काठमाडौं– स्वर्गीय पत्रकार कमलराज राईको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यसका लागि अक्षयकोष स्थापना गर्ने कार्य अघि बढाइएको छ । शनिबार पत्रकार राईको दोस्रो स्मृति दिवसको अवसरमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको हो ।
प्रभाव दैनिकका तत्कालीन सम्पादक रहेका पत्रकार राईको २०७८ माघ २० गते हृदयघातका कारण निधन भएको थियो । शनिबार आयोजित कार्यक्रममा उनकी धर्मपत्नी तथा अक्षयकोष स्थापनार्थ गठन गरिएको तदर्थ समितिकी संयोजक लालसरा राईले कमलराजलाई पत्रकारिता क्षेत्रले सम्झिइराख्ने वातावरण बनाउन उनको नाममा पुरस्कार स्थापना गर्न लागेको जानकारी दिइन् ।
‘आज माघ २०, उहाँले छाडेर जानुभएको दिन मेरो लागि कालो दिन हो । यो कठिन परिस्थितिलाई स्वीकार्दै उहाँको अधुरा सपनाहरु पूरा गर्ने कोसिस गर्दै छु,’ उनले भनिन्, ‘उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदान पछिसम्म सम्झनामा रहोस् भन्ने उद्देश्यले पुरस्कार स्थापना गर्न लागेका हौं ।’
पुरस्कारका लागि अबको केही महिना सहयोग संकलन गरी अक्षयकोष बनाउने लक्ष्य रहेको उनले सुनाइन् । कोषबाट नेपाल पत्रकार महासंघ वा कुनै संस्थासँग सहकार्य गरी प्रत्येक वर्ष पत्रकारिता पुरस्कार वितरण गरिने संयोजक राईले बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सदस्य अर्जुनबहादुर तामाङले पत्रकार राईको स्मृतिमा पुरस्कार स्थापना गर्ने कार्य सराहनीय भएको बताए । उनले मातृभाषा पत्रकारितामा स्वर्गीय पत्रकार राईको लगाव रहेको र उनले आफ्नो मातृभाषाको पत्रिकासमेत दर्ता गरेको स्मरण गर्दै पुरस्कार मातृभाषी पत्रकारलाई लक्षित गर्न सुझाव दिए । उनले कोषमा व्यक्तिगत तथा तामाङ डाजाङ पत्रिकाकोतर्फबाट आर्थिक सयोगको घोषणासमेत गरे ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य रमेशकुमार बोहोराले स्वर्गीय पत्रकार राई यही शाखाको कार्यसमितिमा बसेर काम गरेको उल्लेख गर्दै यही शाखाबाट पुरस्कार वितरण गर्दा प्रभावकारी र दिगो हुने धारणा राखे । उनले आफूहरुकै कार्यकालमा रकम हस्तान्तरण गरे कोष स्थापना गर्न सहज हुने बताए । पत्रकार बोहोराले पनि व्यक्तिगत तथा आफूले सञ्चालन गर्ने अर्थ सवाल साप्ताहिकको तर्फबाट कोषमा सहयोग घोषणा गरे ।
प्रभाव पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक कृष्ण कार्कीले कमलराज राईसँगको लामो सहकार्यको स्मरण गरे । उनले कमलराजलाई सम्झिइराख्ने आधार पुरस्कार बन्ने भएकोले कोष स्थापनामा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । सोही क्रममा उनले प्रभाव पब्लिकेसन र आफ्नो व्यक्तिगततर्फबाट समेत सहयोग घोषणा गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमलाले पत्रकार राईको स्मृतिमा प्रदान गरिने पत्रकारिता पुरस्कारलाई विशिष्टीकृत बनाउनुपर्ने सुझाव दिए । मातृभाषा पत्रकारितालाई प्रोत्साहित गर्ने गरी पुरस्कार स्थापना गर्दा उपयुक्त र प्रभावकारी हुने उनको भनाइ थियो । कोष स्थापना गर्ने योजना प्रशंसानीय भएको बताउँदै उनले आफ्नो तर्फबाट सहयोग घोषणा गरे ।
वरिष्ठ पत्रकार वैकुण्ठ भण्डारीले स्व. पत्रकार राईले पिछडिएका समुदायको आवाजलाई प्राथमिकता दिने गरेको स्मरण गर्दै पत्रकारिता पुरस्कार पनि आदिवासी जनजाति, राई समुदाय तथा पिछडिएका समुदाय लक्षित गर्दा प्रभावकारी हुने सुझाव दिए । उनले पनि कोषका लागि सहयोग घोषणा गर्दै दीर्घकालीन रुपमा कोष सञ्चालन हुने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।कार्यक्रममा अन्य सहभागीहरुले समेत स्व. पत्रकार राईको स्मृतिमा स्थापना हुने कोषका लागि सहयोग घोषणा गरेका थिए ।