काठमाडौंबासीले भोग्दै आएका मुख्य समस्यामध्येमा पर्छ, फोहोर व्यवस्थापन । गत स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले फोहोर व्यवस्थापनलाई प्राथमिकताका साथ आफ्नो चुनावी एजेण्डामा अघि सारे । काठमाडौंका जनताले विश्वास गरेर उनलाई मत दिए र अन्ततः ठूला दलका उम्मेदवारहरुलाई पाखा लगाउँदै स्वतन्त्र युवा बालेन विजयी भए । देशकै सबैभन्दा ठूलो महानगर कठमाडौं महानगरपालिकाको नेतृत्व लिइरहँदा उनीमाथि पहिलो चुनौती नै फोहोर व्यवस्थापन बन्यो । त्यो चुनौती अद्यपि कायमै छ ।
महानगरले फोहोर व्यवस्थापनलाई दीर्घकालीन बनाउन स्रोतमै वर्गीकरण गर्ने योजना अघि सारेको थियो । स्रोतमै वर्गीकरण भनेको घरमा फोहोर जम्मा गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने नीति महानगरले ल्याएको थियो । तर, उक्त नीति कार्यान्वयनमा आउन सकेको थिएन । अब भने महानगरले विशेष तयारीका साथ स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्ने अभियान सुरु गरेको छ । यसका लागि महानगरपालिकाले रङ संकेतसहितको गाडी तयार पारेको छ ।
फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठको भनाइ छ । उनकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको बीचबाट दुई खण्ड बनाइएको छ । हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बीचमा गरी दुईवटा ढोका छन् । यसमध्ये बीचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ ।
बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ राखिएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब एक हजार ५०० किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ ।
महानगरले फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नं. २७ बाट कार्यान्वयन गर्ने तयारीका साथ सचेतनामूलक अभियान सुरु गरेको छ । यो वडाको कार्यक्रम सफल बनाएर वडा नं. १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लैजाने महानगरको योजना छ । महानगरले सुरु गरेको यो अभियानबाट सर्वसाधारण पनि उत्साहित देखिएका छन् । यसले फोहोर व्यवस्थापन साँच्चै प्रभावकारी र दीर्घकालीन बनाउला या नबनाउला, त्यो त हेर्न बाँकी नै छ । यद्यपि, महानगरले सुरु गरेको यो अभियान सराहनी छ । यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानुको विकल्प छैन ।