काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाले इ–सेभेन भिसामा नेपाली श्रमिक लैजाने प्रस्ताव गरेको बताएको छ । कोरियाबाट निश्चित क्षेत्रमा विशेषज्ञता वा सीप हासिल गरेका श्रमिकलाई इ–सेभेन भिसामा लैजान प्रस्ताव आएको मन्त्रालयले उल्लेख गरेको छ ।
कोरियाले उक्त भिसामा श्रमिक लैजाने प्रस्ताव गरे पनि कसरी पठाउने भन्नेमा निक्र्योल भइनसकेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली श्रमिक कोरिया गइरहेको अवस्थामा दक्ष जनशक्तिलाई कुन विधिबाट पठाउने भन्नेमा छलफल भइरहेको छ ।
अदक्ष श्रमिक इपिएसमार्फत पठाउँदै आए पनि दक्ष श्रमिक इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)बाट पठाउन पाउनुपर्ने वैदेशिक रोजगार व्यवसायीहरुले माग गर्दै आएका छन् । व्यवसायीहरुले माग गरेकै कारण सरकार आफैंले इ–सेभेन भिसामा श्रमिक पठाउनेसम्बन्धमा निर्णय गर्न नसकेको ती अधिकारीले बताए । कोरियामा इ–सेभेन भिसामा आफूहरुले श्रमिक पठाउन पाउनुपर्ने माग राख्दै दबाबस्वरुप व्यवसायीहरुले दुई हप्ताअघि मात्रै श्रमसचिव केवलप्रसाद भण्डारीलाई १९ बुँदे मागपत्र बुझाएका थिए ।
इपिएस स्रोत मुलुकबाटै इ–सेभेन भिसामा श्रमिक लैजाने जानकारी दिंदै नेपालबाट पनि सोहीअनुरुप व्यवस्था मिलाउन कोरियाली पक्षले आग्रह गरेको पनि ती अधिकारीले बताए । ‘इ–सेभेन भिसामा जानेहरूको न्यूनतम पारिश्रमिक पनि इपिएसबाट जानेको भन्दा बढी नै हुने भएकाले यसका व्यवसायीहरुको स्वार्थ जोडिएको छ,’ ती अधिकारीले भने, ‘यसमा मन्त्रालयले कुनै निर्णय गर्न सकेको छैन, तर म्यानपावर कम्पनीमार्फत नै पठाउन माथिल्लो तहबाटै दबाब आइरहेको छ ।’
मन्त्रालयले यस विषयलाई छिट्टै नटुंग्याए इ–सेभेन भिसामा आएको श्रमिकको माग गुम्नसक्ने पनि ती अधिकारीको भनाइ छ । मन्त्रालयका केही अधिकारीहरुले कोरियाले इ–सेभेन भिसामा निजी क्षेत्रमार्फत श्रमिक लैजाने गरेको बताउँदै यसको जिम्मेवारी म्यानपावरलाई दिनुपर्ने लबिङ गरिरहेको बताएका छन् ।
कोरियाले पछिल्लो समय ठूलो संख्यामा दक्ष आप्रवासी श्रमिकको अभाव हुँदै गएको कारण नेपालबाट मात्रै नभई सबै स्रोत मुलुकबाट इ–सेभेन भिसामा श्रमिक लैजाने प्रक्रिया अघि बढाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजिव पोखरेलले बताए । व्यवसायीले इ–सेभेन भिसामा आफूहरुले श्रमिक पठाउन पाउनुपर्ने माग राखे पनि सकेसम्म सरकार आफैंले पठाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।