काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङको परिवारबाट तीन अर्ब रुपैयाँ असुल गनुपर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सहकारी ठगीमा तामाङ परिवारलाई दोषी ठहर गर्दै आइतबार उक्त फैसला सुनाएको हो ।
अदालतले सजाय निर्धारण गर्दा तामाङलाई तीन वर्ष कैद र बिगोबमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । सिभिल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गरेको थियो । सोही दिन सजाय निर्धारणका लागि आइतबारका लागि पेशी तोकेको थियो ।
विशेषले इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङलाई एक वर्ष छ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । सोही मुद्दाका केशवलाल श्रेष्ठलाई एक वर्ष छ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो तिर्नुपर्ने फैसला गरेको छ । केशवलाल नाताले इच्छाराजका मामाससुरा हुन् ।
अदालतले इच्छाराज, सिर्जना, केशवलाल, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसलासमेत गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छ जनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।
जरिवाना तिरे कैद धेरै बस्नुनपर्ने
पूर्वसांसद इच्छाराज ०७८ असोज १७ गते पक्राउ परेका थिए । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङ जेल परेकै मितिबाट सजाय गणना हुन्छ । जसअनुसार उनले यसअघि नै दुई वर्ष पाँच महिना हिरासतमा बिताइसकेका छन् । यसअनुसार अब उनी थप सात महिना जेल बस्नुपर्ने छ । जरिवाना नतिरेको अवस्थामा भने उनी थप समय जेल बस्नुपर्छ ।
सिभिल सहकारीका तत्कालीन सञ्चालक इच्छाराजले तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४ अन्तर्गतको कसुर गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते विशेष अदालतमा दुई अर्ब ७५ करोड ९९ लाख दुई हजार ५८४ रुपैयाँ कसुरजन्य सम्पत्ति प्राप्त गरेको र त्यसबाट ५५ करोड ८६ लाख ९० हजार ३५७ रुपैयाँ बढाएको सम्पत्ति गरी कूल तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।
त्यसैगरी इच्छाराजकी श्रीमती सिर्जना शाक्य र छोरीहरू प्रतीक्षा तामाङ तथा प्रतिष्ठा तामाङ, हालका अध्यक्ष केशवलाल श्रेष्ठ र निजकी श्रीमती मीना श्रेष्ठलाई समेत प्रतिवादी बनाई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । विशेष अदालतले गत माघ ७ गते इच्छाराज, सिर्जना र केशवलाललाई दोषी ठहर गरेको थियो ।
को हुन् इच्छाराज ?
ओखलढुंगामा जन्मिएका इच्छाराज कुनैबेला नेपाली रियल स्टेटका ‘बादशाह’ थिए । सिभिल होम्सबाट नेपाली रियल इस्टेटमा इन्ट्री मारेका उनको रवाफ नै बेग्लै थियो । सिभिल ग्रुपका अध्यक्ष उनलाई नेकपा एमालेले संविधानसभा सदस्य बनाएको थियो ।
रसियाबाट सिभिल इन्जिनियरिङ गरेर फर्केका उनले साथीहरुसँग मिलेर २०५७ सालमा सिभिल सहकारी स्थापनासँगै व्यवसायिक क्षेत्रमा प्रवेश गरेका थिए । केही समयमै उनले नेतृत्व गरेको सिभिल समूहले अर्बौंको कारोबार थाल्यो । सिभिल ग्रुपले उनको नेतृत्वमा ९ वटा कम्पनी खडा गरे । सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल इस्टेट, सिभिल इन्टरनेसनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेस कम्प्लेक्स र सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी लिमिटेड इच्छाराज तामाङकै नेतृत्वमा तयार भयो ।
तर सिभिल सहकारीको निक्षेप सदस्यका हैसियतमा एक व्यक्तिले लिन पाउने कर्जाको अधिकतम सीमालाई लत्याएर मनमौजी आफ्नै चार रियल इस्टेट कम्पनी (सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्ट र सिभिल बिजनेस कम्प्लेक्स) मार्फत घरजग्गामा हाल्न र बैंक ऋणको किस्ता तिर्न प्रयोग गर्न थालेपछि उनको ओरालो यात्रा सुरु भएको थियो ।