काठमाडौं– आज विश्व क्यान्सर दिवस । विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाइँदै छ । यो वर्ष ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ ।
चिकित्सकहरुका अनुसार समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुन्छ । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने उनीहरुको भनाइ छ ।
क्यान्सर रोग प्रारम्भिक चरणमा पहिचान भएर उपचार गरे जस्तोसुकै क्यान्सर पनि निको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए । ‘समयमा नै क्यान्सर पहिचान गर्न सके निको हुन्छ,’ उनले भने, ‘क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिन्छ ।’
पहिचानलगत्तै उपचार नगराउँदा रोग फैलिएर मानिसको मृत्यु हुने गरेको डा. शाहीले बताए । उनका अनुसार नेपालमा बर्सेनि २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने गरेको छ । करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।
क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. शाहीले क्यान्सर रोग लाग्दैमा डराउनु नपर्ने बताएका छन् । ‘फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भएर शरीरको अन्य भागमा गएको छैन भने त्यसलाई चरण–शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण–एक, फोक्सोमा अलि धेरै क्यान्सर फैलियो भने चरण–दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने चरण–ती र त्यहाँबाट अर्को अंग कलेजो वा पेटमा गयो भने चरण–चार भनिन्छ,’ उनले भने ।
क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने डा. शाहीको भनाइ थियो । शरीरका अन्य अंगसम्म नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने भन्दै क्यान्सर लाग्दैमा डराउनु नपर्ने उनले बताए ।भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा फैलिएपछि उपचार गर्न गाह्रो हुने भन्दै समयमा नै पहिचान भए उपचार सम्भव हुने बताए । उनले प्रि–क्यान्सर (क्यान्सर पूर्वको अवस्था) मा खासै लक्षण नहुने भएकाले मानिसले यो रोग लागेको थाहा नपाउने बताए ।
‘क्यान्सरको सुरुको चरणमा शरीर नदुख्ने भएका थाहा पाइँदैन । त्यसैले यसलाई झुक्काउने रोग पनि भनिन्छ,’ डा. चालिसेले भने, ‘शरीर नदुख्ने भएपछि बिरामीले पनि आफूलाई केही नभएको अनुभव गर्दछन् । जब क्यान्सर फैलिन थाल्छ अनि बिरामीले दुखेको महसुस गर्ने हुँदा रोग लागेको थाहा पाउँछन् ।’ पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भवना रहने डा. चालिसेले जानकारी दिए । उनले जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताए ।
क्यान्सर हरेक अंगमा हुन सक्छ
क्यान्सर रोग विशेषज्ञ डा. शाहीले विश्वसँगै नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गइरहेका बताए । ‘पहिलापहिला क्यान्सर दशमध्ये एक रोगमा पर्दैनथ्यो । अहिले विश्वमा मुटु रोगपछि क्सान्सर दोस्रो नम्बरमा पर्ने गरेको छ,’ उनले भने ।
डा शाहीले नेपालमा सबैभन्दा बढी फोक्सो त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको जानकारी दिए । उनका अनुसार त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।
क्यान्सर के कारण हुन्छ ?
क्यान्सर हुने कारण यहीँ हो भनेर यकिन गर्न नसकिएको डा. शाहीले जानकारी दिए । उनका अनुसार अत्यधिक धूमपान तथा मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको तथा, वंशाणुगतलगायत कारणले क्यान्सर रोग नित्याउँछ ।
‘भात, दाल, तरकारी, अचार नखाएर हामी बढी जसो फास्टफुड, जंकफुड, धूमपान, मद्यपान, पोलेको खाने, व्यायाम नगर्ने, सडेगलेका तथा बासी खानेकुरा खाँदा क्यान्सर हुने सम्भावना धेरै हुन्छ,’ डा. शाहीले भने, ‘पहिलापहिला खाना नपाएर बच्चा दुब्लाउने गर्दथ्यो ।
अहिले मोटोपनले गर्दा क्यान्सर हुने दोस्रो कारक बन्दै गएको छ ।’ उनले खानपिन, आराम, व्यायाम, धूमपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्ने सकिने बताए ।डा. चालिसेले जीनमा खराबी उत्पन्न गराउने कारक तŒवमध्ये सुर्तीजन्य तथा मादकपदार्थ सेवन, अखाद्य तत्व, व्यायामको कमीलगायत प्रमुख रहेका जानकारी दिए ।
रोगथामका उपाय
क्यान्सरको रोकथामका लागि धूमपान मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित र स्वस्थ भोजन खाने, नियमित शारीरिक व्यायाम गर्ने, महिलाले आफ्नो स्तन र पाठेघरको मुखको नियमित परीक्षण गराउने गर्नुपर्दछ ।
रासस