठाएका थिए । यसबीचमा उनीहरूबीच बेलामौकामा कुराकानी हुन्थ्यो । अहिले दुई सातादेखि बुद्धसिंह सम्पर्कमै छैनन् । सम्झना आउँदा त्यही तस्बिर हेरेर रुन्छिन्, मीममाया ।
कहिले कल आउला भनेर पर्खाइमा छिन् । बुद्धिसिंहको कल छिटो आओस् भन्ने उनको प्रार्थना छ । तर, उनको मनमा झस्को पनि छ । त्यो हो– सम्पर्कमा नआएकाहरू प्रायः लडाइँमा मरिसकेका हुन्छन् । यस्तो नहोस् भन्ने उनको कामना छ ।
रूस–युक्रेनबीच युद्ध भइरहेको छ । त्यहाँ हामीलाई लड्न पठाइँदै छ । जतिबेला पनि ज्यान जानसक्छ, मर्ने बाँच्ने टुंगो हुँदैन भन्नुभएको थियो ।
टीना घिमिरे
बसाहा, उदयपुर
‘अस्ती एकपटक दुई लाख ५० हजार पठाउनुभयो । त्यसपछि छैन,’ उनले भनिन्, ‘कुरा हुँदा यहाँ साह्रै गाह्रो छ बाँच्न भन्नुहुन्थ्यो । एकपटक भागेको तर रुसी सेनाले पक्राउ ग¥यो भन्नुहुन्थ्यो । त्यसपछि बेस्सरी कुट्यो भनेर सुनाउनुभयो । अहिले त सम्पर्कमै छैन ।’
मीममाया र बुद्धसिंहको घर काभ्रेको कानपुर हो । कोरोनाकालअघिसम्म काठमाडौंमै उनीहरूको फलाम उद्योग थियो । कोरोनाले व्यापार ठप्प भएपछि उद्योग बेचे । त्यसपछि ज्याला मजदुरी गर्दै आएका बुद्धसिंह एजेन्टको प्रलोभनमा लागेर रुस पुगेका हुन् । अहिले उनको अत्तोपत्तो छैन । यता मीममाया र उनको परिवारमा रुवावासी छ । उनले सरकारसँग बिन्ती गर्दै भनिन्, ‘सरकार ! मेरो श्रीमान्लाई सकुशल फर्काइदेऊ ।’
मीममायाको जस्तै ललितपुरकी बुद्धिमाया ब्रामु तामाङको पनि श्रीमान् सोमबहादुर रुसमा बेपत्ता भएदेखि आँखा ओभाएको छैन । माघ ९ गतेदेखि सोमबहादुर सम्पर्कमा छैनन् । ३५ वर्षका उनी नेपालमा हुँदा ज्याला मजदुरी नै गर्थे । तर, गत वर्षमासको एक दिन साथी राकेशले सोमलाई रुसमा मासिक साढे तीन लाख रुपैयाँ कमाइ हुन्छ भने । दायाँबायाँ केही नसोचि एजेन्टमार्फत उनी दुबाई हुँदै रुस गए । त्यहाँ दुई हप्ताको तालिम सकेपछि युद्ध लड्न युक्रेन पठाउन लागेको ह्वाट्सएपमा सुनाएका थिए ।
जीवितै हुनुहुन्छ कि कस्तो हुनुहुन्छ, थाहा छैन ।
मीममाया तामाङ
कानपुर, काभ्रे
‘भोलिदेखि युद्धमा जाँदै छु । मर्ने बाँच्ने टुंगो हुँदैन । बालबच्चा राम्रोसँग हेर्नू,’ सोमले यही माघ गतेको दिन भनेको बुद्धिमायालाई सम्झना छ । यसपछि श्रीमान्सँग उनको सम्पर्क टुटेको छ । उनी अत्तालिएकी छन् । निरास पनि छिन् । ‘श्रीमान्को केही खबर नआएपछि मन आत्तिएको छ । मलाई रातमा निद्रा छैन,’ उनले भनिन्, ‘युद्ध लड्नुपर्ला भन्ने थाहा पाएको भए किन पो जान दिने थिएँ र !’
उनी आफ्ना श्रीमान् सम्पर्कविहीन भएपछि सरकारलाई गुहारिरहेकी छन् । कहिले उनी परराष्ट्र मन्त्रालय त कहिले काठमाडौंस्थित रूसी दूतावास पुग्छिन् । तर, कहीँबाट आफ्नो श्रीमान्को अवस्था थाहा पाउन सकेकी छैनन् । उद्धारको कुरा त परै जाओस् । उनले गुनासो पोख्दै भनिन्, ‘आफ्नो नागरिक परदेशमा हराउँदा सरकारले वास्ता गरेको छैन । संकटमा आफ्नो नागरिकलाई न हेर्ने सरकार हामीलाई किन चाहियो ?’ सोम र बुद्धिमायाका १५ वर्षीया एक छोरी र आठ वर्षका एक छोरा छन् ।
खोटाङकी शीला राई दाजु रविन रुसी सेनाको तर्फबाट युक्रेनी भूमिमा लडाइँ लड्ने क्रममा गम्भीर घाइते भएकोले उनलाई नेपाल झिकाउन गुहार मागिरहेकी छन् । अडियो सन्देशमा धेरै गाह्रो अवस्था रहेको र आउन सक्छु कि सक्दिनँ भन्ने गरेको बताइन् । ‘दाजु रुस जानुभएको पाँच महिना नाघ्यो । अहिले घाइते भएर अस्पतालमा २२ दिनदेखि उपचाररत हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँले गाह्रो छ बहिनी, आउन सक्छु कि सक्दिनँ भन्नुभएको छ । अडियो कलमा कुरा हुन्छ । भिडियोमा हेर्न पनि पाएको छैन । सरकारले उद्धार गरे हुने ।’
टिकटकमा रविनको मिस्टर पुमा नामको अकान्ट छ । उनी युक्रेनमा लडाइँ लड्ने क्रममा घाइते हुनुभन्दा अघि टिकटकमा भिडियो बनाउँथे । उनका केही भिडियो भाइरल थिए । यतिबेला भने उनी अस्पतालको शय्यामा घाइते अवस्थामा रहेको बहिनी शीलाले आँसु झार्दै भनिन् । उदयपुरको बसाहका पदम घिमिरे त झन् दुई महिनादेखि सम्पर्कमै छैनन् । पूर्वनेपाली सेना उनी सेवा निवृत्त भएलगत्तै एजेन्टको कुरा सुनेर रुसी आर्मीमा भर्तीका लागि गएका थिए । श्रीमती टीनाका अनुसार एजेन्टले त्यसबेला मासिक साढे तीन लाख रुपैयाँ तलब हुने भनेका थिए ।
गएको एक वर्षपछि पिआर पाइने र परिवार पनि लैजान मिल्ने पनि भनेका थिए । एजेन्टको यस्तो कुरा सुनेर लोभिएका पदम गत असोजमा दुबाई ट्राञ्जिट हुँदै रुस गएका हुन् । त्यसबेला पदमले एजेन्टलाई आठ लाख बुझाएका थिए । त्यसरी रुस पुगेका पदमले केही दिन तालिम दिएर युद्धमा पठाउन लागेको र मर्न पनि सकिने भनेको टीनाले बताइन् । ‘रूस–युक्रेनबीच युद्ध भइरहेको छ । त्यहाँ हामीलाई लड्न पठाइँदै छ । जतिबेला पनि ज्यान जानसक्छ, मर्ने बाँच्ने टुंगो हुँदैन,’ श्रीमान्ले भनेको कुरा उनले सम्झिइन् ।
यसो भन्दै गर्दा टीनाको काखमा रहेका चार वर्षीय छोरा प्रज्वल भन्दै थिए, ‘बाबा चाहियो ।’ तर, बाबा पदम भने सम्पर्कविहीन छन् । जीवितै छन् कि कस्तो छन् ? टुंगो छैन ।टीनाका अनुसार युद्धमा मारिने त्रासले पदमले दुईपटक भाग्ने प्रयास गरेका थिए । तर, दुईपटक नै विफल भयो । रुसी सेनाले खोजीखोजी नियन्त्रणा लिए । ‘उहाँले दुईपटक भाग्ने कोसिस पनि गर्नुभए छ । तर, दुईपटक नै उहाँलाई पक्रेछ,’ उनले भनिन्, ‘पहिलोपटक भाग्दा पाँचौं दिनमा फेला पारेर पक्रेछ । दोस्रोपटक भाग्दा त दोस्रो दिनमै पक्रेछ । त्यसपछि पिट्नुभयो भन्नुहुन्थ्यो ।’
यसपछि १४ मंसिरमा भने आफूलाई युद्धमा लान लागेको भन्दै टीनालाई पदमले ह्वाट्सएपमा भनेका थिए । त्यसपछि अहिलेसम्म पदम सम्पर्कमा आएका छैनन् । उनले सरकारसँग छिटो श्रीमान्लाई जीवितै भए देश झिकाउन माग गरेकी छन् । यदि, जीवित छैन भने पनि लास ल्याइदिन आग्रह गरेकी छन् ।
रुसी सेनाबाट भागेर फर्किएका सुमन राई भन्छन्–
रुसी सेनामा १४–१५ हजार नेपाली छन् । रेडजोनमा हामी (नेपाली) नै जाने हो । युक्रेनी सेनाहरू क्याम्प लिएर पहिल्यै बसेका हुन्छन् । नापी नापी हामीलाई हान्छन् । हामी लुक्दै भाग्दै गर्नुपर्छ झारमा । हामी त बाँच्ने चान्स शून्य छ । युद्धको मैदानमा हामी जाने हो । धेरै नेपाली मरिरहेका छन् । त्यो बाहिर आएको छैन । तर, चार–पाँच सय जना नेपाली मरिसकेको हुनुपर्छ ।
एउटा क्याम्पमा ३०० जना रहेकामा ७० जना र त्यसपछि ३५ जना हुँदै नौ जनासम्म बाँचेको कुरा युक्रेनमा हुँदै त्यो क्याम्पमा भएको दाजुले मलाई भन्नुभयो । त्यसपछि घर फर्किने मन भयो । तर, फर्किन सक्ने अवस्था थिएन । मेरो तालिम रुसभित्रै थियो । एक हप्ताभित्रै लडाइँमा लाँदै थियो ।
मस्कोदेखि आठ घण्टा गाडीमै लाग्ने ठाउँमा थिएँ । आउन सक्ने थिइनँ तर स्याङ्जाको एकजना क्षेत्री दाई मेरो लागि भगवान् हुनुभयो । त्यहाँ चार वर्षदेखि बस्नुभएको रहेछ, रसियन भाषा बुझ्ने र बोल्ने । उहाँले झण्डै मेरो तीन लाख रुपैयाँ एजेन्टलाई बुझाएर सुरक्षित साथ भगाउनुभयो ।अहिले यहाँ (देश) आइपुगेको छु । त्यहाँ (रुसमा) धेरै गाह्रो छ । दुबाई, कतारतिर रहेका नेपाली पनि त्यहाँ छन् । मलाई लाग्छ, त्यहाँ १४–१५ हजार जना नेपाली रुसी सेनामा छन् ।
(रुसबाट फर्किएका राईसँग गरिएको कुराकानीमा आधारित । उनी खोटाङका हुन् ।)